सिंहदरबारमा फोहोरको डंगुर तर संघीय मन्त्रालयको टोली फोहोर हेर्न मोरक्कोमा


काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोर उठाउँदा सिंहदरबारमा फोहोरको डंगुर देख्न थालिएको छ । संघीय सरकारले समन्वय र सहयोग नगरेको आरोप लगाउँदै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सिंहदरबारलगायतको फोहोर नउठाउन निर्देशन दिएका छन् ।

मेयर शाहको निर्देशनपछि सिंहदरबारमा फोहोरको डंगुर देखिएको हो । तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जम्बो टोली काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई लिएर फोहोर हेर्न मोरक्को प्रस्थान गरेको छ ।

संघीय मामिला मन्त्रालयकी सहसचिव स्किम श्रेष्ठ अधिकारीसहितको जम्बो टोली लिएर फोहोरको अवस्था हेर्न उत्तरी अफ्रिकाकी राष्ट्र मोरक्को पुगेका बेला सिंहदरबार नै फोहोरको ‘डम्पिङ साइट’ बनेको छ ।

संघीय मामिला मन्त्रालयका जनशक्ति विकास तथा योजना शाखाका उपसचिव रामुराज कडरियाका अनुसार स्किमको टोली शनिबार नै मोरक्को गएको हो । फोहोरसम्बन्धी कार्यक्रममा सहभागी हुन उक्त टोली अफ्रिकाको मोरक्को गएको हो । उक्त कार्यक्रम सरकार कै हो की आईएनजीओको भन्ने स्वास्थ्य लाइभको प्रश्नमा कडरियाले आफूलाई जानकारी नभएको बताए ।

फोहोर हेर्न मोरक्को उड्ने टोलीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय संघीय मामिला महाशाखा प्रमुख सहसचिव स्किम श्रेष्ठ, काठमाडौं महानगरपालिकाका कार्यकारी वसन्त अधिकारी र संघीय मामिला शाखाका उपसचिव तुलसीराम अर्याल रहेका छन् । त्यस्तै सामान्य प्रशासन मन्त्रालयको कर्मचारी कल्याण शाखका उपसचिव हरिप्रसाद ज्ञवाली, कानुन तथा फैसला कार्यान्वयन शाखाका उपसचिव महेन्द्रप्रसाद साँखी र जनशक्ति विकास तथा योजना शाखाका अधिकृत सागर केसी रहेका छन् ।

सरकारले कर्मचारीलाई विदेश भ्रमणमा कडाई गरेका बेला संघीय मामिला मन्त्रालयको जम्बो टोली फोहोर हेर्न मोरक्को गएको पाइएको छ । सिंहदरबारमै फोहोर हेर्न छाडेर उक्त टोली मोरक्को गएपछि विभिन्न टिकाटिप्पणी हुन् थालेको छ । मेयर बालेनले सिंहदरबारमा बस्नेलाई फोहोरको अनुभूति दिलाउन खोज्दा उनीहरू भने उक्त अनुभूति लिन मोरक्को पुगेको देखिन्छ ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी मोरक्को गएको बताए । उनी ३ गते फर्कने कार्यक्रम रहेको उनले जनाए । कसको कार्यक्रममा गएको भन्ने विषयमा भने आफूहरूलाई जानकारी नभएको प्रवक्ता मानन्धरको भनाइ छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : ## वसन्त अधिकारी, #फोहोर मोरक्को, #संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, #सहसचिव स्किम श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com