मकै पोल्नेलाई ठाउँको ठाउँ कारबाही गर्ने बालेन अवैध संरचना बनाउने नर्भिकसँग झुके


काठमाडौं । सडक पेटीमा मकै पोल्ने गिरिबको पेटमा प्रहरीको बुट बजार्न लगाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह नर्भिक अस्पतालसामु नतमस्तक  बनेका छन् ।

सडकमा मकै पोल्नेलाई ठाउँको ठाउँ कारबाही गर्ने काठमाडौंका मेयर बालेन २४ घण्टे अल्टिमेटम दिएको  नर्भिकसँग भने झुकेका हुन् । बालेनको यो कदमले ‘सानालाई ऐन, ठूलालाई चैन’ भन्ने लोकउक्तिलाई चरितार्थ गरेको छ ।

मकै पोल्नेलाई बुट बझार्न लगाउने बालेनले नर्भिकसँग अल्टिमेटमविपरीत सहमति गरेर फर्किएपछि कानून सबैका लागि बराबरी हो भन्न भने छुटाएनन् । तर सडकमा मकै पोल्ने र सरकारी जग्गा कौडीको भाउमा भाडामा लिएर सम्झौता र नक्सापास स्वीकृत बेगर अवैध संरचना बनाउने नर्भिक अस्पतालका लागि त्यहीँ कानून फरक देखियो ।

नर्भिकले मानवीय संवेदनाका नाममा सरकारी जग्गामा फैल्याएको अवैध सम्राज्य केही दिनका लागि जोगाउन सफल भएको छ । तर मेयर बालेन शाहको हकमा धेरैले पहिलो गाँसमा ढुंगा लागेको टिप्पणी गरेका छन् ।

काठमाडौंको मुटु थापाथलीमा नर्भिकले १ रोपनी ८ आना १ पैसा १ दाम जग्गा तत्कालीन भूमिसुधार अधिकारीहरूसँग सेटिङ गरेर वार्षिक ३७ हजार बुझाउने गरी कौडीको भाउमा भाडामा लिएको हो । वसन्त चौधरीलगायतको स्वामित्वका रहेको उक्त अस्पतालले भाडामा लिएको सरकारी जग्गामा एमआरआई भवन, अक्सिजन प्लान्ट भवनलगायत स्थापना गर्‍यो । नर्भिकले आफूलाई कानूनभन्दा माथि ठानेर काठमाडौं महानगरपालिकाबाट संरचना बनाउन स्वीकृति लिन पनि आवश्यक ठानेन ।

काठमाडौं महानगरपालिका सोमबार नर्भिकलाई उक्त अवैध संरचना हटाउन २४ घण्टे अल्टिमेटम दिएको थियो । तर शक्तिका आडमा सरकारी सम्पत्ति दोहन गरिरहेका वसन्त चौधरीहरूका अगाडि मेयर बालेनको पनि केही लागेन । उनी पनि शक्तिशालीसामु झुक्न बाध्य भए । उनले पनि अब बुझे होलान् सडकमा मकै बेच्ने गरिबलाई बुट बजार्न लगाए जस्तो धनीहरुको अवैध धन्दा रोक्न सजिलो छैन भनेर ।

नर्भिक अस्पताल आफैंमा महँगो अस्पताल हो । उक्त अस्पतालले २० वर्षदेखि सरकारी जग्गामा रजाइँ गरिहको छ । राज्यसँग सेटिङ गरेर कागजको खोस्टो देखाएर नर्भिकका सञ्चालकहरू आफूहरूसँग सम्झौता रहेको भन्दै बचाउमा उत्रिने गर्छन् । वार्षिक ३७/३८ हजारमा थापाथली जस्तो ‘प्राइम लोकेसन’मा डेढ रोपनी जग्गा भाडामा लिएर नर्भिकले सम्झौता छ भन्दा लाज पनि पक्कै लजाउँछ होला !

सरकारी जग्गा कौडीको भाउमा लिएर बिरामीसँग महँगो उपचार शुल्क असुल्ने नर्भिकको बदमासीको विषय आम जनतासमक्ष पुगेको छ । पहुँच र प्रभावका आधारमा ठूलाबडाले जे पनि गर्न सक्छन् भन्ने पछिल्लो उदाहरण नर्भिक बनेको छ । अब नर्भिकको अवैध संरचना भत्काउने मात्र होइन सम्झौताविपरीत पक्की भवन बनाउने नर्भिकको २० वर्षे लिज सम्झौता खारेज गरेर सरकारकै भोगाधिकारमा ल्याउन जरुरी छ ।

सामाजिक अभियान्ता भीम उपाध्यायले नर्भिक फुटपाथे मकै पसल हो र भन्दा बितिक्कै नगर प्रहरीले लछारपटार पार्दै हटाउन सकिने भन्दै मेयर बालेनलाई ब्यांग्य गरेका छन् । ‘कानुन भनेको मान्छे हेरिहेरि लागू हुने न हो, यो दुनियाँ शक्तिको खेल हो, जिसका लाठी उसका भैँस!’, उपाध्यायले सामाजिक सञ्चालमा लेखेका छन् । नर्भिकको हकमा मेयर बालेनको भूमिका सामाजिक अभियान्ता उपाध्यायले भनेजस्तै हुन गएको छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #अवैध संरचना, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #नर्भिक अस्पताल, #वसन्त चौधरी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com