काठमाडौं महानगरपालिकाले सबै अस्पतालमा १० प्रतिशत शय्या निःशुल्क गराउँदै


काठमाडौं । काठमाडौं महानगरपालिकाले सबै स्वास्थ्य संस्थामा १० प्रतिशत शय्या निःशुल्क गराउने तयारी थालेको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको निर्देशनमा महानगरपालिभित्र सञ्चालित सबै स्वास्थ्य संस्था (अस्पतालम) १० प्रतिशत शय्या निःशुल्क रुपमा उपलब्ध गराउन खोजेको हो ।

काठमाडौं महानगरपालिकाका स्वास्थ्य समिति प्रमुख चिनीकाजी महर्जनले अनुगमन समितिको बैठक बसेर यो विषयमा निर्णय लिइने बताए । यस विषयमा भोलि बैठक बस्न लागेको उनको भनाई छ ।

महानगरपालिकाका मेयर शाहले महानगरभित्र सञ्चालित स्वास्थ्य संस्थाले १० प्रतिशत शय्या छुट्याएर विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गराए/नगराएको विषयमा अनुगमन गर्न निर्देशन दिएका छन् । उनको निर्देशनसँगै महानगरपालिकाले स्वास्थ्य संस्थाहरुको अनुगमन गर्न लागेको हो ।

स्वास्थ्य समितिका प्रमुख महर्जनले काठमाडौं महानगरपालिकाभित्र सञ्चालित स्वास्थ्य संस्थाले १० प्रतिशत निःशुल्क सेवा उपलब्ध गराएको छ की छैन भनेर अनुगमन गर्न लागेको जानकारी दिए । मेयर शाहले स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेका छन् । त्यसैले अनुगमन समिति सक्रिय बन्न लागेको हो ।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि सबै स्वास्थ्य संस्थालाई १० प्रतिशत शय्या छुट्याएर विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गर्न निर्देशन दिएको छ ।अटेर गर्ने स्वास्थ्य संस्थालाई प्रचलित कानून बमोजिम कारबाही हुने मन्त्रालयको चेतावनी छ ।

स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ को दफा ७० (घ) मा अस्पतालमा उपचारको लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीको लागि कूल शय्याको दश प्रतिश शय्या छुट्याई निःशुल्क उपचार अनिवार्य रुपमा गराउनु पर्ने व्यवस्था छ ।  उक्त मापदण्डमा टेकेर स्वास्थ्य मन्त्रालय कठोर बनेको हो । स्वास्थ्य मन्त्रालयभन्दा यो विषयमा काठमाडौं महानगरपालिका झन कठोर बनेको छ ।

काठमाडौं महानगरपालिकाले रेफरल अस्पताललाई महानगरभित्रका जनतालाई सेवा सुविधा उपलब्ध गराउन समेत पहल गर्ने भएको छ । यसका लागि महानगरपालिकाले विशेष गृहकार्य गरिरहेको हो ।

काठमाडौं महानगरपालिकाको स्वास्थ्य सल्लाहकारको भूमिका वरिष्ठ चिकित्सक चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्व डीन प्रा.डा. जगदीशप्रसाद(जेपी) अग्रवाल रहेका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #१० प्रतिशत शय्या निशुल्क, #काठमाडौं महानगरपालिका, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #चिनीकाजी श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com