थापागाउँमा ‘नून छरेको’ पर्ती जग्गा खाने डा. उप्रेती परिवार के गर्दैछ ?


काठमाडौं । नयाँ बानेश्वर थापागाउँस्थित पाटनका कुलनरसिंह शाक्यले नून छरेर छाडेको पर्ती जग्गा खाने डा. प्रेमरमण उप्रेती र दिपकरमण उप्रेती परिवार चलखेलमा लागेको बुझिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत छानबिन गरिरहेको उक्त जग्गामा विषयमा डा. उप्रेती परिवार अब अख्तियार मिलाउनुको विकल्प छैन भन्दै हिँड्न थालेका छन् । थापागाउँका स्थानीयहरूका अनुसार डा. उप्रेती परिवार उक्त जग्गा जोगाउन अख्तियारको च्यानल मिलाउने खोजीमा छन् । त्यसका लागि दौडधुपमा लागेको स्थानीयको दाबी छ ।

स्थानीयहरुले सार्वजनिक प्रयोजनका लागि प्रयोग गर्दै आएको उक्त जग्गा डा. उप्रेती परिवारले पाठशाला स्कुललाई पार्किङका लागि भाडामा दिएपछि मात्र पर्ती जग्गा व्यक्तिको भएको थाहा पाएका थिए । शाक्यले नून छरेर छाडेको पर्ती जग्गा डा. उप्रेती परिवारको नाममा कसरी पुग्यो भन्ने रहस्यको विस्तृत खुलासा स्वास्थ्य लाइभले गरिसकेको छ ।

तत्कालीन महादेवस्थान गा.वि.स. छ (ख) कित्ता नम्बर ७९ को को करिब २ रोपनी जग्गा पाटनका व्यापारी कुलनरसिंह शाक्यले नून छरेर छाडेपछि पर्ती जानिएको थियो ।  ७ नम्बर पर्ती (सरकारी) उल्लेख भएको जग्गा मालपोतका कर्मचारी र उप्रेती परिवारको मिलेमतोमा दुषित दर्ता गरिएको स्वास्थ्य लाइभले फेला पारेको हो ।

फिल्डबुकमा विभिन्न रङको मसी प्रयोग गर्ने, केरमेट गर्नेदेखि अनावश्यक व्यक्तिको नक्कली हस्ताक्षर गरेको देखिन्छ । पर्ती जग्गालाई प्रर्ती बनाएर केरमेट गर्नेदेखि धेरै कुरा अदलबदल गरेको पाइन्छ । कुलनसिंहले २ रोपनी नून छरेर छाडेकोमा १५ आना मात्र डा. उप्रेती परिवारको दर्ता भएको छ । बाटोमा परेको जग्गा छाडेर बाँकी रहेको १५ आना मात्र जग्गा उनीहरुको नाममा दुषित दर्ता भएको हो ।

यसमा पर्ती जग्गाको दुषित दर्ता मात्र भएको छैन । किर्ते समेत गरेर पर्ती जग्गा डा. उप्रेती परिवारको नाममा पुगेकाले अख्तियारले किर्तेमा थप छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)लाई निर्देशन दिनुपर्ने देखिन्छ ।

स्थानीयहरुका अनुसार डा. प्रेमरमण ललितपुरको बालकुमारीमा बस्दै आएका छन् । उक्त पर्ती जग्गा किर्ते गरेर खाने दिपकरमण क्यानडामा बस्दै आएका छन् । उनलाई इन्टरपोलमार्फत नेपाल झिकाएर किर्तेमा कारबाही गर्नुपर्ने स्थानीयको माग छ ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #अख्तियार दुरुपयोग अनुसन्धान आयोग, #किर्ते दर्ता, #डा. प्रेमरमण उप्रेती, #थापागाउँ पर्ती जग्गा, #पाठशाला स्कूलको पार्किङ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com