प्रधानमन्त्रीको निर्देशनसँगै स्वास्थ्यका यी अधिकारीको गाडी खोसिएला !


काठमाडौं ।   प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन बमोजिम सुविधाबाहेकका कर्मचारी वा पदाधिकारीको सवारीसाधन सुविधा र इन्धन नदिन निर्देशन दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार देउवाले मन्त्री र सचिवहरूको बैठक बोलाएर उक्त निर्देशन दिएका हुन् । प्रधानमन्त्री देउवाको निर्देशनसँगै स्वास्थ्य मन्त्रालयका अधिकांश उपसचिवको गाडी खोसिने देखिन्छ ।

‘इन्धनको मूल्य वृद्धिसँगै यसले मुलुकको विदेशी मुद्रामा असर गरिरहेको छ, कानुनले तोकेकाबाहेकका सरकारी कर्मचारीलाई सवारीसाधनको सुविधा हेरेर तत्काल कटौती गनुहोस्’, देउवाले मन्त्री र सचिवहरुलाई निर्देशन दिँदै भनेका छन् ।

कानुनले नेपाल सरकारका राजपत्राङ्कित विशिष्ट श्रेणी र राजपत्राङ्कित प्रथम श्रेणीका पदाधिकारीलाई मात्र सवारी साधन दिने व्यवस्था गरेको छ ।

सवारी साधन (सञ्चालन तथा मर्मत) सम्बन्धी निर्देशिका, २०७२ अनुसार विशिष्ट र प्रथम श्रेणीका कर्मचारीले मात्र सवारी साधन, चालक र इन्धनको सुविधा पाउँछन् । तर स्वास्थ्य मन्त्रालयका राजपत्राङ्कित विशिष्ट श्रेणी र राजपत्राङ्कित प्रथम श्रेणीबाहेकका कर्मचारीले पनि सरकारी गाडीमा अनधिकृत रजाइँ गरिरहेका छन् । प्रधानमन्त्री देउवाको निर्देशनपछि ती गाडी र गाडीका लागि दिँदै आएको इन्धन सुविधा खोसिने देखिन्छ ।

कानुनले गाडी सुविधा दिन नमिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकाशं उपसचिव वा सो सरहका कर्मचारीले सवारी चालक र इन्धनसहित विलासी गाडीमा मस्ती गरिरहेको पाइन्छ ।

स्वास्थ्य लाइभलाई प्राप्त विवरण अनुसार स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटाले इन्धन, ड्राइभर मालाकाजी केसीसहित फोर्डको कारमा अनधिकृत रजाइँ गरिरहेका छन् । उपसचिवसरहको हैसियत भएका सापकोटाले सवारी साधन (सञ्चालन तथा मर्मत) सम्बन्धी निर्देशिका, २०७२ ले नदिएको गाडी, इन्धन र ड्राइभर सुविधा लिएर शान देखाइरहेका छन् । कानुनविपरीत सुविधा लिएर अनियमितता गर्ने उनमाथि कसैले एक्सन लिएको देखिँदैन । अब भने प्रधानमन्त्री देउवाले एक्सन लिने भएका छन् ।

 उपसचिव सानुबाबु अधिकारीले पनि फोर्डको कार अनधिकृत रुपमा चढेर हिंडिरहेका छन् । उनी कार्यालय समयमा स्वास्थ्य मन्त्रालयको उक्त गाडी अनधिकृत रुपमा लिएर कहाँ जान्छन् स्वास्थ्यका अधिकारीहरू पत्तै पाउँदैनन् । गैर कानुनी सुविधा लिने तर कार्यालय समयमा कार्यकक्षमा नभेटिनेमा उपसचिव अधिकारी पर्छन् ।

स्वास्थ्य मन्त्रालयकै अर्का उपसचिव मोहन निरौला पनि फोर्डकै कार अनधिकृत रुपमा लिएर रजाइँ गरिरहेका छन् । त्यस्तै उपसचिव सरहकै डा. गुणनिधि शर्मा स्वास्थ्य मन्त्रालयका ड्राइभर बाकुकाजी लामासहित सुजुकीको ग्राण्ड भिटरा गाडी लिएर हिँड्ने गरेका छन् ।त्यस्तै उपसचिव(निर्देशक) कपिल तिमिल्सिना फोर्डको कार आफैं लिएर हिँड्छन् । प्रशासनका उपसचिव बाबुराम घिमिरे महिन्द्राको जीप र प्रकाश अधिकारी भक्सबाइगेन जीप आफैं चलाउँछन् ।

उपसचिव रोशनी देवी कार्की चालक दिलबहादुर थापासहित स्वास्थ्य मन्त्रालयको स्वामित्वमा रहेको टोयोटाको प्राडो गाडीमा रजाइँ गर्दै आएकी छिन् । उपसचिव रेशराज शर्मा पनि चालक संजय केसीसहित टोयोटाको प्राडो गाडीमा हिँड्ने गरेका छन् ।

स्वास्थ्य मन्त्रालयका उपसचिव चालक टेक बहादुर बुढाथोकीसहित मन्त्रालयको जीप अनधिकृत उपभोग गरिरहेका छन् । स्वास्थ्य मन्त्रालयको उपसचिव सरहकी कर्मचारी डा. सुस्मीता भण्डारी चर्को मूल्य पर्ने टोयोटाको ल्याण्डक्रुजर गाडीमा अनधिकृत मस्ती मारिरहेकी छिन् । उनले मन्त्रालयकै ड्राइभर मंगले वाइवा लिएर हिँड्ने गरेकी छिन् ।

त्यस्तै उपसचिव समिर अधिकारी पनि फोर्डको कार चढ्ने गरेका छन् । प्रधानमन्त्री देउवाको  निर्देशनसँगै कानुनविपरीत गाडी र इन्धन सुविधा लिने स्वास्थ्यका यी अधिकारीको गाडी खोसिने इन्धन सुविधा कटौती हुने भएको छ ।

स्वास्थ्य मन्त्रालय मात्र होइन  अधिकांश मन्त्रालय र मातहतका निकायमा उपसचिव, अधिकृतले कानुनविपरीत गाडी, चालक र इन्धन सुविधा लिएर अनधिकृत रजाइँ गरिरहेका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : ## प्रधानमन्त्री शेरबहादुर देउवा, #उपसचिव अनधिकृत गाडी सुविधा, #गैर कानुनी गाडी र इन्धन सुविधा, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com