दसैँमा सन्तुलन मिलाएर मात्रै खानुहोस्


काठमाडौं । दसैँको कुरा गर्दा खानपान र मनोरञ्जन सँगसँगै जोडिने गर्छ । तर, स्वास्थ्यको ख्याल नै नगरी मासुजन्य तथा चिल्लो पदार्थ बढी भएका परिकार खाँदा गर्दा हृदयघात, मस्तिष्कघातजस्ता रोग निम्तिन सक्ने भएकाले खानपिनमा ध्यान पुर्याउन चिकित्सकहरुले सुझाव दिएका छन् । दसैँमा हुने मासु, मदिरा तथा मिठाइको अत्याधिक सेवनले हृदयघात, मस्तिष्कघात जस्ता रोग लाग्न सक्ने भएकाले सावधानी अपनाउन चिकित्सकको सुझाव छ ।

मासुमा चिल्लो र कोलेष्ट्रोलको मात्रा बढी हुने भएकाले मुटु तथा मृगौला रोगीहरुले मासु खान नहुने चिकित्सकहरु बताउँछन् । छालामा कोलेष्ट्रोल र चिल्लोको मात्रा बढी हुने हुँदा छाला नखान चिकित्सकहरुले सुझाव दिएका छन् । चिकित्सका अनुसार आन्द्राभूँडी टाउकाको मासु खानु स्वास्थ्यका लागि हानिकार हुन्छ । मासु खाईसकेपछि सागसब्जी, फलफूल गेडागुडी, कागतीको सर्वतलगायत फाइबरयुक्त खानेकुराहरु खान उनीहरुको सुझाव छ । दसैँ सकिएलगत्तै खानपानका कारण हुने उच्च रक्तचाप, हृदयघात, मुटुको धड्कन बिग्रिएका बिरामीहरु बढी आउने गरेको बरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजु बताउँछन् ।

सन्तुलन मिलाएर खानू

चाडबाडको रमझमसँगै खानपानमा रमाउँदा सन्तुलनमा रहन चिकित्सकहरुले सुझाव छ । उनीहरुले भोजनलाई औषधिका रुपमा र औषधिलाई भोजनका रुपमा लिन भनेका छन् । डा. कोजु भन्छन, ‘चाडबाडका समयमा नखाने भन्ने हैन । आवश्यकता अनुसार सबै कुरा खानुहोस् तर सन्तुलन मिलाएर मात्रै खानुस् ।’ दसैँको विशेषता भनेको घर परिवार, आफन्त साथीभाइसँग जमघट गरी स्वादिला परिकारमा आनन्द लिनु पनि हो । पुराना जटिल रोगहरु हुन भएकाले यस्ता व्यक्तिले आफ्नो दैनिक खानपानमा विशेष ध्यान दिनु पर्नेमा डा. कोजुको जोड छ ।

स्वास्थ्यकर आहारले मानिसलाई सबै प्रकारको कुपोषण लाग्न बाट जोगाइ मुटुरोग, स्ट्रोक, मधुमेह र क्यान्सर रोग लाग्नबाट बचाउँदछ । खानपानको कुनै परबाह नगरी निरन्तर सेवन गरेको खण्डमा मुटु, मिर्गौला, मस्तिष्क, आँखामा गम्भीर समस्या देखिनुका साथै उच्च रक्तचापको बढी सम्भावना हुने गर्छ ।

एकै ठाउँमा बसेर खाँदा कलेजोमा समस्या 

दसैँ तिहारतामा तास खेल्ने, रक्सी खाने पुरानै प्रचलन हो । एकै ठाउँमा वसेर तास खेल्ने र खाने गर्दा पेट तथा कलेजोमा समस्या हुने वरिष्ठ कलेजो रोग बिशेषज्ञ डा. दिलिप शर्मा बताउछन् । ‘खानपानमा बिभिन्न प्रकारका विषाक्त पदार्थ मिसाएको हुने भएकाले स्वास्थ्यकर खानपानमा ध्यान नदिँदा कलेजोमा खराबी आउन सक्छ’, शर्मा भन्छन । चाडबाड भन्दैमा आफ्नो शरिरले पचाउन नसक्ने भन्दा बढी खानु राम्रो नहुने उनको भनाइ छ ।

नेपालीहरुको पाचन प्रक्रिया कमजोर छ शर्मा भन्छन्, ‘प्रोटिनको मात्रा बढी हुना साथ पखाला लाग्न थाल्छ । त्यसैले यस समयमा कुनै न कुनै समस्याले पिरोल्छ । मासुजन्य खाने कुरासँग प्रशस्त मात्रामा रेसादार सागसब्जीको प्रयोग अनिवार्य पर्छ ।’,

छाला निकालेका पंक्षीको मासु खानु राम्रो

चिकित्सकहरुका अनुसार दसैँ तिहार जस्ता चाडमा खसी, रांगा, च्याग्राको रातो मासु खानुको साटो छाला निकालेर पंक्षीको मासु खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ । त्यसमा अझ माछा खानु उत्तम हो । अर्का मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार रातो मासु युरिक एसिड, ट्राइग्लिसराइड, मुटु रोगीका लागि राम्रो मानिँदैन । उनले भनेका छन्, ‘मासु पकाउदा थोरै तेल राख्नु पर्छ । मासुमा हुने बोसो सकेसम्म नखानु राम्रो हो ।’, हाँस, कुखुरा, माछा, चराचुरुङ्गीको मासु सेतो हुन्छ रातो रेसादार मासुको दाजोमा यो कम खतरनाक मानिन्छ । तर, यसको पनि बढी प्रयोग गरेको खण्डमा कोलेस्ट्रोल बढ्न सक्छ । अन्य समयमाभन्दा चाडबाडमा बढी फुर्सद निस्कन्छ । यो समय बढी हिँडेको खण्डमा खानाबाट प्राप्त क्यालोरी नियन्त्रण गर्न मद्धत पुग्छ ।

मदिराको प्रयोग कति गर्ने ? 

दसैँ तिहारताको समयमा मदिराको अत्याधिक उपयोग हुने गरेको पाइन्छ । डा. रेग्मीका अनुसार एक दिनमा एक स्वस्थ पुरुषले दुई प्याग ड्रिंक्स र महिलाले एक प्याग ड्रिंक्स लिँदा कुनै समस्या हुँदैन । एक  प्याग ड्रिंक्समा ३० मिलिलिटर हुस्की, डेढ सय मिलिलिटर वाइन र अढाई सय मिलिलिटर वियर हुन्छ । तर मुटुको समस्या भएका व्यक्तिले मदिरा सेवन गर्न नहुने डा. रेग्मीको सुझाव छ । चिकित्सकहरुले भनेका छन्, ‘मस्तिष्काघात युरिक एसिड वढेका, गर्भवती महिला, कलेजोको रोगीहरु, मधुमेह बिरामीहरुले मदिरा सेवन गर्न उपयुक्त हुँदैन ।’,

‘रक्सी र मासुको एकै पटक प्रयोग गर्नु हुँदैन’, रेग्मी भन्छन, ‘यसले स्वास्थ्यमा दिर्घकालिन समस्या ल्याउन मद्धत पुर्याउछ । एक दिनमा एक व्यक्तिले हुस्की ३ प्याग अर्थात् ६० देखि ९० एमएलसम्म खाँदा असर गर्दैन । वियर १ वोतल अर्थात ६५० मिलिलिटर र वाइन १ गिलास मात्रै खान उपयुक्त हुन्छ ।’,

मिठाइ खाँदा ख्याल गरौं  

दसैँ तिहारताका बेला घरमा बनाइने मिठाइसँगै बजारमा पाइने मिठाईको समेत प्रशस्त प्रयोग हुने गरेको छ । मिठाइको प्रयोग गर्दा मोटोपना निम्तन सक्छ । चिकित्सकका अनुसार मिठाई खाँदा उमेरको समेत ख्याल गर्नुपर्छ ।

बजार अनुगमन असाध्यै कमजोर छ जसले गर्दा मिसावट भएका मिठाई बजारमा प्रशस्त छन् । यसले स्वास्थमा हानी पुर्याउदछ । चाडबाडमा मिसावट भएका मिठाइहरु प्रयोग हुन्छ डा. प्रकाश राज रेग्मी भन्छन्, ‘यसले रगतमा कोलेस्टेरोल र सुगरको मात्र बढाउनुका साथै तौललाई पनि बढाउँने काम गर्छ । त्यसैले यस्तो खानेकुरा कम खानुपर्छ ।’, मधुमेहका रोगीले मिठाइ सेवन गरेको अवस्थामा उसले खाने अन्य खानामा कटौती गर्नु पर्ने रेग्मीको सुझाव छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com