प्रशासनका सचिव दुई निकायमा रिक्त, एक मात्र बढुवा गर्न मिल्ने


काठमाडौं। वर्तमान परिस्थितिमा नेपाल प्रशासन सेवाको सचिव दुई निकायमा रिक्त देखिन्छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय सतर्कता केन्द्रमा नेपाल प्रशासन सेवाका सचिव रिक्त छन्। तर, दुई कार्यालयमा सचिव रिक्त भएपनि तत्कालका लागि एक मात्र सचिव बढुवा गर्न मिल्ने देखिन्छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कर छुट प्रकरणमा सचिव डण्डुराज घिमिरे निलम्बितमा परेका छन्। उनको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्तमा राखिएको छ। घिमिरेको दरबन्दी रिक्त मानेर अर्को सचिव बढुवा गर्न मिल्ने देखिँदैन। त्यसैले तत्काल एक मात्र सचिव बढुवा हुने सम्भावना छ।

रूद्र, आभा र चक्र सिफारिस हुने

रिक्त एक सचिवका लागि रूद्रसिंह तामाङ, आभा श्रेष्ठ र चक्रबहादुर बुढाको सिफारिस हुने देखिन्छ। पहिलो नम्बरमा रूद्रसिंह कै नाम सिफारिस हुने भएकाले उनी नै सचिवमा बढुवा हुने निश्चित छ। किनकी पछिल्लो समय सरकारले सचिव बढुवा गर्दा बरियता मिचेको छैन।

आभा सचिव बढुवा हुनका लागि असोज १८ गते राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थ अनिवार्य अवकाशमा जानुपर्ने हुन्छ। चक्र सचिवमा बढुवा हुनका लागि महिला, बालबालिका, यौनिक तथा लैङ्गिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णबहादुर राउत पूस २० अनिवार्य अवकाशमा जाउञ्जेलसम्म पर्खिनुपर्छ। ३०-५५ को ‘केस’ आयो भने चाहिँ यो ‘गेम’ पुरै उल्टिन्छ।

पिछडिएको क्षेत्रको पहिलो सचिव

चक्रबहादुर बुढा पिछडिएको क्षेत्रबाट पहिलो सचिव बन्दैछन्। पिछडिएको क्षेत्रबाट पहिलोपटक सहसचिव भएका चक्र उक्त क्षेत्रबाट सचिव बन्दैछन्। पिछडिएको क्षेत्रकाे जिल्ला जाजरकोटबाट लाभ लिएका चक्रलाई उक्त कोटाको न्यायका लागि कम्तिमा एक वर्ष कर्णाली प्रदेशको प्रमुख सचिवमा खटाउन उपयुक्त हुन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #आभा श्रेष्ठ, #चक्रबहादुर बुढा, #रुद्रसिंह तामाङ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ