स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गर्न काठमाडौं महानगरपालिका सक्रिय


काठमाडौं । शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गर्न काठमाडौं महानगरपालिका सक्रिय भएको छ ।

काठमाडौं महानगरपालिकाका वडा कार्यालयहरुले शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका लागि पूर्वाधार निर्माणमा सक्रियता देखाउन थालेका हुन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३० बाट सुरु भएको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र महानगरका सबै वडामा पुर्‍याउने गरी काम भइरहेको छ । पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाको सक्रियतामा वडा नम्बर ३० मा स्थापना भएको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र महानगरभरि पुर्‍याउने महानगरपालिकाको लक्ष्य छ ।

ज्ञानेश्वरमा रहेको शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको भ्रमण गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सबै वडामा उक्त केन्द्रलाई विस्तार गर्ने प्रतिक्रिया दिएका थिए । काठमाडौं महानगरपालिका वडा नम्बर १० ले शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालनका लागि भवन निर्माण गर्ने तयारी थालेको छ ।

धोबीखोला करिडोर मदन भण्डारी कलेजसँगै वडा कार्यालयले शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको भवन निर्माण गर्ने भएको । त्यसका लागि १ करोड बजेट समेत विनियोजन भइसकेको वडा सदस्य नरोज अर्यालले स्वास्थ्य लाइभलाई जानकारी दिए ।

वडा नम्बर २९ ले समेत शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापनाका लागि अनामनगर आसपासका क्षेत्रमा सरकारी/सार्वजनिक जग्गा खोजिरहेको छ । अनामनगरतिरै शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको संरचना बनाउने तयार भइरहेको वडा कार्यालयले बताएको छ ।

वडा नम्बर ११ ले शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापनका लागि उपयुक्त ठाउँ खोज्न थालेको छ । वडा अध्यक्ष हिरालाल तण्डुकारले थापाथली आसपासको क्षेत्रमा स्वास्थ्य संरचना  निर्माण गर्ने बताउँदै आएका छन् । काठमाडौं महानगरपालिकाका अन्य वडाले पनि स्वास्थ्य संरचना निर्माण गर्ने विषयलाई प्राथमिकतामा राखेको देखिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com