राज्यसंयन्त्र निकम्मा बन्दा दिपक मल्होत्राको रजगज


समाचार टिप्पणी

काठमाडौं । राज्यसंयन्त्र बलियो र प्रभावकारी हुन्थ्यो भने यतिबेला व्यापारी दिपक मल्होत्रालाई ठगी मुद्दा लागेर जेलमा हुने थिए । तर, नेपालको राज्यसयन्त्र कमजोर, लाचार, निरीह, निकम्मा र बिकाऊ बन्दा उनको सरकारी सम्पत्तिमा हालीमुहाली देखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र भवन बनाएको कोभिडको समयमा अवैध ल्याब सञ्चालन गर्न दिएका मल्होत्राले अहिले फेरि सरकारी जग्गा कब्जा गर्न सफल भएका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर ११ बबरमहलस्थित साबिक धोबीखोलाको ४ आना बढी जग्गा मल्होत्राले घर कम्पाउण्डभित्र हालेर रजगज चलाइरहेका छन् । आनाको करोड बढी पर्ने जग्गा उनको अधिनमा पुग्दा समेत जिम्मेवार राज्यका निकायहरू मौन देखिन्छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर ११ सिट नम्बर १०२-११४५-२० कित्ता नम्बर १२४ को साबिक धोबीखोला बग्ने १ रोपनी १४ आना सरकारी जग्गा २० वर्षदेखि व्यापारी मल्होत्राले कब्जा गरिरहेका थिए । उनले सरकारी जग्गा अतिक्रमण गरेर ओलम्पिया स्कुलबाट मासिक लाखौं भाडा खाइरहेका थिए । उक्त क्षेत्रबाट निर्वाचित बागमती प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठले डोजर हानेर मल्होत्राको साम्राज्य ढालिदिएका थिए । नापीले रेखाङ्कन गरेर छुट्याएको सरकारी जग्गामा फेरि ४ आना बढी मल्होत्राले कब्जा गर्न सफल भएका छन् । उनकै आडमा वकील युवराज श्रेष्ठले पनि सरकारी जग्गामा कम्पाउण्ड र गेट हालेर मस्ती गरिरहेका छन् ।

सरकारी जग्गामा संरचना बनाएर अनुचित लाभ लिनु आफैंमा ठगी हो । व्यापारी मल्होत्राले सरकारी ओलम्पिया स्कुललाई भाडामा लगाएर करोड बढी उठाएको पाइन्छ । तर, नेपालको राज्यसंयन्त्र निकम्मा र बिकाऊ हुँदा उनको फुक्काफाल देखिन्छन् । उल्टै फेरि सरकारी जग्गा खान सफल भएका छन् ।

प्रयोजन परिवर्तन हुनेवित्तिकै राज्यको नाममा आउनु पर्ने गिरी बन्धु टी-इस्टेटको जग्गा कानुन नै संशोधन गराएर बिक्रीविवरण गर्ने बाटो खुला गर्न सफल व्यापारी मल्होत्राका लागि ४ आना जग्गा गर्नु ठूलो कुरा देखिँदैन । तर, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह सरकारी जग्गामा भएको अतिक्रमण हटाउन डोजर लिएर हिँडिरहँदा मल्होत्राले बबरमहलस्थित धोबीखोला करिडोरको ४ आना सरकारी जग्गा हडप्नु आश्चर्यको विषय बनेको छ ।

धोबीखोलाको उक्त जग्गा मल्होत्रा कै डिजाइनमा केदारेश्वर गुठीमा लगेर दर्ता गराउन समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अन्य जिम्मेवार निकाय वेखबर रहेका छन् । ललितानिवास बालुवाटारमा जस्तै धोबीखोलाको जग्गा गुठीमा लगेर दर्ता गर्नेहरुलाई अख्तियार र सीआईबीले एक्सन नलिँदा मल्होत्राहरुको मनोबल बढेको देखिन्छ ।

मल्होत्राको डिजाइनमा धोबीखोला करिडोरस्थित साबिक धोबीखोलाको सरकारी जग्गामा बाटो खोलिएको छ । बाटोले समेत झन्डै आना रोपनी सरकारी जग्गा हडपेको पाइन्छ । कानुनत सरकारी जग्गाबाट बाटो लान नपाइनेमा मल्होत्राले शक्तिको आडमा बाटो खुलाएका छन् । यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल छानबिन गरेर मुद्दा चलाउने हिम्मत गर्न सक्नुपर्छ । बालेनले सरकारी जग्गा कब्जा गर्न बनाइएको मल्होत्राको कम्पाउण्ड वालमा डोजर लगाउने साहस देखाउनु पर्छ । नत्र मल्होत्राहरूको सरकारी जग्गामा यसै गरी रजगज चलिरहने छ ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #ओलम्पिया स्कुल, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #धोवीखोला, #व्यापारी दिपक मल्होत्रा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com