मेडिकल सामग्रीसहितको उद्धार टोली टर्की जाँदै


काठमाडौं । सरकारले टर्कीमा गएको विनाशकारी भूकम्पबाट प्रभावित क्षेत्रमा मेडिकल रेस्पोन्स टिम र अत्यावश्यक राहत सामग्री पठाउने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी आकस्मिक बैठकले मेडिकल उपकरणसहितको टिम एवं न्यानो लत्ताकपडासहितका अत्यावश्यक सामग्री पठाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले
परराष्ट्र मन्त्रालयलाई यससम्बन्धमा राष्ट्रिय विपद् जोखिम
न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहित सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्न निर्देशनसमेत दिएको छ ।

प्राधिकरणका अनुसार प्रधानमन्त्री दाहालले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव हुने सबै सहयोग गरिने बताएका छन् । यसकाे व्यवस्थापन नेपाली सेनाले गर्ने र आवश्यक परेकाे खण्डमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्ना चिकित्सकसमेत पठाउने सचिव डा. राेशन पाेखरेलले बताए ।

बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव
शंकरदास बैरागी, प्रधानसेनापति प्रभु राम शर्मा, विभिन्न मन्त्रालयका सचिवलगायत समितिका पदाधिकारी र सदस्यहरूको उपस्थिति थियो ।

टर्की र सिरियाको सीमा क्षेत्रमा गएको ७ दशमलव ८ र ७ दशमलव ४ म्याग्निच्युडको भूकम्पबाट बुधबार दिउँसोसम्म ११ हजारभन्दा बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

२०७२ मा भूकम्पलगत्तै टर्की सरकारले नेपालमा खोज तथा उद्धार एवं मेडिकल रेस्पोन्स टिम पठाएको थियो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com