देशभर ६८ लाख ९० हजार ६७९ चक्की सिटामोल मौज्दात (कहाँ कति)


काठमाडौं । डेंगु महामारी सुरू भएसँगै बजारका औषधि पसलहरुमा ज्वोरो आउँदा खाने सिटामोल अभाव छ । बिरामीहरुले सिटामोल औषधि पसलबाट किन्न पाएका छैनन् । यसबीचमा स्वास्थ्य लाइभले देशभर सरकारी निकायमा कति सिटामोल मौज्दात छ भनेर खोजेको छ ।

प्राप्त विवरण अनुसार देशभर बिहिबार सम्म ६८ लाख ९० हजार ६ सय ७९ चक्कि सिटामोल मौज्दात रहेको छ । मेडिकल स्टोरहरुमा मौज्दात रहेका सिटामोल सरकारले वितरण थाल्ने भएको छ ।

जब–जब महामारी सुरु हुन्छ देशैभर सिटामोलको अभाव हुने गरेको छ । नेपाली औषधी उद्योगले ५० प्रतिशत औषधिमा आत्मनिर्भर भएको बताएका छन् । तर, ५० प्रतिशत औषधिमा आत्मनिर्भर भएको देशमा सबैभन्दा सामान्य तर अत्यावश्यक पर्ने सिटामोल अभाव हुने गरेको छ । यसले पनि कतिपय विज्ञले सिटामोलको मूल्य बढाउन हरेक महामारीमा सिटामोल कृत्रिम अभाव हुने गरेको अड्कलबाजी गर्न थालेका छन् ।

सिटामोल अभाव भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालयका प्रतिनिधिसँग छलफल गरेका छन् । बजारमा देखिएको सिटामोलको कार्टेलिङ कसरी रोक्न सकिन्छ भन्नेमा प्रधानमन्त्रीले जिज्ञासा राखेका थिए । उनले सरकारसमक्ष भएका सिटामोल वितरण गर्ने र आवश्यक परे द्रुत गतिमा खरिद गर्न पनि स्वास्थ्य मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीसँगको छलफलपछि आजै स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले काठमाडौं र ललितपुर महानगरपालिकालाई १–१ लाख चक्की सिटामोल दिने भएको छ । त्यस्तै उपत्यकाभित्रका नगरपालिकाहरुमा २० हजारका दरले सिटामोल दिने छ । सरकारी अस्पतालहरुमा माग भए अनुसार वितरण गरिने भएको छ । यता नेपाल औषधी लिमिटेड रातीको समयबाहेक दशैंमा पनि खुला राखिने भएको छ । कुनै पनि बिरामीले सिटामोल नपाएको खण्डमा नेपाल औषधि लिमिटेडमा गएर आवश्य परेको लिन सक्नेछन् ।

नेपाल औषधि लिमिटेडले माग्यो २ करोड अनुदान

सिटामोल अभाव भएको मौका पारेर नेपाल औषधि लिमिटेडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमक्ष २ करोड रुपैयाँ अनुदान माग गरेको छ । सिटामोलको मुल्य वृद्धि भएको भन्दै उत्पादनमा समस्या आउने भएकाले २ करोड अनुदान उपलब्ध गराउनु स्वास्थ्य मन्त्रालयलाई लिमिटेडले परिपत्र गरेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com