धोबीखोलाको सरकारी जग्गा हडप्नेमा डा. राजेश अहिराजदेखि भूमाफिया इन्द्र चाम्लिङसम्म


काठमाडौं । काठमाडौं महानगरपालिका वडा १० बानेश्वर देवीनगरस्थित धोबीखोला करिडोरमा रहेको सरकारी/सार्वजनिक जग्गा हडप्नेमा मधेश प्रदेशमा पूर्व प्रमुख डा. राजेश झा (अहिराज)देखि भूमाफिया इन्द्र कुमार चाम्लिङसम्म रहेको पाइएको छ ।

स्वास्थ्य लाइभलाई प्राप्त विवरण अनुसार साबिक धोबीखोला रहेको जग्गामा पूर्व प्रदेश प्रमुख डा. झा र भूमाफिया चाम्लिङले संरचना बनाएको देखिन्छ । डा. झा काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरस्थित धोबीखोला करिडोरको सिट नम्बर १०२-११४६-०२ को कित्ता नम्बर ४३१ को दुई आना सरकारी जग्गा हडपेर २ तले घर बनाइ भाडा खाइरहेको खुल्न आएको छ । ४३१ नम्बर कित्तासँगै रहेको ४३८ र ४३९ नम्बर कित्तामा उनको अर्को साढे ५ तले घर छ । नापी कार्यालय रहेको फिल्डबुकमा उक्त कित्ता जग्गामा पनि साबिक धोबीखोला देखिन्छ ।

डा. राजेश झा अहिराज

डा. झा भने ४३१ कित्ता सरकारी भएपनि ५ तल घर बनेको ठाउँमा रहेको जग्गा भने श्रीमतीको नाममा रहेको दाबी गर्छन् । तर लालपुर्जा माग्दा उनले दिन अस्वीकार गरेका छन् । राज्यलाई आवश्यक पर्दा आफूले अतिक्रमण गरेर बनाएको संरचना छोड्न तयार रहेको डा. झा बताउँछन् । उनले सरकारी जग्गा हडपेर बनाएको संरचनाबाट मासिक ५० हजार बढी भाडा खान्छन् । झाले हडपेको सरकारी जग्गासँगै रहेको कित्ता नम्बर ४३३ भने क्षेमारानी राईले हडपेर एक तले टहरा बनाएकी छिन् । उनको हडपेको जग्गाको विषयमा पत्रचार भइसकेको काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष राम कुमार केसीले जानकारी दिए ।

इन्द्रकुमार चाम्लिङ

त्यस्तै धोबीखोला हडप्नेमा त्यो क्षेत्रका भूमाफिया इन्द्र कुमार चाम्लिङ अग्रस्थानमा छन् । उनले झन्डै ३ रोपनी सरकारी जग्गा हडपेको खुल्न आएको छ । भूमाफिया चाम्लिङले काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर १० अन्तर्गत देवीनगरस्थित सिट नम्बर १०२-११४६-०२ को कित्ता नम्बर ५४९, ५४७, ७७१, ७७२, ५५२ र ५५३ नम्बर कित्ता जग्गा हडपेर संरचना २ वटा घर बनाइ मासिक एक लाख बढी भाडा खाइरहेका छन् । त्यस्तै उनले सिट नम्बर १०२-११०६-२२ को कित्ता नम्बर १९१ हडपेर पार्किङ र केही भागमा सटर हालेका छन् । सरकारी उल्लेख रहेको कित्ता नम्बर ४०९ मा ४ तले घर, कित्ता नम्बर ६५ मा २ तले घर, कित्ता नम्बर ६६ र १०७ हडपेर ४ तले घर बनाइ भूमाफिया चाम्लिङले भाडा खाइरहेका छन् । कित्ता नम्बर ६६ र १०७ मा एमाले नेता हेमराज घिसिङले समेत चाम्लिङसँगै मिलेर ४ तले घर बनाइ भाडा खाइरहेका छन् ।

हेमराज घिसिङ

भूमाफिया चाम्लिङ भने आफूले सम्पत्ति जोडेको आह्रिस गर्नेहरू आफूविरुद्ध लागेको अभिव्यक्ति दिन्छन् । साथीभाइ र इष्टमित्र नै आफ्नो शत्रु रहेको बताउने गरेका छन् । वडा कार्यालय पुगेर पनि भूमाफिया चाम्लिङले आफ्नो मात्र नभइ जग्गा हडप्ने सबैको संरचना भत्काउनु पर्ने अडान लिएका छन् ।
चाम्लिङले हडपेकोसँगै कित्ता नम्बर १ को धोबीखोला करिडोरको बाटो अर्चना पोखरेलले हडपेको वडा कार्यालयले जनाएको छ । ४३० नम्बर कित्तामा अर्चनाको नाममा ३ आना ३ पैसा जग्गा रहेपनि उनले उक्त जग्गा खाली राखेर सरकारी कित्तामा संरचना बनाइ मोटरसाइकल वर्कशप लगायतलाई भाडामा लगाएकी हुन् ।

युवराज प्रसाई

सिट नम्बर १०२-११०६-२२ को सरकारी उल्लेख कित्ता नम्बर २१४ र ४४६ युवराज प्रसाई र अष्टमान महर्जनले हडपेर सटर हाली भाडा खाइरहेका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईका भाइ समेत रहेका युवराजले सार्वजनिक जग्गा हडपेर ३ वटा सटर र कम्पाउण्ड हालेका छन् । त्यसबाट उनले मासिक ५० हजार भाडा उठाउँदै आएका छन् । प्रसाई र महर्जन अरुले छाडे आफूहरुले पनि सरकारी/ सार्वजनिक जग्गा छाड्ने तर्क गर्छन् । तर आफूहरूको मात्र संरचना हटाउन नदिने प्रसाईको जिकिर छ । प्रसाईलाई भूमाफिया चाम्लिङ र महर्जनले साथ दिइरहेका छन् । उक्त ठाउँमा झन्डै ५ रोपनी धोबीखोलाको जग्गा अतिक्रमण भएको सरकारी आँकडा छ । चाम्लिङले सरकारी जग्गा हडपेर बनाएको संरचना त अख्तियार दुरूपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालयले पटक पटक हटाउन निर्देशन दिँदा पनि अहिलेसम्म हटेको छैन ।

अहिले भने त्यसै क्षेत्रबाट निर्वाचित बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, वडाध्यक्ष राम कुमार केसी भूमाफिया चाम्लिङलगायतले हडपेको संरचना हटाउन लागिपरेका छन् । पर्यटनमन्त्री श्रेष्ठले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा भूमाफिया चाम्लिङलगायतले हडपेको संरचना छिट्टै हट्ने विश्वास दिलाएका छन् । यो विषयमा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइसकेको बताउँदै उनले अब भूमाफिया चाम्लिङलगायतले अतिक्रमण गरेको जग्गा चाँडै फिर्ता आउने दाबी गर्छन्।

क्याटेगोरी : समाचार
ट्याग : #एमाले नेता हेमराज घिसिङ, #डा. राजेश झा अहिराज, #दुर्गा प्रसाई, #धोबीखोला सार्वजनिक जग्गा हडप्ने, #भूमाफिया इन्द्र कुमार चाम्लिङ, #युवराज प्रसाई

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com