अवैध संरचना बनाएर भाडा असुल्ने डा. झा र चाम्लिङमाथि बालेनले कारबाही गर्लान् ?


काठमाडौं । अवैध संरचना बनाएर भाडा असुल्नेमाथि कारबाही गर्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले घोषणा गरेका छन् । सुन्धारा न्यूरोडको अवैध संरचना भत्काउन डोजर लिएर पुगेका मेयर बालेनले गैरकानुनी संरचना भाडामा लगाउने घरधनीमाथि कारबाही गर्ने बताएका हुन् ।

भाडामा बस्नेभन्दा अवैध संरचना बनाएर भाडा असुल्ने घरधनीमाथि कारबाही हुने उनको भनाइ छ । मेयर बालेनले अवैध संरचनामा राखिएका पसल भत्किएकामा त्यसको क्षतिपूर्ति घरधनीले दिनुपर्ने उल्लेख गर्दै भने, ‘गैरकानुनी संरचना बनाएर भाडा उठाउनेले नै व्यापारीलाई क्षतिपूर्ति दिनुपर्छ ।’,

महानगर क्षेत्रमा नक्सा पास बिना र नक्सा पासमा उल्लेख भएभन्दा फरक ढंगले बनाइएका संरचना डोजर लगाएर भत्काउन थालेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर देवीनगरस्थित धोबीखोला करिडोरमा पनि मेडिकल व्यवसायी दुर्गा प्रसाईंका भाइ युवराज प्रसाईं, भूमाफिया इन्द्र कुमार चाम्लिङ, मधेश प्रदेशका पूर्व प्रमुख डा. राजेश झा(अहिराज), एमाले नेता हेमराज घिसिङ, अष्टमान महर्जनले सरकारी जग्गामा अवैध संरचना बनाएर भाडा खाइरहेका छन् ।

प्रसाईले सरकारी जग्गामा अवैध रूपमा ३ वटा सटर भाडामा लगाएर मासिक  ५० हजार बढी भाडा खाइरहेका छन् । महर्जनले ५ वटा सटर बनाएर झन्डै १ लाख भाडा खाइरहेका छन् । भूमाफिया इन्द्र चाम्लिङले सरकारी जग्गामा अवैध रुपमा १० वटा घर/टहरा मासिक ४ लाख बढी र घिसिङ र अहिराजले सरकारी जग्गामा  १/१ वटा घर बनाएर मासिक ५० हजार बढी भाडा खाइरहेका छन् ।

स्वास्थ्य लाइभले दुर्गा प्रसाईका भाइ युवराज, डा. अहिराज, भूमाफिया चाम्लिङलगायतले सरकारी जग्गामा अवैध संरचना बनाएर भाडा खाइरहेको तथ्य सार्वजनिक गरिसकेको छ । उक्त ठाउँमा भाडा लिनेले पनि लाखौं लगानी गरेका छन् ।  त्यसको क्षतिपूर्ति घरधनी अर्थात् युवराज, डा. अहिराज, भूमाफिया चाम्लिङलगायतबाट तिराएर कारबाही गर्ने मेयर बालेनले संकेत गरेका छन् ।

कानुन सबैका लागि बराबर भन्दै मेयर बालेनले काठमाडौं जिल्ला अदालतले बनाएका अवैध संरचना समेत हटाउने घोषणा गरेका हुन् ।

क्याटेगोरी : समाचार
ट्याग : ## हेमराज घिसिङ, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #डा. राजेश झा अहिराज, #भूमाफिया इन्द्र कुमार चाम्लिङ, #युवराज प्रसाई

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com