स्वास्थ्य मन्त्रालयमा कांग्रेससहित ३ दलको दाबी


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार विस्तारको तयारी गरेका छन् । सोमबार विश्वासको मत लिएका उनले एक/दुई दिनभित्र सरकार विस्तार गर्ने कसरतमा जुटेका हुन् ।

प्रधानमन्त्री दाहालले सरकार विस्तारका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतसँग छलफल गरिरहेका छन् । उनी जतिसक्दो चाँडो सरकार पुनर्गठन गर्ने तयारीमा छन् ।

सरकारमा जानका लागि कांग्रेस, समाजवादीका नेताहरू दौडधुपमा लागेका छन् । बालुवाटार स्रोतका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कांग्रेससहित ३ दलको दाबी परेको छ । नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा), नेपालले स्वास्थ्यमा दाबी गरेका छन् ।

नेकपा एमालेको भागमा परेको स्वास्थ्य मन्त्रालयको स्वभाविक दाबेदार नेपाली कांग्रेस हो । तर, उक्त मन्त्रालयमा एकीकृत समाजवादी र जसपाले आँखा लगाएका छन् ।

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलको स्वास्थ्यमन्त्री बन्ने सम्भावना देखिन्छ । यता एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे गृह नपाए स्वास्थ्यमन्त्री बनेर सरकारमा सहभागी हुन खोजेका छन् । जसपाले पनि स्वास्थ्य मन्त्रालयलाई प्राथमिकतामा राखेको बुझिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #नेपाली कांग्रेस, #प्रदीप पौडेल, #प्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, #राजेन्द्र प्रसाद पाण्डे, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com