वीपी प्रतिष्ठानका पूर्वउपकुलपति दास भ्रष्टाचारी ठहर


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका पूर्वउपकुलपति बलभद्रप्रसाद दास भ्रष्टाचारी ठहर भएका छन् ।

उनलाई विशेष अदालतले १ वर्ष कैद र २५ हजार रुपैंयाँ जरिवाना हुने ठहर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ साल असार ३० गते उपकरण(वस्तु) तथा सेवा खरिदमा भ्रष्टाचार गरेको भन्दै उनीसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दाको अन्तिम फैसला गर्दै विशेष अदालतले दासलाई भ्रष्टाचारी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीश न्यायाधीश खुसीप्रसाद थारु र बलभद्र बाँस्तोलाको संयुक्त इजलासले दासलाई १ वर्ष कैद र २५ हजार रुपैंयाँ जरिवाना हुने ठहर गरेको हो ।

विशेष अदालतले वीपी प्रतिष्ठानका तात्कालीन उपकुलपति दाससहित ३ जनालाई जनही १ वर्ष कैद र २५ हजार जरिवाना हुने ठहर गरेको छ ।  दाससहित नन्दकुमार थापा र अरविन्दकुमार सिन्हा दोषी ठहर गर्दै जनही १ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको हो ।

दाससहित ३ जना दोषी ठहर भएपनि अन्य ५ प्रतिवादी सफाई पाएका छन् ।  विशेष अदालतका अनुसार सफाई पाउनेमा वीपी प्रतिष्ठानका तत्कालीन रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, डेपुटी मेनेजर अमित श्रीवास्तव, लेखा प्रमुख दिनेशराज दाहाल, उपकरण सप्लायर्स कम्पनीका सञ्चालकहरु चेतन अग्रवाल र उमेश अग्रवाल रहेका छन् ।

वीपी प्रतिष्ठानका अर्का उपकुलपति डा. ज्ञानेन्द्र गिरी पनि अहिले विशेष अदालतमा भ्रष्टाचार मुद्दा खेपिरहेका छन् । उनी नपाएको उपाधि पाएँ भन्ने अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा खेपिरहेका हुन् ।

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : ## वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, #अख्तियार दुरुपयोग अनुसन्धान आयोग, #पूर्वउपकुलपति वीपी दास, #भ्रष्टाचारी, #विशेष अदालत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com