महामारीमा पनि नागरिकको समस्याभन्दा कर्मचारीको गुनासो सुन्नमै अल्झियाे स्वास्थ्य मन्त्रालय

देशमा ४४ जनाको ज्यान जानेगरी लामखुट्टेकाे महामारी छ, तर सचिव मन्त्रीलाई साेच्ने समय छैन


काठमाडौं । देशमा लामखुट्टेले टाेकेर ४४ जनाकाे मृत्युु भएकाे छ । लामखुट्टेले टाेकेर मान्छे मारेकाे याे नेपाली इतिहासमा हालसम्मको धेरै हाे । ३३ हजार भन्दा धेरै नागरिकलाई लामखुट्टेले टाेकेर सिकिस्त बनाएको छ । पुष्टि नभएका मृतक र अन्य बिरामी निकै धेरै भएकाे यस क्षेत्रमा काम गरेका विज्ञहरूको दाबी छ ।

साउन देखि अहिलेसम्म ठूलाे संख्यामा नागरिक हताहत हुँदा राज्य पुरै निर्वाचन केन्द्रित भएको छ । विभागिय मन्त्रालय उस्तै छ । बिहान दश बजेबाट घर जाने समय अर्थात् बेलुका ५ बजेसम्म बाहिरी मान्छे भेट्नमै स्वास्थ्यमन्त्री र सचिवकाे समय खेर जान्छ ।

स्वास्थ्य लाइभले गरेकाे केही हप्ताको अनुसन्धानले दिनभरमा सचिवलाई व्यक्ति र विभिन्न समूहले गरि औसतमा ५१ वटा ग्रुपले भेट्ने गरेका छन् । सबै सरुवा, पदस्थापन र जागिर चाहियो भन्नेहरु हुन्छन् । जसबाट मन्त्रालयकाे पुरै काम अवरुद्घ हुने गरेकाे छ ।

उपसचिवस्तरबाटै हुने काम नेता र मन्त्रीकाे भनसुनमा सीधै सचिव समक्ष पुग्दा उनकाे कामकाे दैनिकी ध्वस्त भएकाे छ । २० देखि २५ वटा समूह त सचिवका काेठामा छिरेर दिनहुँ हल्ला गर्ने र चिया खार हुक्के गफ लगाउने मात्रै हुन्छन् ।

अनावश्यक भीड र भेटघाटले स्वास्थ्यमन्त्री र सचिवकाे कामले गति लिन सकेकाे छैन । सचिवलाई र मन्त्रीलाई स्वास्थ्य सुधारकाे सल्लाह दिनेभन्दा पनि आफ्नाे दुनाे साेझ्याउनेहरुकाे जमात स्वास्थ्यमा बढ्दाे छ । याे बिषय सचिवले बुझ्न जरुरी छ ।

देशमा काेभिड महामारी नसकिदै अहिले डेंगु महामारी छ । यस विषयमा सचिवले एकरति साेचेर निर्णय लिने समय पाएका छैनन् । हुन त उनलाई बुझ्दा काम भइरहेको बताउँछन् तर, नियमित भेट्न आउनेहरुकाे जमातले उनले भनेपनि सचिवलाई काम गर्न समय अभाव भएकाे सहज अनुमान लगाउन सकिन्छ ।

स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङ पनि अनावश्यक भेटघाटले काम गर्ने समय नभएको सुनाउँछन् । ‘मन्त्रालयका नियमित फायल पनि भेट्न आउनेहरुसँग बाेल्दै सदर वा राय लेख्नु पर्छ’, उनी भन्छन् । स्वास्थ्य सचिव डा. राेशन पाेखरेल पनि दिनहुँ हुने भेटले काम फिटिक्कै गर्न नपाएको बताउँछन् ।

चिकित्सककाे पाेष्टिङ, सरुवा, समायोजन मिलान, छात्रवृत्ति, चिकित्सकको व्यवस्थापन जस्ता सामान्य समस्याले सचिवकाे समय खेर जान्छ । यस्ताे बेला भेट्न जानेहरु आफैंले बुझ्नुपर्ने हाे । महामारीको समयमा डिस्टर्ब गर्नेभन्दा पनि उनिहरुलाई निर्णय गर्न सहजिकरण गर्नुपर्ने अधिकारीहरु बताउँछन् ।

स्वास्थ्य सचिव डा. पाेखरेल सचिव भएकाे १ वर्ष कटेकाे छ । यस अवधिमा उनले स्वास्थ्य सुधारका याेजना अगाडि सारेर काम थाले तर, अनावश्यक भेटघाट र गुनासाले उनकाे साेचलाई मुर्तरुप दिन सकेनन् । देशमा डंगुको महामारी फैलिएका अवस्थामा यसलाई रोकथाम गरेर नागरिकको ज्यान जोगाउन लाग्नु पर्ने स्वास्थ्य मन्त्रालय कर्मचारीको गुनासो सुन्नेबाहेक काममा खासै चासो दिएको देखिँदैन । मुलुकमा डेंगुले त्राहिमाम बनाउँदा स्वास्थ्यका कर्मचारीहरू जनताको सेवा गर्नभन्दा आफ्नो स्वार्थ पूर्ति गर्नमै केन्द्रित देखिन्छन् । यसले नेपालको समग्र स्वास्थ्य प्रणाली नै असफल हुने अवस्थामा पुगेको स्वास्थ्य कै उच्च अधिकारीहरुको टिप्पणी छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com