बागमती प्रदेशमा स्वास्थ्यसहित एमालेका ४ मन्त्री बर्खास्त गर्ने तयारी


काठमाडौं । बागमती प्रदेश सरकारमा स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठसहित नेकपा एमालेका ४ जना मन्त्री बर्खास्त गर्ने तयारी भएको छ ।

नेपाली कांग्रेसले विश्वासको मत लिनुभन्दा पहिला एमालेका मन्त्रीहरु बर्खास्त गर्नुपर्ने सन्देश पठाएपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेल दबावमा परेका हुन् । आज बस्ने प्रदेशसभाको बैठकबाट उनले विश्वास मत लिने तयारी गरेका छन् ।

नेपाली कांग्रेसले मुख्यमन्त्रीमा आलोपालो गर्नु पर्ने अडान लिएको छ । कांग्रेसको अडान कायम रहेकाले विश्वासको मत लिन मुख्यमन्त्री जम्कट्टेल अलमलमा परेका छन् । तर, एमालेका मन्त्रीहरू बर्खास्त गर्न भनी उनी सकारात्मक रहेकाे कांग्रेसका नेताहरू बताउँछन् ।

नेकपा एमालेका तर्फबाट स्वास्थ्यमन्त्रीमा श्रेष्ठ, आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, श्रम, रोजगार तथा यातायातमन्त्री एकलाल श्रेष्ठ र कृषि तथा पशुपन्छी विकासमन्त्री केशवप्रसाद पोखरेल रहेका छन् ।

नेकपा एमाले संघीय सरकारबाट फिर्ता भएपनि प्रदेश सरकारमा ‘ढोक्सा’ थापेर बसिरहेको छ । राप्रपा सरकारबाट फिर्ता भइसकेको छ । तर, एमाले बागमती प्रदेशमा टाँसिएर बसिरहेको छ । कांग्रेसको प्रस्ताव अनुसार मुख्यमन्त्री जम्कट्टेल स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमालेका मन्त्रीहरू बर्खास्त गर्ने तयारीमा जुटेका हुन् ।

यता आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले भने एमाले सरकारबाट बाहिरिने संकेत गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलले बर्खास्त गर्नुभन्दा अगाडि नै एमालेका मन्त्रीहरूले राजीनामा दिने सम्भावना देखिन्छ । त्यसका लागि एमालेले बैठकबाट निर्णय गर्ने तयारी गरेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एमाले, #बागमती प्रदेश सरकार, #मुख्यमन्त्री शालिकराम जम्कट्टेल बागमती प्रदेश, #स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ बागमती प्रदेश

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com