स्वास्थ्यमा सचिव गुरागाईंबाट कामको माख्खो मरेन


काठमाडौं । स्वास्थ्यमा प्राविधिक सचिव हुँदाहुँदै केही थप योगदान होला की भनेर प्रशासनको सचिव ल्याइयो । तर, ०७८ माघ २४ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सरुवा भएर जनसंख्या र प्रशासन हेर्नेगरी आएकी सचिव देवकुमारी गुरागाईंल स्वास्थ्यमा कुनै योगदान दिन सकेकी छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीमा आएको एक वर्ष पुग्दा समेत उनको योगदान स्वास्थ्यमा शून्य जस्तै छ । एउटा महिला प्रशासनिक क्षेत्रको उच्च ओहदामा पुगेको गौरवबाहेक उनमा कुनै आशा छैन ।

गुरागाईं २०७५ फागुन २६ गते सचिवमा बढुवा भएकी हुन् । प्राविधिक सहायक, अधिकृत, उपसचिव, सहसचिव हुँदै सचिवमा पनि गुरागाईं  शिक्षा सेवाको शिक्षा प्रशासनबाटै बढुवा भएकी हुन् । सचिव भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग, सार्वजनिक खरिद अनुगमन कार्यालय(पीपीएमओ) हुँदै उनी स्वास्थ्य मन्त्रालयको प्रशासनतर्फको सचिवको भूमिकामा आइपुगेकी हुन् ।

स्वास्थ्यको नीति योजना र अन्तराष्ट्रिय समन्वय महाशाखाको कामबाहेक सबै उनको मातहतमा पर्छ । तर, उनको भागका परेको कुनै पनि कामले उल्लेख्य गति लिन नसकेको स्वास्थ्यका अधिकारीहरु बताउँछन् । एउटा सामान्य बिदा स्वीकृत गराउँनु पर्दा पनि हप्तौं कुर्नुपरेको पीडित कर्मचारीको गुनासो छ ।

स्वास्थ्यमा प्रशासनिक सचिवको काम बिहानदेखि बेलुका सम्म हलो अड्काउने मात्रै छ । निर्णयका फायल पेश गरे भाषा हेरेर बस्ने, समस्या लिएर मान्छे भेट्न गए भेट्नै नचाहने उनको बानीले कर्मचारीतन्त्र बिक्षिप्त भएको छ ।

प्रशासनकै कर्मचारीहरु भन्छन्, ‘सचिवलाई कोही कामले भेट्न गए भेट्नै मान्नु हुन्न । तत्काल गर्नुपर्ने महत्त्वपूर्ण काम विभिन्न बाहना देखाएर रोकेर राख्ने गर्दा स्वास्थ्यका अधिकांश कामले गति लिन सकेको छैन । अरुलाई पनि छिटो गर्न नदिने उनको स्वभावले स्वास्थ्यका सबै कर्मचारी हैरान भएका छन् । सचिव मन्त्रालयको अभिभावक भएकाले मन जलेर पनि कर्मचारीले खुलेर विरोध गर्न सकेका छैनन् । सचिवको शैलीबट मन जलेका कर्मचारीले सडक पेटीमा बिलौना गरिरहेका छन् ।

प्रशासनीक सचिवको काम अहिले प्राविधिक सचिवको काँधमा छ । मन्त्रीले जिम्मेवारी बाँडफाँड गरेको भएपनि प्रशासनको सचिवबाट कामको पाइलो नसरेपछि उनको काम समेत डा. रोशन पोखरेलले गर्दै आएको मन्त्रालयका कर्मचारी बताउँछन् । स-साना काम समेत समाधान नगर्दा त्यसले ठूलो रुप लिने गरेको छ । एक कर्मचारी भन्छन्, ‘कार्यक्रमको फायल स्वीकृत गराउँन लगेको स्वीकृत गर्दिन तर, कार्यक्रममा भात खान आउँछु भन्नुभयो । हामी त लाजले भुतुक्कै भयौं ।’,

एक उच्च अधिकारीले बताए अनुसार सचिव गुरागाईं समाधानको कुनै उपाय निकाल्दिनन् । बरु, समस्यालाई समाधान गर्नेभन्दा पनि झन समस्यातर्फ धकेल्ने काम सचिव गुरागाईंबाट हुँदै आएको छ ।

जनसंख्याले के-के काम गर्छ भन्ने समेत सचिव गुरागाईंलाई जानकारी नभएको स्वास्थ्यका कर्मचारीहरू सुनाउँछन् । तर, सचिव डा. रोशन पोखरेल भने बाहिर आएको हल्ला जस्तो नभएको बताउँछन् । उनले प्रशासनको सचिवबाट पनि कामहरु दिनहुँ उल्लेख्य मात्रामा भएको बताउँछन् । सचिव पोखरेलले आफ्नो सहपाठीको बचाउँ गरे । उनले बचाउँ गरेपनि प्रशासनकी सचिव गुरागाईंले स्वास्थ्यमा कामको माख्खो नमारेको लुकाएर लुक्ने कुरै भएन ।

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #सचिव स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्य सचिव देवकुमारी गुरागाईं

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com