डा. शेखरले डिगबहादुर च्याप्दा स्वास्थ्यमन्त्री बन्नबाट बञ्चित भए प्रदीप


काठमाडौं । आज बिहानसम्म कांग्रेसबाट स्वास्थ्यमन्त्री बन्नेमा प्रदीप पौडेलको नाम निश्चित जस्तै थियो । प्रदीप स्वास्थ्यमन्त्री बन्ने निश्चित जस्तै हुनुको कारण थियो उनको पक्षमा कांग्रेसका दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माको लबिइङ ।

महामन्त्रीद्वयले प्रदीपलाई जसरी भएपनि स्वास्थ्यमन्त्री बनाउन लबिइङ गरे । तर, उनको पक्षमा डा. शेखर कोइराला देखिएनन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शेरबहादुर देउवाको प्यानलबाट महामन्त्री लडेका प्रदीपलाई शेखरले स्वास्थ्यमन्त्री बनाउन साथ दिएनन् । किनकि उनलाई मोरङमा पकड जमाउन दरबिलो साथ दिने डिगबहादुर लिम्बूलाई जसरी भएपनि मन्त्री बनाउनु पर्ने थियो ।

नेपाली कांग्रेसले स्वास्थ्यसहित ८ मन्त्रालय पाउने भएपछि शेखर-गगन समूह तीन मन्त्रालयमा दाबी गर्‍यो । शेखर-गगन समूहलाई पार्टी सभापति शेरबहादुर देउवाले दुईवटा मन्त्रालयमात्र दिन सकिने अडान लिए । त्यस्तो अवस्थामा एउटा मन्त्री पार्टी उपसभापति धनराज गुरुङ बन्ने निश्चित थियो ।

शेखरले पहिलादेखि नै डिगबहादुरलाई मन्त्री बनाउन लबिइङ गरिरहेका थिए । तीनवटा मन्त्रालय पाए मात्र प्रदीपलाई साथ दिन सकिने शेखरले बताएका थिए । त्यही अनुसार प्रदीपका लागि भनेर उक्त समूहले तीनवटा मन्त्रालय माग्यो । तर, देउवाले दुईभन्दा बढी मन्त्रालय नदिने भएपछि शेखरले डिगबहादुरको नाममा अडान लिए । उनको अडानले प्रदीप स्वास्थ्यमन्त्रीको ‘रेस’बाट आउट भए । 

शेखरले डिगबहादुर स्वास्थ्य मन्त्रालयमा पठाउन चाहेका थिए । स्वास्थ्यमा कांग्रेसका प्रभावशाली नेता मोहनबहादुर बस्नेतले दाबी गरेपछि डिगबहादुर कानुनमन्त्रीमा जान बाध्य भए । मोहनले गृह मन्त्रालय मागेका थिए । नेकपा माओवादी केन्द्रले गृह मन्त्रालय आफैं राखेपछि उनले स्वास्थ्य खोजे । पूर्व सञ्चारमन्त्री समेत रहेका मोहनले रोजेकै स्वास्थ्य मन्त्रालय पाएका छन् । यता स्वास्थ्यमन्त्री खान ठिक्क परेका प्रदीप भने ‘हिस्स बुढी खिस्स दाँत’ भने जस्तै भएका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #डा. शेखर कोइराला, #डिकबहादुर लिम्बु, #प्रदीप पौडेल, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com