‘क्रियाशिल स्वास्थ्य पत्रकार पुरस्कार’ तिमिल्सिनालाई

स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने अठोटका साथ काम गर्ने : मन्त्री गिरी


काठमाडौं । ‘क्रियाशिल स्वास्थ्य पत्रकार पुरस्कार’ भगवती तिमिल्सिनालाई प्रदान गरिएको छ ।

स्वास्थ्य पत्रकार मञ्च, नेपालको आठौं वार्षिक साधारण सभाको अवसरमा स्वास्थ्य पत्रकार वासुदेव न्यौपानेको आर्थिक सहयोगमा स्थापित उक्त पुरस्कार तिमिल्सिनालाई प्रदान गरिएको हो ।

  • कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सो पुरस्कार प्रदान गरेका थिए।

यस्तै प्रतिनिधि सभाका सदस्य निसा डाँगीलाई सम्मान गरियो ।

स्वास्थ्य पत्रकारको रुपमा कार्यरत पत्रकार डाँगी मङ्सिरमा भएको प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले नियुक्त गरेको थियो ।

कार्यक्रममा बोल्दै मन्त्री गिरीले जनताले अनुभूत गर्नेगरी स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने अठोटका साथ आफू मन्त्री बनेको बताए ।

मन्त्री गिरीले यस क्षेत्रका विकृति र विसङ्गति रोक्नका लागि पत्रकारहरूको भूमिका महत्वपूर्ण रहने बताए ।

”नेपालको स्वास्थ्य क्षेत्र विकराल छ । जनताले गुणस्तरीय सेवा पाउन सकेका छैनन् । यसबारे कलम चलाएर सुधारका लागि केही न केही योगदान गर्छु भन्‍ने लागेर नै तपाईहरू स्वास्थ्य पत्रकारितामा आउनुभएको होला,” मन्त्री गिरीले भने,”हाम्रो स्वास्थ्य क्षेत्रलाई तमाम गरिब जनताको पहुँचमा कसरी पुर्‍याउन सकिन्छ ? गरिबले पनि कसरी गुणस्तयरीय सेवा पाउन सक्छन् । यस विषयमा खोज गरेर कलम चलाइदिनुस् । हामी जिम्मेवारीमा रहेका मानिसलाई पनि त्यसबाट फिडब्याक लिएर केही गर्न मार्गदर्शन मिलोस् । ”

उनले थपे, ”स्वास्थ्य क्षेत्रका बेथिति, भ्रस्ट्राचार र अपारदर्शिताविरुद्ध निर्मम भएर कलम चलाइदिनुभयो भने देशका लागि ठूलो योगदान हुन्छ । हामी जिम्मेवारीमा छौं, तपाईंहरूले हामीलाई खबरदारी गर्नुपर्छ ।”स्वास्थ्य क्षेत्रमा देखिनेगरी परिवर्तन ल्याउने अठोटका साथ आफूले मन्‍त्रालय सम्हालेको मन्त्री गिरीले बताए । ”हामीले ठूलो परिवर्तन ल्याउने अठोटका साथ यो जिम्मेवारी लिएका छौं । एकैचोटी सबै समस्या समाधान नहोला । हाम्रो स्रोत र साधनका सिमा छन् । तर, आम जनताले महसुस गर्नेगरी काम गर्नेछौं,” उनले भने,”पात्र र प्रवृत्तिदेखि सबै पक्ष नियालिरहेका छौं । अहिले अध्ययनमै छौं ।”

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com