कांग्रेसमा सकस: स्वास्थ्यमन्त्रीमा पौडेल की लिम्बु ?


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल पुनर्गठनको अन्तिम तयारी गरेका छन् । उनले नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टीलगायतलाई मन्त्रिमण्डलमा समेट्ने प्रयास गरेका छन् ।

प्रचण्डले नेपाली कांग्रेसलाई स्वास्थ्यसहित ८ मन्त्रालय दिने प्रस्ताव गरेका छन् । कांग्रेसले भने ९ मन्त्रालयको दाबी गरेको छ । एकीकृत समाजवादीले ३ वटा मन्त्रालय पाउने अडान लिएको छ । समाजवादीबाट बेदुराम भुसाल, प्रकाश ज्वाला, भानुभक्त जोशीमध्येबाट मन्त्री बन्ने सम्भावना छ ।

कांग्रेसबाट पूर्णबहादुर खड्का वा प्रकाशमान सिंहमध्ये एकजना नेतृत्व गरेर सरकारमा जानेछन् । कांग्रेसको भागमा परेको भनिएको स्वास्थ्य मन्त्रालयको नेतृत्व प्रदीप पौडेल वा डिकबहादुर लिम्बुमध्ये एकजनाले गर्ने सम्भावना रहेको कांग्रेस नेताहरू बताउँछन् । प्रदीपलाई गगन कुमार थापा र डिकबहादुरलाई डा. शेखर कोइराला स्वास्थ्यमन्त्रीमा पठाउन चाहेका छन् । शेखरले अडान लिने हो भने कांग्रेस मोरङका सभापति समेत रहेका डिकबहादुर लिम्बु स्वास्थ्यमन्त्री बन्ने प्रवल सम्भावना रहेको कांग्रेस नेताहरू सुनाउँछन् ।

कांग्रेसबाट अर्थमन्त्रीमा प्रकाशशरण महत र परराष्ट्रमन्त्रीमा आरजु राणा देउवाको चर्चा छ । सिता गुरुङ महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री बन्ने सम्भावना छ ।

धनराज गुरुङ रक्षामन्त्री र एनपी साउद ऊर्जामन्त्री बन्ने प्रयासमा छन् । पूर्णबहादुर खड्का मन्त्री नबने रामहरि खतिवडा मन्त्री बन्नेछन् । डा. शशांक कोइरालाको कोटाबाट दीपक खड्कामन्त्री बन्न खोजिरहेका छन् ।

रमेश रिजाल, किशोरसिंह राठौर, राजन केसी, दीपक गिरी, वीरबहादुर बलायरलगायत कांग्रेसबाट मन्त्री बन्ने दौडधुमा लागेका छन् । कांग्रेसभित्र मन्त्रीका आकांक्षी बढ्दा व्यवस्थापन चुनौती बनेको छ ।

कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक राखेर मन्त्रिमण्डलमा पठाउने नाम टुंगो लगाउने भएको छ । प्रधानमन्त्री प्रचण्डले दुई दिनभित्र मन्त्रिमण्डललाई पूर्णता दिने तयारी थालेका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #डिकबहादुर लिम्बु, #धनराज गुरुङ, #प्रकाशशरण महत, #प्रदीप पौडेल, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com