स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा.उप्रेतीले दिए राजीनामा

मन्त्री गिरी तीन दिनदेखि थिए राजीनामा पत्रको पर्खाइमा


काठमाडौं । स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले पदबाट राजीनामा दिएका छन् ।

अध्यक्ष डा. उप्रेतीले मङ्गलवार अपरान्ह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पुगेर स्वास्थ्यमन्त्री पदम गिरी समक्ष राजीनामा बुझाएका हुन् ।

पूर्व स्वास्थ्य सचिवसमेत रहेका डा. उप्रेतीलाई सरकारले २०७७ साउन २० गते स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

अस्पतालहरूको करोडौं रकम भुक्तानी रोकेर ३ प्रतिशत रकम कमिशन माग गरेको आरोप समेत उनलाई लगाइएको थियो ।

स्वास्थ्य लाइभसँगको कुराकानीमा डा.उप्रेतीले राजीनामा दिएको बताए पनि त्यसको कारण पछि खुलाउने स्पष्ट पारे ।

बीमा बोर्डका पदाधिकारीका कारण हाल मेडिकल कलेज शिक्षण अस्पतालहरूमा स्वास्थ्य बीमा कार्यक्रम बन्द भएको छ । बीमा कार्यक्रम बन्द हुँदा लाखौं नागरिक सेवा पाउँनबाट बन्चित भएका छन् ।

तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी प्रसाद खापुङले बीमामा देखिएको समस्या समाधान गर्न एक समितिसमेत गठन गरेका थिए । उक्त समितिले तत्काल रकम भुक्तानी दिएर सेवालाई निरन्तरता गराउँन निर्देशनात्मक सुझाव दिएको थियो । तर, उक्त सुझावलाई समेत बेवास्ता गर्दै बोर्डले भुक्तानी रोक्ने काम जारी राखेको थियो ।

वर्तमानमा स्वास्थ्य मन्त्री पदम गिरी विगत तीन दिनदेखि उप्रेतीको राजिनामा पत्रको पखाईमा थिए । तर, अध्यक्ष उप्रेतीले तीन दिन पछि मङ्गलवार राजीनामा बुझाएका छन् ।

गत साउनदेखि निजी क्षेत्रले सेवा बन्द गर्दा बीमा अफ्ठेरो अवस्थामा पुगेको छ । सरकार बीमामार्फत आम जनतामा सहज र सस्तोमा सेवा पुर्याउन चाहान्छ तर, डा. उप्रेती र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौला यसलाई रोक्न लागि परेका थिए । अब बसौलाले पनि तत्काल राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने आवाज उठेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com