मेडिकल म्यूजियमको ठेक्का हत्याउन आयोजनाका इन्जिनियरहरुको चलखेल


काठमाडौं । नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालयमा बन्न लागेको मेडिकल म्यूजियमको ठेक्का हत्याउन आयोजनाका इन्जिनियरहरुले चलखेल थालेका छन् ।

बागमती प्रदेशको पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विकास आयोजना, काठमाडौं इकाईका इन्जिनियरहरुले उक्त ठेक्का हत्याउन चलखेल थालेका हुन् ।

नेपाल चिकित्सक संघका एक पदाधिकारीका अनुसार आयोजनाका इन्जिनियरहरुले मेडिकल म्यूजियम बनाउन आफूहरूले नै ठेकेदार नियुक्त गर्ने प्रस्ताव गरेका छन् ।

बागमती प्रदेश सरकारको सहयोगमा ५० लाख लागतमा नेपालमै पहिलोपटक एनएमए मेडिकल म्यूजियम बन्न लागेको हो । तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठको प्रस्तावमा उक्त म्यूजियममा बजेट विनियोजन गरिएको हो । तर, उक्त महत्त्वकांक्षी योजना हत्याउन र असफल पार्न आयोजनाका इन्जिनियरहरु चलखेलमा लागेको खुल्न आएको छ ।

सेवाग्राहीलाई दुःख दिएर आयोजनाका इन्जिनियरहरुले कमिसनमा आफैं ठेकेदार नियुक्त गर्ने गरेको पाइएको छ ।

बाणगंगा ढुंगेधारामा पनि आयोजनाका इन्जिनियरहरूले आफ्नै ठेकेदार लाई काम दिएको खुल्न आएको छ । उपभोक्ता समितिलाई अनावश्यक डकुमेन्ट माग्ने र हैरानी बनाएर आफ्नै ठेकेदार पठाउन उनीहरू संलग्न रहेको खुल्न आएको छ ।

मेडिकल म्यूजियम बनाउने काममा पनि अनेकौं बखेडा झिकेर आयोजनाका इन्जिनियरहरुले आफूहरुले नै ठेकेदार खोजिदिने प्रस्ताव गरेको खुल्न आएको हो । इन्जिनियरहरुले आफू नजिकको ठेकेदार पठाएर कमिसनको खेलमा लागेको प्रस्टै देखिन्छ । मेडिकल म्यूजियममा लगाएको गिद्दे दृष्टिले त्यसको पुष्टि गर्छ ।

पर्यटन विकास आयोजना, काठमाडौं इकाईका प्रमुख द्रोण कार्की भने आफूहरूले त्यस्तो नगरेको दाबी गर्छन् । स्वास्थ्य लाइभसँगको कुराकानीमा उनले आफूहरूले ठेकेदार नखोजेको जिकिर गरे । तर, स्वास्थ्य लाइभले बाणगंगा ढुंगेधारादेखि चिकित्सक संघको मेडिकल म्यूजियमसम्ममा आयोजनका इन्जिनियरहरुले आफ्नै ठेकेदारलाई काम दिलाउन खोजेको फेला पारेको छ ।

बाणगंगाको हकमा त ठेकेदार नै नियुक्ति गरेको फेला परेको हो । बागमती प्रदेशकाे संस्कृति तथा पर्यटनमन्त्रीको जिम्मेवारी दिपेन्द्र श्रेष्ठले सम्हालेपछि आयोजनाको इन्जिनियरहरुको यस्तो धन्दा रोकिएको थियो । उनी मन्त्री पदबाट हटेसँगै आयोजना इन्जिनियरहरुले यो धन्दा फेरि सुरु गरेको पाइएको छ ।

श्रेष्ठ मन्त्री हुनुभन्दा अगाडि कुमालेधारालगायत निर्माणमा पनि आपोजनाका इन्जिनियरहरुले आफ्नै ठेकेदारलाई काम दिएका थिए । अहिले फेरि त्यहीँ धन्दा सुरू भएको पाइन्छ ।

आयोजनका इन्जिनियरहरुले आफैं ठेकेदार पठाउँछु भन्ने प्रस्ताव पठाएको सुनेपछि पूर्व पर्यटनमन्त्री श्रेष्ठले आश्चर्य प्रकट गरे । उनले आफूले विभिन्न ठाउँमा यस्तो कुरा सुनेको बताउँदै यसमा प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण हुनु पर्ने धारणा राखे ।

नेपाल चिकित्सक संघका पदाधिकारी समेत यो विषयमा पूर्व पर्यटनमन्त्री श्रेष्ठलाई जानकारी गराइसकेका छन् । यो विषयमा आवश्यक कारबाही हुन जरुरी देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #एनएमए मेडिकल म्युजियम, #नेपाल चिकित्सक संघ, #बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com