समुदायको भावना अनुसार वडा र स्वास्थ्य भवन बन्छ: प्रकाशमान सिंह


काठमाडौं । प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर एकबाट निर्वाचित प्रकाशमान सिंहले समुदायको भावना अनुसार वडा भवन र स्वास्थ्य भवन बनाउनु पर्ने बताएका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर २९ को वडा भवन अनामनगरमा बनाउने विषयमा समुदायसँग भएको छलफलमा उनले यस्तो बताएका हुन् ।

अनामनगरस्थित समाजिक विकास समाजको सभाहलमा भएको छलफलमा संघीय सांसद सिंहले वडा भवन र स्वास्थ्य भवन बनाउन जनभावनाको कदर गरिने धारणा राखे । वडा नम्बर २९ मा सुविधासम्पन्न स्वास्थ्य प्रयोगशाला बनाउने उनको भनाइ छ । अपांगमैत्री भवन निर्माणमा ध्यान दिनुपर्ने नेता सिंहको प्रतिक्रिया छ ।

सांसद सिंहले आफ्नो निर्वाचन क्षेत्रभित्र रहेका सरकारी/ सार्वजनिक जग्गा संरक्षणमा आफूहरू मुद्दा समेत लड्न तयार रहेको बताए । उनले बागमती प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठक अगुवाइमा काठमाडौंका धेरै सार्वजनिक/सरकारी जग्गा संरक्षण गरिएको जानकारी दिए ।

बागमती प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठले पनि वडा भवन र स्वास्थ्य भवन समुदायको सहमतिमै अगाडि बढाउनु पर्ने धारणा राखे । उनले आफूले काठमाडौंका धेरै सरकारी जग्गा संरक्षण गरेको सुनाए । संघीय सांसद प्रकाशमान सिंहकै निर्देशनमा ती जग्गा भूमाफियाको कब्जाबाट फिर्ता ल्याइएको सांसद दिपेन्द्रले बताए ।

अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कूलले हडपेको जग्गामा अझै स्कूलले पार्किङ गरिरहेको भन्दै प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठले आपत्ति जनाए । उनले काठमाडौं महानगरपालिकालाई मेयर बालेन्द्र शाहलाई अक्सिडेन्टल पब्लिक स्कूलले हडपेको जग्गा पूर्ण रुपमा फिर्ता ल्याउन आग्रह गरेका छन् ।

प्रदेशसभा सदस्य शान्ता ढकालले पनि वडा भवन बनाउने विषय र अक्सिडेन्टल पब्लिक स्कूलले हडपेको जग्गाको विषयमा धारणा राखिन ।

काठमाडौं महानगरपालिका वडा नम्बर २९ ले अनामनगरस्थित ८ नम्बर कित्तामा वडा भवन बनाउन लागेको छ । उक्त वडाका वडाध्यक्ष कुश ढकालले त्यहिँ कित्तामा वडा भवन बनाउने निर्णय भएको सुनाए । तर, उक्त जग्गा संरक्षण गरिरहेको सामाजिक विकास समाजका पदाधिकारी र स्थानीयले भने त्योभन्दा बढी क्षेत्रफल अक्सिडेन्टल पब्लिक स्कूलले हडपेको जग्गा र त्यसै छेउको जग्गा उपयुक्त हुने बताए ।

सार्वजनिक जग्गा संरक्षणको पक्षमा वकालत गरिरहेका वरिष्ठ अधिवक्ता मातृका निरौलाले अक्सिडेन्टल पब्लिक स्कूलले हडपेको जग्गामै वडा भवन बनाउन उपयुक्त हुने बताए । उनले अन्य जग्गाभन्दा त्यो जग्गामा वडा भवन बनाउन ठिक रहेको दाबी गरे । पूर्व न्यायाधीश युवराज सुवेदी र अधिवक्ता गुरूभक्त निरौलाले अक्सिडेन्टल पब्लिक स्कूलले हडपेको जग्गामै वडा भवन बनाउनु पर्ने धारणा राखे ।

सामाजिक विकास समाजका अध्यक्ष ओम उप्रेतीले कित्ता नम्बर ८ को १ रोपनी १ आना जग्गाभन्दा अक्सिडेन्टल पब्लिक स्कूलले हडपेको १ रोपनी ९ आना र सँगैको १ रोपनी ६ आना वडा भवन बनाउन उपयुक्त हुने बताए । उनले दुईतिर पार्क बनाएर बीचको १ रोपनी ६ आना जग्गामा वडा भवन बनाउनु पर्ने धारणा राखे ।

समाजिक विकास समाजका उपाध्यक्ष गोपालकृष्ण गड्तौलाले पनि अक्सिडेन्टल पब्लिक स्कूलले हडपेको जग्गामा वडा भवन बनाउन प्रस्ताव राखे । समाजका महासचिव रक्षा रैका मगरले वडा भवन बनाउने भवनमा आफूहरु खुला रहेको बताए । ‘समाजले सरकारी जग्गा संरक्षण गरिदिएका छौं यहाँ वडा भवन बनाउनु पर्छ तर समुदायको भावना अनुसार बन्नुपर्छ ।’, महासचिव रैकाले बताए ।

पूर्व प्रशासक कूल प्रसाद चुडालले जनभावना अनुसार वडा भवन बनाउनु पर्ने बताए । स्थानीयहरुले वडाले पेलेर गए आफूहरू चुप नबस्ने चेतावनी दिएका छन् । भेलामा उपस्थित अक्सिडेन्टल पब्लिक स्कूलका सञ्चालकहरू भने चुपचाप बसे ।

वडाध्यक्ष ढकाल आफूले निर्णय गरेको ठाउँमा वडा भवन बनाउने पक्षमा उभिएपछि विवाद समेत भएको थियो । उनीप्रति स्थानीयले आक्रोश पोखे । वडा नम्बर २९ ले वडा भवन बनाउका लागि संघीय सरकारबाट जग्गा प्राप्त गरेको भने देखिँदैन ।

 

क्याटेगोरी : समाचार
ट्याग : #अक्सिडेन्टल पब्लिक स्कूल ( ओपीएस), #वडा नम्बर २९, #वडा भवन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com