स्वास्थ्य लाइभको ‘इस्यू’लाई बालेनले उठाए, मन्त्री किराँती सहमत भए

पशुपतिको जग्गा खोज्न उच्चस्तरीय समिति गठन गर्ने स्वास्थ्य लाइभसँगको प्रतिवद्धता मन्त्री किराँतीले १० महिनापछि पूरा गरे


काठमाडौं । स्वास्थ्य लाइभले उठाएको इस्यूलाई आज पशुपति क्षेत्र विकास कोषको बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले उठाएका छन् । स्वास्थ्य लाइभले भूमाफियाले पशुपतिको पोखरी समेत बाँकी राखेनन् भनेर खुलासा गरेपछि बालेनले मंगलबारको बोर्ड बैठकमा उठाएका हुन् । उनले उठाएको विषयलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सकारात्मक रुपमा लिएका छन् ।

बोर्ड बैठकले ऐतिहासिक गाँचा पोखरी हडपेर बनाएका अवैध संरचना भत्काउने प्रक्रिया अगाडि बढाएको हो । उक्त ऐतिहासिक पोखरीसहितका  जग्गामा रहेका संरचना हटाउन कानुनी प्रक्रिया पूरा गरी प्राविधिक मूल्याङ्कन महानगरलाई बुझाउने निर्णय गरेको छ । प्राविधिक मूल्यांकन आएकै दिन महानगरले संरचना भत्काउन सक्ने मेयर बालेनले सुनाए । उनले चासोका साथ ऐतिहासिक पोखरी फिर्ता ल्याउन खोजेको देखिन्छ । बोर्डबाटै लिखित निर्णय भएकाले बालेनलाई उक्त कामका लागि सहज हुनेछ ।

स्वास्थ्य लाइभको खोजीमा साविक पशुपति गाविस वडा नम्बर एक हाल काठमाडौं महानगरपालिका वडा ८ मा पर्ने सिट नम्बर १०६७-१६ को कित्ता नम्बर ९३ को ३ रोपनी ६ आना १ पैसा क्षेत्रफलमा फैलिएको उक्त पोखरी अहिले गायब फेला परेको थियो । कांग्रेस नेता मनोज वैद्यका बुवा इश्वरी वैद्यसहित अम्बिकादेवी अधिकारी, पदमा राई, नानी मैयाँ वैद्य, कान्छी संगतको नाममा रहेको पुगेको स्वास्थ्य लाइभले फेला पारेको हो । त्यस्तै  देवलक्ष्मी संगत,लिलानाथ प्याकुरेल र जगतबहादुर श्रेष्ठको नाममा पनि पोखरीको जग्गा दुषित दर्ता गरिएको तथ्य स्वास्थ्य लाइभले फेला पारेको थियो ।  उक्त जग्गा पुनः पशुपति कै नाममा ल्याएर बालेनलाई डोजर लगाउन सहज हुने गरी आजको बैठकले निर्णय गरेको छ ।

सिफलको लामा पोखरी, भगवानस्थान गोठाटारलगायतका स्थानमा रहेका पशुपतिको जग्गा पनि खोजी गर्ने गरी बोर्डले बाटो फुकाएको छ । हराएको जग्गा खोजीका लागि पूर्वसचिव स्तरीय उच्च समिति गठन गरिने मन्त्री किराँतीको जनाए । उनले त्योबेला स्वास्थ्य लाइभसँग पशुपतिको जग्गा खोज्न उच्चस्तरीय समिति नै गठन गर्ने प्रतिवद्धता गरेका थिए । आठ महिनापछि मन्त्री किराँतीले आफ्नो प्रतिबद्धता पूरा गरेका हुन् । समिति गठन भएर कस्तो काम गर्छ त्यो भने हेर्न बाँकी छ ।

पशुपतिका नाममा रहेको जग्गामा तत्काल डोजर लगाउन र व्यक्ति विशेषका नाममा दुषित दर्ता भएको जग्गा फिर्ता ल्याउन आजको बोर्ड बैठकले अनुमति दिएको हो । योसँगै पशुपतिको अतिक्रमित जग्गामा महानगरको डोजर लाग्ने निश्चित छ ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : ## पशुपति क्षेत्र विकास कोष, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #पर्यटनमन्त्री सुदन किराँती, #पशुपतिको ऐतिहासिक पोखरी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com