स्वास्थ्य मन्त्रालयको अवैध संरचनामा ‘बालेनको डोजर’ लाग्ला ?


काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) नक्सापास विपरीत बनेका, प्रयोग भएका र अवैध संरचनामा धमाधम डोजर चलाउन अग्रसर छन् । नर्भिक अस्पताल, काठमाडौं मल, अल्फाबिटा, बानेश्वर क्षेत्र, न्यूरोडलगायत ठाउँ उनको डोजरको निशानामा परेको छ ।

नक्सापास नगरी अवैध रूपमा बने काठमाडौं जिल्ला अदालत समेत भत्काउछु भनेका मेयर बालेनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अवैध संरचनामा डोजर चलाउलान् भन्ने सबैको चासो छ ।

स्वास्थ्य मन्त्रालयले अवैध रुपमा खडा गरेको सबैभन्दा माथिल्लो तला सर्वोच्च अदालतले भत्काउन आदेश दिएपनि अहिलेसम्म भत्किन सकेको छैन । बरु उल्टै उक्त अवैध संरचनामा एनएचएसएसपी जस्ता आईएनजीओ अवैध रुपमा बसिरहेका छन् । स्वास्थ्य मन्त्रालयको अवैध रुपमा बनेको माथिल्लो तलाको १४ कोठामा मन्त्रालयको कामकाज र एनएचएसएसपीको बसोबास रहेको तथ्य स्वास्थ्य लाइभले खुलासा गरिसकेको छ । स्वास्थ्य मन्त्रालयको उक्त अवैध रुपमा खडा भएको ठाउँ स्वास्थ्य क्षेत्रका आइएनजिओ माफिया भनेर परिचित सुशील बराल, कृष्णप्रसाद शर्मा, सुरेश तिवारीलगायत संलग्न रहेको संस्था एनएचएसएसपीको कब्जामा रहेको छ ।

रामशाहपथस्थित सर्वोच्च अदालतको नजिकै रहेको स्वास्थ्य मन्त्रालय अदालतको आदेशविपरीत अहिलेसम्म पनि माथिल्लो तल अवैध संरचानामा बसिरहनुले कानुनी राज्यको उपहास भएको छ ।

काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापित स्वास्थ्य मन्त्रालयको उक्त अवैध संरचना भत्काउनु पर्ने बताउँछन् । सोसाइटी अफ नेप्लिज आर्किटेक्टस (सोना) भन्ने संस्थाले अदालतमा मुद्दा हालेकाले स्वास्थ्य मन्त्रालयको अवैध संरचना भत्काउने योजना अधुरै रहेको उनको भनाइ छ ।  अवैध संरचना भत्काउने मामिलामा मेयर बालेन स्थापितभन्दा ३ कदम अगाडि देखिएका छन् । मेयर बालेनले अवैध संरचना हटाउन ३५ दिने सार्वजनिक सूचना निकालिएको बताउँदै त्या सूचना सबैका हकमा लागू हुने बताए ।

मेयर बालेनले कानुन सबैका लागि बराबर भएको भन्दै निजी मात्र होइन सरकारी निकायले बनाएको अवैध संरचना पनि भत्काइने स्पष्ट पारेका छन् ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले स्वास्थ्य मन्त्रालयको संरचना अवैध रहेको पाइए महानगरपालिकाले भत्काउने स्पष्ट पारे । अवैध संरचना हटाउन महानगरले सार्वजनिक सूचना निकालिसकेको बताउँदै उक्त सूचना स्वास्थ्य मन्त्रालयको हकमा समेत लागू हुने उनले स्पष्ट पारे । ‘तपाईंहरुले स्वास्थ्य मन्त्रालयको अवैध संरचनाको विषयमा कुरा उठाउनु भएको छ । महानगरपालिका अहिले यो अभियानमा लागेको छ । स्वास्थ्य मन्त्रालयलको अवैध संरचनाको विषयमा मेयरलाई सूचित गराउँछु । महानगरले स्वास्थ्य मन्त्रालयको भवनको विषयमा चाँडै खोजबिन गर्छ’,  प्रवक्ता मानन्धरले स्वास्थ्य लाइभसँग भने । प्रवक्ता मानन्धरको भनाइलाई आधार मान्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अवैध संरचनामा चाँडै ‘बालेनको डोजर’ लाग्ने छाँट देखिन्छ ।

पिलर बिना नै बनेको स्वास्थ्य मन्त्रालयको माथिल्लो तला अवैध रुपमा बनाएकाले अब काठमाडौं महानगरपालिकाले डोजर लगाउने अभियान स्वास्थ्य मन्त्रालयबाटै सुरू गर्नुपर्छ ।

हरियो घेरमा रहेको स्वास्थ्य मन्त्रालयको अवैध संरचना

 

 

क्याटेगोरी : समाचार
ट्याग : #अवैध संरचना, #एनएचएसएसपी, #काठमाडौं महानगरपालिका, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, #केशव स्थापित, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com