बुद्धनगरस्थित रावल आयोगमा परेको जग्गामा खुल्यो अनलाइन हेल्थ केयर प्रालि


काठमाडौं । बुद्धनगरस्थित साबिक धोबीखोला बग्ने जग्गामा ४ तले भवन बनेर अनलाइन हेल्थ केयर प्रालि सञ्चालनमा आएको छ । रावल आयोगको रोक्का र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा रहेको उक्त जग्गामा रातारात भवन बनेर अनलाइन हेल्थ केयर प्रालि सञ्चालनमा आएको हो ।

रावल आयोगले नगर १० सिट नम्बर १०२-११४५-२५ कित्ता नम्बर १५५ को क्षेत्रफल ३ आना २ पैसा जग्गा प्रेम लालले धोबीखोला मिचेको ठहर गरेको छ । स्वास्थ्य लाइभसहितका विभिन्न सञ्चार माध्यममा उक्त कुरा सार्वजनिक भइसकेको छ । यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत विस्तृत छानबिन गरिरहेको छ । तर, यस्तो विवादित जग्गामा ४ तले भवन बन्दा समेत काठमाडौं महानगरपालिकाले अनदेखा गरिरहेको पाइन्छ ।

रावल आयोगले रोक्का राखेर र अख्तियारले विस्तृत छानबिन गरिरहेको जग्गामा काठमाडौं महानगरपालिका नीतिगत निर्णय गरेर रोक्नु पर्ने हो । सञ्चार माध्यममा आइसकेको कुरालाई गम्भीरतापूर्वक लिएर काठमाडौं महानगरपालिकाले निर्माण कार्य रोकेको भए अहिले साबिक धोबीखोला बग्ने बुद्धनगरको मुख्य सडक रहेको उक्त जग्गामा ४ तले भवन बनेर अनलाइन हेल्थ केयर प्रालि सञ्चालनमा आउने थिएन । तर, मिडियाले खबरदारी गरिरहने सम्बन्धित निकायले बेवास्ता गर्ने प्रवृत्तिले साबिक धोबीखोला बग्ने बुद्धनगरको उक्त जग्गामा ४ तले भवन बनेर स्वास्थ्य संस्था निर्वाध रुपमा सञ्चालन आएको छ ।

२०२२ सालमा नापी नक्सा हुँदा धोबीखोला बग्ने उक्त जग्गामा बनेको भवनमा मेरो अस्पताल र फार्मेसी समेत सञ्चालनमा छ । पहिलाको धोबीखोलामा बनेको त्यो भवनको नक्सा पास स्वीकृति र निर्माण सम्पन्न प्रमाणपत्रको विषयमा स्वास्थ्य लाइभले फलोअप गर्ने छ । अख्तियारको छानबिनलाई चुनौती दिएर काम भएको विषयमा समेत स्वास्थ्य लाइभले थप खोजबिन गर्ने छ ।

बुद्धनगरस्थित साबिक धोबीखोला हडपेर प्रेम लालसहित बिक्रान्त शाह, मान ज्योति बज्राचार्य, धनबहादुर पुन, तेज लक्ष्मी ध्वजु, कल्पना श्रेष्ठ, लिला बहादुर बनियाँ, कल्पना श्रेष्ठ, रमेश भण्डारी, हरिप्रसाद कणेल, सविना जोशी र फत्यध्वज थापाले रजाइँ गरिरहेका छन् । त्यस्तै दश माया ज्यापुनी, बुद्धिराज राई, चिरञ्जीवी उपाध्याय, देवबहादुर गिरी, राज कुमारी शाह, रत्न माया श्रेष्ठ, विष्णु प्रसाद राई, इन्द्रबहादुर भट्टराई, विनोदप्रसाद आचार्यलगायतले झन्डै ९ रोपनी धोबीखोला हडपेको रावल आयोगको ठहर छ ।

रावल आयोगको प्रतिवेदन कार्यान्वयनको चरणमा रहेका बेला बुद्धनगरमा उक्त आयोगले धोबीखोला जनाएको जग्गामा ४ तले भवन बनेर अनलाइन स्वास्थ्य सेवा सञ्चालनमा आएको छ । यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष ध्यानाकर्षण हुन जरूरी छ ।

 

 

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #अनलाइन हेल्थ केयर प्रालि, #प्रेम लाल, #बुटवल पावर कम्पनी, #बुद्धनगरस्थित सरकारी जग्गा, #मेरो हस्पिटल, #लिला बहादुर बानियाँ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com