‘अर्थ न बर्थ’ गणेश तिमिल्सिनासँग पुनम क्षेत्रपाललाई किन भेट गराए पाण्डवले ?

छोरीलाई डब्ल्यूएचओमा जागिर लगाउँने राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको स्वार्थ !


काठमाडौं । पछिल्लो केही सयम यता विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का नेपाल प्रतिनिधि राजेश पाण्डव र नेपालको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाबीचको हिमचिम फस्टाएको छ । राष्ट्रिय सभाको अध्यक्ष भएपनि उनको क्षेत्राधिकारमा विश्व स्वास्थ्य संगठनसँग सम्बन्ध ‘गोरु बेचेको’ साइनो जत्तिको समेत छैन । तर, यहाँ ठिक उल्टो देखिन्छ ।

स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरुले बताए अनुसार पाण्डव र तिमिल्सिना बिचको हिमचिम निकै शंकास्पद छ । सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्रीको कार्यभार सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्र (डब्ल्यूएचओ सेरो)की निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले भेटवार्ता गरिन् ।

स्वास्थ्यमन्त्री भएको नाताले प्रचण्डसँग सिंहको भेटवार्तालाई सकारात्मक रुपमा लिइएको छ । तर, गज्जबको कुरा त डब्ल्यूएचओसँग कुनै छेउ टुप्पो नमिल्ने राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँगको भेटको विषय स्वास्थ्य क्षेत्रमा हाँसो-मजाक बनेको छ ।

स्वास्थ्य मन्त्रालयका एक जना जिम्मेवार अधिकारीले भने, ‘पाण्डवले नेपालको डब्ल्यूएचओलाई भारतको दुतावासको शाखा कार्यालय जस्तो बनाइसकेका छन् । स्वार्थबाहेक उनमा अरु केही छैन ।’, डब्ल्यूएचओ दक्षिणपूर्वी एशिया क्षेत्र र स्वास्थ्य मन्त्रालयको संयुक्त आयोजनामा काठमाडौँमा क्षयरोगसम्बन्धी तीनदिने क्षेत्रीय गोष्ठी जारी छ । सोही गोष्ठीमा भाग लिन सिंह काठमाडौं आएकी हुन् ।

स्रोतका अनुसार संघीय सभामुख हुँदाहुँदै राजेश पाण्डवले अर्थै नभएको व्यक्तिलाई डा. पुनम क्षेत्रपाल सिंहको भेट गराउनु भनेको आश्चर्यको विषय हो । यस विषयमा सिंह पनि आफै सचेत हुनुपर्ने स्वास्थ्यका अधिकारीहरू बताउँछन् । पाण्डवले नेपालमा बसेर यस्ता कयौं विवादित काम गर्दै आएका छन् ।राष्ट्रिय सभा अध्यक्षले पनि कसलाई भेट्ने, के एजेण्डामा भेट गर्ने भन्ने कुराको राम्रो याद गर्नुपर्ने स्वास्थ्य मन्त्रालयका अर्का एक उच्च अधिकारी बताउँछन् । ‘आफ्नो मर्यादाभन्दा बाहिर जाँनु राम्रो हैन’, ति अधिकारीले भने । यदि डा. पुनम क्षेत्रपाल सिंहसँग भेटवार्ता गर्ने कुनै जरुरी विषय भए स्वास्थ्यका प्रतिनिधि अनिवार्य राख्नुपर्छ । तर, राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना मनमौजी देखिए ।

मन्त्रालय स्रोत स्वास्थ्य लाइभसँग भन्छ, ‘तिमिल्सिनाले आफ्नी छोरीलाई डब्ल्यूएचओमा जागिर लगाउँन यस्तो गरेका हुन् ।’, उनलाई पाण्डवको आशिर्वाद रहेको छ । तर, तिमिल्सिनाको कदमले राष्ट्रिय सभाको अध्यक्षको गरिमामै आच पुगेको स्वास्थ्यका अधिकारीहरुको टिप्पणी छ ।

मन्त्रालय स्रोतका अनुसार तिमिल्सिनाकी छोरी गरिमा तिमिल्सिना एमबिबिएस डाक्टर हुन् । चीनमा अध्ययन गरेर कोभिडमा फर्किएकी उनी राज्यले उपलब्ध गराएको ‘इन्ट्रन’मा नेपालमै काम गरिरहेकी छिन् । चीनमा अध्ययन गरेका चिकित्सकले नेपालमा जागिर पाउँन त्यति सहज छैन । चीनमा पढेको चिकित्सक भन्नासाथ नेपालका स्वास्थ्य संस्थाले सजिलै जागिर दिदैनन् । त्यही भएर राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना छोरीको ‘इन्ट्रन’ सकिएपछि डब्ल्यूएचओमा छिराउँने चक्करमा लागेको मन्त्रालयका अधिकारीहरु सुनाउँछन् । यही भएर पनि पाण्डवले हरेक कार्यक्रमदेखि परेड खेलाउँनसम्म तिमिल्सिनालाई दुरुपयोग गर्दै आएका छन् ।

छोरीका लागि राष्ट्रिय सभाको अध्यक्ष पद तिमिल्सिनाले डब्ल्यूएचओका नेपाल प्रतिनिधि पाण्डवसमक्ष समर्पित गरिरहेको स्वास्थ्यका अधिकारीको टिप्पणी रहेको छ । उनको  क्षेत्रपालसँगको पछिल्लो भेट ‘अर्थ न बर्थ’का रुपमा रहेको सुनाउँदै स्वास्थ्यका अधिकारीहरू तिमिल्सिनाले पदको गरिमा भुलेकामा आलोचना गरेका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #गरिमा तिमिल्सिना, #डा. पुनम क्षेत्रपाल सिंह, #डा. राजेश पाण्डव, #नेपालका लागि डब्ल्यूएचओका प्रतिनिधि डा. राजिव पाण्डव, #राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com