स्वास्थ्य लाइभ प्रभाव

धोबीखोला हडप्ने पूर्व प्रदेश प्रमुख डा. राजेश अहिराजलाई महानगरले डाक्यो


काठमाडौं । धोबीखोला हडप्ने मधेश प्रदेशका पूर्व प्रमुख डा. राजेश झा (अहिराज)लाई काठमाडौं महानगरपालिकाले डाकेको छ ।

स्वास्थ्य लाइभले मधेश प्रदेशका पूर्व प्रमुख डा. राजेश अहिराजले धोबीखोला हडपेर घर बनाएको खुलासा गरेपछि महानगरले उनलाई डाकेको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसीले १५ दिनभित्र सप्रमाण उपस्थित हुन मधेश प्रदेशका पूर्व प्रमुख राजेश झालाई पत्र काटेका छन् ।

डा. राजेश अहिराजले काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरस्थित धोबीखोला करिडोरको सिट नम्बर  १०२-११४६-०२ को कित्ता नम्बर ४३१ को सरकारी जग्गा हडपेर २ तले घर बनाइ भाडा खाइरहेका छन् । त्यस्तै साढे ५ तले घर बनेको कित्ता नम्बर ७३८ समेतको जग्गा नापीको फिल्डबुकमा साबिक धोबीखोला उल्लेख छ । त्यो विषय स्वास्थ्य लाइभले सार्वजनिक गरेपछि सरकारी/सार्वजनिक जग्गा संरक्षण गर्ने दायित्व बोकेको काठमाडौं महानगरपालिकाले चासो देखाएको हो ।

‘काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरस्थित सिट नम्बर  १०२-११४६-०२ को कित्ता नम्बर ४३१,४३२, ७३८ र ७३९ को सरकारी/सार्वजनिक जग्गा अतिक्रमण गरी घर/ टहरा र कम्पाउण्ड समेत निर्माण गरेको भन्ने उजुरी परी यथार्थ विवरण पेश गर्न पत्रचार भएकोले उल्लेखित कित्ता नम्बरका जग्गाहरु सरकारी/सार्वजनिक हो, होइन ? साथै तपाईंले अतिक्रमण गरी घर/टहरा/ कम्पाउण्ड निर्माण गर्नु भएको छ, छैन ? सो सम्बन्धमा बुझ्नु पर्ने भएकोले तपाईंसँग जग्गासम्बन्धी भएका प्रमाणसहित १५ दिनभित्र वडा कार्यालयमा उपस्थित हुन अनुरोध गर्दछु । त्यस उप्रान्त कानुन अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत जानकारी गर्दछु’, काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष केसीले झालाई काटेको पत्रमा उल्लेख छ ।

स्वास्थ्य लाइभसँगको कुराकानीमा डा. राजेश अहिराजले कित्ता नम्बर ४३१ को सरकारी जग्गा हडपेर २ तले घर बनाइ भाडा खाइरहेको स्वीकार गरेका छन् । इन्द्र कुमार चाम्लिङ लगायतले घर/टहरा बनाउने खतरा रहेकाले आफूले बनाएर सार्वजनिक जग्गा संरक्षण गरेको उनको भनाइ छ । यद्यपि उनले राज्यलाई आवश्यकता परे उक्त सार्वजनिक जग्गा छाड्न तयार रहेको बताएका छन् । ७३८ र ७३९ को जग्गाको भने श्रीमतीको नाममा लालपुर्जा रहेको राजेश अहिराजको दाबी छ ।

काठमाडौं महानगरपालिकाले वडा नम्बर १० मार्फत प्रमाण बुझ्न लगाएर डा. राजेश अहिराजले सरकारी जग्गामा गरेको अतिक्रमण हटाउने प्रक्रिया अगाडि बढाएको हो ।

काठमाडौं महानगरपालिका अन्तर्गत रहेका र उजुरी परेका सरकारी/ सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, वडाध्यक्ष रामकुमार केसी र त्यसै क्षेत्रबाट निर्वाचित बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ संयुक्त रुपमा लागिपरेका छन् । पहिलो चरणमा डा. राजेश झा, इन्द्र कुमार चाम्लिङ, हेमराज घिसिङ, अष्टमान महर्जन, युवराज प्रसाईलगायतले कब्जा गरेको एउटै सिट नम्बरका सार्वजनिक/ सरकारी जग्गाहरूमा भएको अतिक्रमण हटाउन उनीहरू जुटेका हुन् ।

भूमाफिया इन्द्र कुमार चाम्लिङदेखि युवराज प्रसाई समेतले सरकारी/ सार्वजनिक जग्गा हडपेर बनाएका घर/टहरा/ कम्पाउण्डमा डोजर चलाएर धोबीखोला करिडोरलाई फराकिलो र व्यवस्थित बनाउन महानगरपालिका पनि पछिल्लो समय सक्रिय भएको छ । त्यसैको परिणामस्वरूप धोबीखोला हडपेर संरचना बनाउने राजेश झालाई महानगरले सप्रमाण उपस्थित हुन पत्र काटेको हो ।

 

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : ## हेमराज घिसिङ, #काठमाडौं महानगरपालिका, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #डा. राजेश झा अहिराज, #धोबीखोला करिडोर सार्वजनिक जग्गा हडप्ने, #पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ, #भूमाफिया इन्द्र कुमार चाम्लिङ, #युवराज प्रसाई, #राम कुमार केसी, #वडाध्यक्ष, #सरकारी जग्गा हडप्ने

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com