स्वास्थ्य लाइभ प्रभाव

स्वास्थ्य भवनदेखि बार्दली रेष्टुरेन्टसम्मको अनधिकृत संरचनामा डोजर लगाउने महानगरको तयारी


काठमाडौं । धोबीखोला करिडोरस्थित स्वास्थ्य भवनदेखि बार्दली रेष्टुरेन्टसम्मको अनधिकृत संरचनामा डोजर लगाउने काठमाडौं महानगरपालिका तयारी छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० थापागाउँस्थित धोबीखोला करिडोरमा १ रोपनी बढी सरकारी जग्गा हडपेर बनाइएका अनधिकृत संरचनामा महानगरले डोजर लगाउन लागेको हो । काठमाडौं महानगरपालिका वडा नम्बर १० का जनप्रतिनिधि, नापीका प्रतिनिधि र स्थानीयको उपस्थितिमा सरकारी जग्गा छुट्याउने काम भइसकेको छ ।

स्वास्थ्य लाइभले स्वास्थ्य भवनदेखि बार्दली रेष्टुरेन्टसम्मको सरकारी जग्गा हडपेर भाडा खाइरहेको तथ्य सार्वजनिक गरेपछि वडा कार्यालय तातिएको हो । वडा सदस्य सतिश तण्डुकार ती अनधिकृत संरचनामा एक दुई दिनभित्र डोजर लाग्ने बताए ।

वडा सदस्य तण्डुकार, नरोज अर्याल, वडा सचिव सुवोध खड्कासहित वडाका प्रतिनिधिहरूको सहभागिता रेखाङ्कनको काम सम्पन्न भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १० को सिट नम्बर १०२-११४६-०६ को कित्ता नम्बर ४१२, २८९, २९०, २६४ र ४ नम्बर कित्ताको सरकारी जग्गा महानगरले छुट्याएको हो ।

त्यसै क्षेत्रबाट निर्वाचित बागमती प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठको अग्रसरतामा ती सरकारी जग्गा खोज्ने कार्य भएको थियो । सांसद श्रेष्ठले मालपोत कार्यालय डिल्लीबजार र नापी कार्यालय मैतीदेवी पुगेर ती जग्गाको अवस्था बुझेका थिए । उनले कागजात उपलब्ध गराएपछि काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसीले सरकारी जग्गा छुट्याउने प्रक्रिया अघि बढाएका हुन् ।

स्थानीय सरोज गुप्ता श्रेष्ठ, अशोक कार्की, सुवर्ण खड्का, दीपक थापा, गोरूभक्त निरौल, गोमा बराल, श्याम थापालगायतले उक्त सरकारी जग्गामा भएको अतिक्रमण हटाउन पहल गरिदिन सांसद श्रेष्ठलाई आग्रह गरेका हुन् । त्यसपछि उनी प्रमाण जुटाउन मालपोत र नापी पुगेका थिए ।

रेखाङ्कनका क्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिल शर्मालगायतको पनि उपस्थित रहेको थियो । सँगैको जिल्ला निर्वाचन कार्यालय रहेको ३० नम्बर कित्ताले भने सरकारी जग्गा हालसबिक गरेर आफ्नोमा घुसाएको पाइन्छ ।

धोबीखोला करिडोरको सरकारी जग्गामा भएको अतिक्रमण हटाउन प्रदेश सांसद श्रेष्ठ, वडाध्यक्ष केसी, वडा सदस्य तण्डुकार र अर्याल सक्रियताका साथ लागिपरेका छन् । सबैभन्दा बढी सरकारी जग्गा संरक्षण गर्ने र अतिक्रमण हटाउन काठमाडौं महानगरपालिका वडा नम्बर १० अगाडि रहेको छ ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #दिपेन्द्र श्रेष्ठ प्रदेश सांसद, #बार्दली रेष्टुरेन्ट, #मदन भण्डारी कलेज, #वडा र स्वास्थ्य भवन, #वडाध्यक्ष रामकुमार केसी, #सतिश तण्डुकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com