विशेषज्ञ अस्पतालको न्यूनतम सेवा मापदण्ड मस्यौदा तयार हुँदै


काठमाडौं । सरकारले विशेषज्ञ अस्पतालहरुको न्यूनतम सेवासम्बन्धी मापदण्ड मस्यौदा तयार गर्दैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेषज्ञ अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मस्यौदामा छलफल थालेको छ । तर, स्वास्थ्य मन्त्रालयकी प्रमुख विशेषज्ञ डा. संगिता कौशल मिश्राले विशेषज्ञ अस्पताल भन्ने शब्दमा चित्त बुझाइनन् । यसलाई नाम परिवर्तन गर्न आग्रह गरिन् ।

बुधबार राजधानीको एक होटलमा विभिन्न अस्पताल र विज्ञहरुलाई भेला गरेर उक्त मस्यौदामा दफावार छलफल भएको हो। स्वास्थ्य मन्त्रालय गुणस्तर नियमन महाशाखाका प्रमुख डा. मदन कुमार उपाध्यायले यसको नेतृत्व गरेका छन् । । डा. उपाध्यायले अस्पतालजन्य फोहोर व्यवस्थापन जरुरी भएको बताए । ‘फोहोर व्यवस्थापन एकदमै जरुरी छ’ उपाध्यायले भने, ‘हामीलाई कोभिडले पनि पाठ सिकाएको छ ।’,

न्यूनतम सेवा मापदण्ड ११८ वटा अस्पतालहरुमा मात्रै लागू भएको छ । देशभर ४ हजार भन्दा बढी स्वास्थ्य संस्थाहरु रहेको छन् । निजीमा न्यूनतम सेवा मापदण्ड लागु भएको छैन । देशभरका अस्पतालहरुको गुणस्तर एउटै हुनुपर्ने भन्दै अधिकारीहरुले निजी र सरकारी सबै अस्पतालमा न्यूनतम सेवा मापदण्ड लागू गराउनुपर्ने बताएका छन् ।

बिगतमा अस्पतालहरुले न्यूनतम सेवा मापदण्डमा ७४ नम्बरभन्दा बढी ल्याउन सकेका थिएनन् । तर, पछिल्लो समय बिस्तारै सेवाको गुणस्तर बृद्धि हुँदै गएको छ । न्यूनतम सेवा मापदण्डमा १ सय नम्बर कुनैले पनि पाएका छैनन् । तर, ७४ प्रतिशतबाट बढेर हाल ९० प्रतिशतभन्दा माथि पाएका छन् । यसलाई पनि एउटा उपलब्धि ठान्नु पर्ने डा. उपाध्यायको धारणा छ। सेवाको गुणस्तरमा सत प्रतिशत नम्बर हुनुपर्ने उनी बताउँछन् ।

स्वास्थ्य मन्त्रालयकी प्रमुख विशेषज्ञ (१२ औं तह) डा . संगिता कौशल मिश्राले हाल मन्त्रालयले न्यूनतम सेवा मापदण्डको कार्यक्रम ११८ वटा अस्पतालमा मात्रै संचालन गर्न सफल भएको र यो सेवा देशका सबै अस्पतालमा संचालन गर्नुपर्ने बताईन् । ‘गुणस्तरीय स्वास्थ्य सेवा सबै अस्पतालमा एउटै हुनुपर्छ’, डा. मिश्राले थपिन, ‘निजी र सरकारीमा फरक-फरक हुँदैन ।’,

देशभर दुई दर्जनको हाराहारीमा मेडिकल कलेज रहेका छन् । ती मेडिकल कलेजमा ७ सय देखि १ हजारसम्म वेड संचालनमा छन् । न्यूनतम सेवा मापदण्डमा मेडिकल कलेजहरुलाई पनि समावेश गराएर जान डा. मिश्राले सुझाव दिइन् । तर, उनले विशेषज्ञ अस्पताल भन्ने शब्दमा चित्त बुझाइनन् । यसलाई नाम परिवर्तन गर्न पनि डा. मिश्रको आग्रह छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com