बागमती प्रदेश सरकार

एमालेले स्वास्थ्यसहित ४ मन्त्रालय पाउँदा कांग्रेसको भागमा कति पर्ला ?


काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदैछन् ।  दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने तयारी गरेका हुन् ।

गत पुस २५ गते नेेकपा एमाले, राप्रपा, नेकपा एकीकृत समाजवादी र हाम्रा नेपाली पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेलले ३ महिना नपुग्दै आज फेरि विश्वासको मत लिन खोजेका हुन् । मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत नलिँदै नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् ।

नेकपा एमालेका तर्फबाट स्वास्थ्यमन्त्री रहेका रामेश्वर श्रेष्ठ, आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, श्रम, रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठ र कृषि तथा पशुपन्छी विकासमन्त्री केशवप्रसाद पोखरेलले आजै राजीनामा दिने तयारी गरेका छन् । उनीहरूले आज प्रदेशसभा बैठकलाई सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका हुन् ।

राप्रपाका ३ मन्त्रीले यसअघि नै राजीनामा दिइसकेका छन् ।राप्रपाबाट खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री उद्धव थापासहित, पर्यटन, उद्योग तथा सहकारीमन्त्री डम्बरबहादुर तामाङ र वन तथा वातावरणमन्त्री राजु बिष्टले बागमती प्रदेश सरकारबाट राजीनामा दिइसकेका छन् । आज एमालेका मन्त्रीहरूले राजीनामा दिएपछि बागमती प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र मात्र बाँकी रहने छ ।

जम्कट्टेल मुख्यमन्त्रीमा नियुक्त हुँदा नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जना प्रदेशसभा सदस्यले प्रदेश प्रमुखसमक्ष हस्ताक्षर बुझाएका थिए। राप्रपाको १३ र एमालेका २७ सांसदको समर्थन फिर्ता हुने भएपछि उनले विश्वासको मत लिन खोजेका हुन् । अब उनलाई कांग्रेसका ३७ सांसदले विश्वासको मत दिनेछन् ।

एक सय १० जना प्रदेशसभा सदस्य रहेको बागमती प्रदेशसभामा ५६ जनाको सर्मथन भए बहुमत पुग्छ । त्यसका नेपाली कांग्रेसको ३७ र नेकपा माओवादी केन्द्रका २१ सांसदले विश्वासको मत प्राप्त गरेमात्र मुख्यमन्त्री जम्कट्टेललाई बहुमत पुग्छ । उनलाई नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जना प्रदेशसभा सदस्यले पनि विश्वासको मत दिने निश्चित छ ।

बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ११ मन्त्रालय रहेको छ । २१ सिट भएको नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानुन, सामाजिक विकास र भौतिक पूर्वाधार विकास मन्त्रालय पाएको छ ।

१३ सिट रहेको राप्रपाले ३ मन्त्रालय र २७ सिट रहेको एमालेले ४ मन्त्रालय पाउँदा ३७ सिट रहेको कांग्रेसले बागमती प्रदेश सरकारमा कति मन्त्रालय पाउँला अहिले चासोको विषय रहेको छ । २१ सिटको माओवादी केन्द्रले मुख्यमन्त्रीसहित ४ मन्त्रालय पाउँदा कांग्रेसले स्वास्थ्यसहित घटीमा पनि ५ मन्त्रालय पाउनु पर्ने देखिन्छ । १३ सिटको राप्रपाले ३ मन्त्रालय पाएकाले ७ सिटे एकीकृत समाजवादीले बढीमा २ मन्त्रालय पाउने सम्भावना छ । २ सिट रहेको हाम्रो नेपाली पार्टीले राज्यमन्त्री वा संसदीय समितिको सभापति पाउने सम्भावना छ ।

कांग्रेसले अहिले एमालेको भागमा रहेको स्वास्थ्य, आर्थिक योजना, श्रम, रोजगार तथा यातायात र कृषि तथा पशुपन्छी विकास मन्त्रालयमासहित थप १ मन्त्रालय पाउने सम्भावना छ । मुख्यमन्त्री जम्कट्टेलले कांग्रेसलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय थप गरिदिएर नेकपा एकीकृत समाजवादीलाई  खानेपानी, ऊर्जा तथा सिँचाइ र वन तथा वातावरण मन्त्रालय दिने गरी कसरत थालेका छन् । यसमा लगभग सहमति जुट्ने सम्भावना रहेको माओवादी केन्द्रका नेताहरू सुनाउँछन् ।

३७ सिट रहेको नेपाली कांग्रेसलाई २७ सिट रहेको एमालेभन्दा थप एउटा बढी मन्त्रालय दिँदा न्यायोचित हुने दुबै पक्षको ठम्याइ छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #नेपाली कांग्रेस, #बागमती प्रदेश सरकार, #मुख्यमन्त्री शालिकराम जम्कट्टेल बागमती प्रदेश, #स्वास्थ्य मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com