उमेशलाई रोक्न राजेश्वर र जित नारायण सक्रिय


काठमाडौं । आगामी वैशाख १० गते प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने भएपछि कांग्रेसभित्र रस्साकस्सी चलेको छ ।  कांग्रेसबाट फेरि निर्वाचन उठ्ने तयारी थालिरहेका पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई रोक्ने प्रयास सुरु भएको हो ।

उमेशलाई रोक्न कांग्रेस चितवन जिल्ला सभापति राजेश्वर खनाल र केन्द्रीय सदस्य एवं पूर्व सभापति जित नारायण श्रेष्ठ सक्रिय भएका छन् ।

उक्त क्षेत्रबाट निर्वाचित रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतबाट पद खारेज भएपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा कांग्रेसबाट प्रमुख दाबेदार उमेश देखिएका थिए । तर पछिल्लो समय राजेश्वर र जितनारायण उनलाई रोक्न सक्रिय भएका हुन् ।

उपनिर्वाचन लड्ने मनस्थितिमा रहेका पूर्व स्वास्थ्य राज्यमन्त्री उमेशलाई रोकेर राजेश्वर र जितनारायण टिकट लिन लागिपरेका छन् । त्यसका लागि दुबै तीब्र रुपमा लबिइङमा लागेका हुन् । ‘उपनिर्वाचनमा सके आफैं टिकट लिने नसकेर दुईमध्ये एक लड्ने गरी राजेश्वर र जितनारायण लागिपरेका छन् । जसरी भएपनि उमेशलाई रोक्ने उनीहरूको मिसन देखिन्छ’, चितवन कांग्रेसका एक नेताले स्वास्थ्य लाइभलाई सुनाए ।

उमेश राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेसँग ३४२८१ मतान्तरले  पराजित भएका थिए । रविले ४९२६४ भोट ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी  उमेश १४९८३ मत मात्र ल्याएका थिए । अहिले फेरि रविसँग लड्न उमेशले तयारी थालेपछि उनलाई रोक्न राजेश्वर र जितनारायण सक्रिय भएका हुन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com