नर्भिक र प्रसूतिको भान्सामा महानगरको अनुगमन


काठमाडौं । नर्भिक अन्तर्राष्ट्रिय अस्पताल र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको भान्सामा काठमाडौं महानगरपालिकाले अनुगमन गरेको छ । नगर प्रहरीसहित काठमाडौं महानगरपालिका वडा नम्बर ११ का वडा सदस्यहरू नर्भिक र प्रसूतिको भान्सा अनुगमन गर्न पुगेका हुन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर ११ का वडा सदस्य दिपेश राउतका अनुसार नर्भिक र प्रसूतिको भान्साको अवस्था अनुगमन गर्न महानगरको टोली पुगेको हो ।

अनुगमनका क्रममा नर्भिक र प्रसूति दुबै अस्पतालको भान्सा अव्यवस्थित रहेको पाइएको अनुगमन टोलीका सदस्य राउतले स्वास्थ्य लाइभलाई जानकारी दिए । ‘नर्भिकको भान्सा ठीकै थियो तर प्रसूतिको भान्सा धेरै अव्यवस्थित रहेछ । भान्सामा असुरक्षित रुपमा राखिएका सिलिन्डरले कुनैपनि बेला ठूलो दुर्घटना निम्ताउने खतरा देखियो ।’, उनले भने ।

नर्भिक र प्रसूतिको भान्साको अवस्थामा हेरेर त्यहाँ अपनाउनु पर्ने सुरक्षा र व्यवस्थित भान्साका लागि महानगरले मापदण्ड बनाउनु पर्ने सदस्य राउतको सुझाव छ । वडा सदस्य राउत, वडा सदस्य आशा श्रेष्ठ, नगर प्रहरीसहितको टोली नर्भिक र प्रसूतिको भान्सा अनुगमन गर्न पुगेको हो ।

काठमाडौं महानगरपालिकाले पछिल्लो समय स्वास्थ्य संस्था अनुगमनमा कडाईका साथ लागेको छ । लक्षित वर्गलाई कुल शय्याको १० प्रतिशत छुट्याएर निःशुल्क उपचार गराउने व्यवस्था कार्यान्वयनदेखि व्यवस्थित भान्सा बनाउनसम्म महानगरले अनुगमन थालेको हो ।

अस्पतालको निःशुल्क पार्किङदेखि स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिकसम्ममा महानगरको चासो छ । १० प्रतिशत शय्या छुटमार निःशुल्क उपचार नगर्ने अस्पतालको सूची समेत सार्वजनिक गर्न महानगर लागेको छ । स्वास्थ्य संस्था सुधारका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) एकाएक सक्रिय भएका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : ## प्रसूति गृह, #काठमाडौं महानगरपालिका, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #दिपेश राउत, #नर्भिक अस्पताल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com