स्वास्थ्य लाइभ प्रभाव

प्रस्तावित स्वास्थ्य पार्कको अतिक्रमण हट्यो, राधाकृष्ण मन्दिर वर्कशपले छाडेन


काठमाडौं । प्रस्ताविक बिनायकनगर स्वास्थ्य पार्कको अतिक्रमण हटेको छ । स्वास्थ्य लाइभले मदन भण्डारी मेमोरियल कलेज नजिकैको जग्गा अतिक्रमण भएको खुलासा गरेपछि उक्त संरचना हटाइएको हो । उक्त ठाउँमा बागमती प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठले संरचनारहित खुल्ला स्वास्थ्य पार्क बनाउने योजना बनाएका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० सँगको सहकार्यमा उनले अतिक्रमण हटेको उक्त ठाउँमा स्वास्थ्य पार्क बनाउन लागेका हुन् । यसै आर्थिक वर्ष बजेट विनियोजन गरेर स्वास्थ्य पार्क बनाउन पहल गर्ने सांसद श्रेष्ठको भनाइ छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडा सदस्य नरोज अर्यालले वडाको निर्देशनपछि सरकारी जग्गामा बनाइएको अतिक्रमित टहरो भत्काइएको बताए ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० धोबीखोला करिडोरस्थित सिट नम्बर १०२-११४६-०६ को कित्ता नम्बर ६ को १४ आना १ दाम सरकारी जग्गामा स्वास्थ्य पार्क बन्न लागेको हो । उक्त जग्गामध्ये ५ आना जग्गा कब्जा गरेर भट्टी पसल सञ्चालन गर्ने काम भइरहेको थियो । प्रदेश सभा सदस्य श्रेष्ठ र वडा कार्यालयको सयुक्त प्रयासमा उक्त संरचना भत्काइको छ ।

राधाकृष्ण मन्दिरमा बनाइएको निजी वर्कशप

त्यो सँगै जोडिएको कित्ता नम्बर १६८ को ५ आना ३ पैसा सरकारी जग्गा भने एकजना मारवाडी समुदायका व्यक्तिले कब्जा गरेर मोटरसाइकल वर्कशपलाई भाडामा दिएका छन् । मालपोत कार्यालयको रेकर्डमा हेर्दा उक्त जग्गा बकाइदा सरकारी छ । तर, ती मारवाडी समुदायका व्यक्तिले मेरो जग्गा हो भन्दै दाबी गरेको वडा सदस्य अर्यालले बताए । त्यो विषयमा स्वास्थ्य लाइभले खोजी गरिरहेको छ ।

त्यसो त त्यो जग्गा २०६४ सालमा नै राधाकृष्ण मन्दिर सत्संघ समितिको नाममा सिफारिस भएको देखिन्छ । मन्दिरको नाममा सिफारिस जग्गामा पनि मारवाडी समुदायका ती व्यक्तिको गिद्दे दृष्टि परेको देखिन्छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० को कार्यालयसँगै अतिक्रमित संरचना पनि वडा कार्यालयले भत्काएको छ । उक्त ठाउँमा पुरै खाली बनाएर पार्क बनाउन लागिएको वडा सदस्य अर्यालले जानकारी दिए । तत्कालीन बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले उक्त ठाउँमा पार्क बनाउन ४५ लाख रुपैयाँ बजेट विनियोजन गरिदिएका छन् । त्यो ठाउँमा स्वास्थ्य, खेलकुद र मनोरञ्जन पार्क बनाउने तयारी छ ।

वडा भवनभित्र भत्काइएको अतिक्रमित संरचना

तत्कालीन सामुदायिक सेवा केन्द्रका अध्यक्ष श्रेष्ठकै अगुवाईमा उक्त अतिक्रमित सरकारी जग्गा संरक्षण गरिएको हो । ५ रोपनी बढी क्षेत्रफलमा फैलिएको उक्त जग्गाको एउटा भागमा वडा कार्यालय भवन रहेको छ । अब त्यो ठाउँमा वडा कार्यालय र प्रदेश सरकार मिलेर भव्य पार्क बनाउने काम भइरहेको छ ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #काठमाडौं महानगरपालिका, #दिपेन्द्र श्रेष्ठ प्रदेश सांसद, #धोवीखोला करिडोर राधाकृष्ण मन्दिर, #नरोज अर्याल वडा सदस्य कामनपा-१०, #मदन भण्डारी मेमोरियल कलेज, #विनायक नगर

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com