मधेश प्रदेशका पूर्व प्रमुख डा. राजेश अहिराजले धोबीखोला हडपेर घर बनाएको खुलासा


कठमाडौं । मधेश प्रदेशका पूर्व प्रमुख डा. राजेश झा (अहिराज)ले धोबीखोला हडपेर घर बनाएको खुल्न आएको छ । स्वास्थ्य लाइभको खोजीमा उनले काठमाडौं महानगरपालिका वडा नम्बर १० बानेश्वर रुद्रमती मार्ग धोबीखोला करिडोरमा सार्वजनिक जग्गा हडपेर घर बनाएको फेला परेको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बरको सिट नम्बर १०२११४६०२ को कित्ता नम्बर ४३१ र ४३३ को दुई आना जग्गामा डा. राजेशले २ तले घर बनाएर भाडा खाइरहेको पाइएको छ । भाडामा लिनेहरूसँग स्वास्थ्य लाइभले कुरा गर्दा उनले मासिक ५० हजार बढी भाडा उक्त सार्वजनिक जग्गामा बनेको घर/ कोठा र सटरबाट लिने गरेका छन् ।

डा. अहिराजले सार्वजनिक जग्गा (साबिकको धोबीखोला) हडपेर बनाएको दुईतले घरको भुईंततलामा पशुपति मोटरसाइकल वर्कशपलाई भाडामा लगाएका छन् । माथिल्लो तल क्लासी इन्जिनियरिङ सर्भिस प्रालीलगायतलाई भाडामा लगाएको देखिन्छ ।

स्वास्थ्य लाइभसँगको कुराकानीमा डा. राजेश अहिराजले सार्वजनिक जग्गामा संरचना बनाएर भाडा खाएको स्वीकार गरे । आफूले मात्र नभई त्यो ठाउँमा इन्द्र चाम्लिङ, युनिक खाजा घर, आदित्य फर्निचरलगायत लाइनै सार्वजनिक जग्गा हडपेर संरचना बनाएको उनको दाबी छ । त्यो ठाउँ त्यतिकै छाड्ने हो भने चाम्लिङलगायत अरू व्यक्तिले संरचना बनाएर भाडा खाने भएकाले आफूले बनाएको भन्दै डा. राजेश अहिराजले राज्यलाई आवश्यक परे तत्काल छाड्न आफू तयार रहेको बताए । खोज्दै जाने हो भने पूर्व प्रधानमन्त्री सुशील कोइरालाका डाक्टर कविरनाथ योगीको घर पनि सार्वजनिक जग्गामा पर्न सक्ने उनको भनाइ छ ।

धोवीखोला करिडोरको  सिट नम्ब १०२११४६०२ को कित्ता नम्बर ४३१ र ४३३ को सार्वजनिक जग्गा हडपेर बनाएको घर/टहरा मात्र होइन डा. राजेश अहिराजले  साढे ५ तले भवन बनाएको कित्ता नम्बर ७३८,७३९ लगायतमा पनि साबिकको धोबीखोला देखाउँछ ।

डा. राजेश अहिराजको घरसँगै रहेको कित्ता नम्बर ४३४ को जग्गा २०६७ सालमा इन्द्रकुमार चाम्लिङको नामबाट क्षेमाकुमारी राईको नाममा गएको देखिन्छ । त्यस्तै ४४८ नम्बर कित्ता इन्दिरा सापकोटा (ढकाल)को नाममा रहेको छ । ती जग्गा पनि साबिक धोबीखोला हुँदै व्यक्तिको नाममा पुगेको छ ।

डा. राजेश अहिराजको साढे ५ तले घर रहेको  कित्ता नम्बर ७३८,७३९ लगायत भने व्यक्तिको नाममा नभई साबिकको धोबीखोला नै जनिएको छ ।

हेर्नुहोस् अहिराजले घर बनाएको जग्गाको फिल्डबुक

डा. राजेश अहिराज भने पछाडिको घर भएको जग्गा श्रीमतीको नाममा रहेको र मालपोत समेत तिरिरहेको दाबी गर्छन् । सुरुमा आफ्नो बुबाले घर बनाएकाले सबै कुरा थाहा नहुने तर्क गरेका उनले अन्तिममा भने श्रीमतीको नाममा घर जग्गा रहेको दाबी गरेका हुन् । तर राज्यलाई आवश्यक परे तत्काल छाड्न भने आफू तयार रहेको उनको भनाइ छ ।

डा. राजेश अहिराजले भने जस्तै त्यो ठाउँमा मेडिकल व्यवसायी एवं एमाले नेता दुर्गा प्रसाईका भाइ युवराज प्रसाई,  एमाले सिन्धुलीका नेता हेमराज घिसिङ र इन्द्रकुमार चाम्लिङले सार्वजनिक जग्गा हडपेर घर बनाएका छन् । चाम्लिङले त ४ रोपनी जति सार्वजनिक जग्गा हडपेर १० वटा घर/टहरा बनाएर भाडा खाइरहेका छन् । एउटा ८ तले चाम्लिङ टावर नै एक तिहाई भाग सार्वजनिक जग्गामा रहेको पाइन्छ ।

इन्द्र कुमार चाम्लिङसँगै धोबीखोला करिडोरको सार्वजनिक जग्गा हडप्नेको सूचीमा डा. राजेश अहिराजको नाम थपिएको छ । उनका भाइ नापीका कर्मचारी रहेकाले धोबीखोला करिडोरमा घर बनाउने काम भएको सरकारी कर्मचारीहरु नै बताउँछन् ।

रौतहटका डा. राजेश झा (अहिराज) तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट २०७७ साल फागुन ७ गते २ नम्बर (मधेश) प्रदेशको प्रदेश प्रमुखमा नियुक्त भएका थिए । ६ महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा २०७८ साल भदौं १ गते प्रदेश प्रमुखबाट उनी पदमुक्त भएका हुन् ।

डा. राजेश अहिराज मधेशवाणी पत्रिकाका सम्पादक र मधेश मिडिया हाउसका सञ्चालक समेत रहिसकेका व्यक्ति हुन् । तिनै व्यक्ति सार्वजनिक जग्गा हडपेर भाडामा लगाइ ठगी गर्ने कार्यमा संलग्न रहेको स्वास्थ्य लाइभले फेला पारेको छ ।

नर्भिक अस्पतालका मालिक वसन्त कुमार चौधरीलाई पनि पछि पार्दै डा. राजेश अहिराजले सार्वजनिक जग्गामा रजाइँ गरिरहेको पाइन्छ ।

डा. राजेश अहिराजसँग स्वास्थ्य लाइभको सवाल-जवाफ

तपाईंले धोबीखोला करिडोरमामा बनाएको घर/टहरो अख्तियारको निर्देशन अनुसार सरकारको नाममा आएको  ४३१ नम्बर कित्ता जग्गामा पर्ने रहेछ हैन ? 

हो ! अगाडीको एक लाइनै मेरो मात्र हैन सबैको सरकारी जग्गामा हो । तर, पछाडिको सरकारी जग्गामा हैन । अगाडिको मैले खाली छाड्दा अरु आएर बस्ने भएकाले प्रयोग गरेको हो । टहरा अस्थाई रुपमा बनाएको हुँ । सरकारले जहिले चाहन्छ छाड्छु ।

७३८ र ७३९ मा बनेको साढे ५ तले घर छ नी ! त्यो घरको नक्सा पास गर्नु भएको छ ? 

पास गरेको छ । नक्सा पास मालपोत तिरेको सबै छ ।

तर, कित्ता नम्बर ७३८-७३९ मा त नक्सा पास देखिएन त ?

त्यो कित्ता नम्बर मलाई ठ्याक्कै याद भएन । पछाडिको त मेरो बकाइदा लालपुर्जा वाला हो सर । जहाँ साढे तीन आना रहेको छ ।

साढे तीन आना देखियो तर, मालपोत-नापीको रेकर्डमा धोबीखोला देखाउँछ त ?

त्यो, हैन सर । मेरोबाट केही समस्या छैन राज्यलाई चाहिए छाड्न तयार छु ।

कसको नाममा छ ?

त्यो पछाडिको मेरो आफ्नै हो नी !

त्यो लालपुर्जा पाउन सकिन्छ ? 

ए हैन । हैन । श्रीमतीको नाममा छ । अहिले सिराहामा छु काठमाडौं फर्केपछि भेटेर कुरा गरौंला । राज्यलाई पहिलापनि छोडेको हो । मेरोबाट केही समस्या छैन । त्यो जग्गा राज्यलाई चाहिए छाड्न तयार छु ।

 

 

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : ## इन्द्र चाम्लिङ, #डा. राजेश अहिराज झा, #धोबीखोला करिडोर सार्वजनिक जग्गा हडप्ने, #मधेश प्रदेश, #शेरबहादुर देउवा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com