Exclusive: आईटी माफिया विकलले अमेरिकामा श्रीमती डा. एलिनाको नाममा ७ करोडको घर किनेको खुलासा


काठमाडौं । आईटी माफिया विकल पौडेलले अमेरिकाको न्यूयोर्क सहरमा श्रीमती डा. एलिना बस्नेतको नाममा ७ करोडको घर किनेको खुलासा भएको छ । स्वास्थ्य लाइभको खोजीमा विकल अमेरिकामा कार्यरत चिकित्सक श्रीमती एलिनाको नाममा न्यूयोर्कमा झन्डै ७ करोडको बंगला स्टाइलको घर खरिद गरेको भेटिएको हो ।

सुरक्षण मुद्रण केन्द्रको कार्यकारी भएकै बेला करिब साढे २ वर्ष अगडि विकलले अमेरिकामा श्रीमती डा. एलिनाको नाममा उक्त घर खरिद गरेको खुल्न आएको छ । केन्द्रको उपकरणलगायतका खरिदमा भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका उनले अमेरिका पुगेर श्रीमतीको नाममा घर जोडेर फर्किएका हुन् । विकलले २०७७ पुसमै अमेरिकाको कानुनी स्थायी आवासीय अनुमति (एलपीआर) लिइसकेका छन् । उनले एलपीआर पाएपछि घर किनेको खुल्न आएको हो ।

स्वास्थ्य लाइभको खोजीमा विकलकी श्रीमती एलिना बस्नेतको नाममा ६३७० तुलिपउड एल एन जेम्सभिल्ले, न्यूयोर्क, १३०७८ अमेरिकामा घर खरिद गरेको पत्ता लागेको छ । उक्त घरको मूल्य ५ लाख १५ हजार अमेरिकी डलर परेको उल्लेख छ । उक्त मूल्य भनेको झन्डै ७ करोड नेपाली रुपैयाँ हो । विकलले बंगला खरिद गर्दा आधाभन्दा बढी रकम त पहिला नै बुझाइसकेको पाइएको छ ।

 

 

अकुत सम्पत्ति आर्जनको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा पुगेका विकलले नेपालमा खरिदको कमिसन बुझ्ने र अमेरिका, दुबई र सिंगापुरमा सम्पत्ति जोड्ने गरेका छन् । अमेरिकाको न्यूयोर्कस्थित अपस्टेट मेडिकल युनिभर्सिटीको क्यान्सर सेन्टरमा कार्यरत श्रीमती डा. एलिनाको नाममा घर खरिद गर्नुले त्यो कुराको पुष्टि गर्छ । एलिना उक्त अस्पतालमा जोडिनु अगाडि नै घर जोड्ने काम भएकाले यो विकल कै पैसा हो भन्ने दाबी गर्न सकिने बलियो आधार छ । विकलले सिंगापुर र दुबईका बैंकहरूमा खाता खेलेका छन् । नेपालमा गरेका खरिदको कमिसन उनी उत्तै बुझ्छन् ।

सन् २०२१ जनवरी ६ मा अमेरिकाको एलपीआर पाएका विकलले त्यसको ९ महिनापछि सेप्टेम्बर २८ मा करिब ७ करोड हालेर न्यूयोर्कको ‘प्राइम लोकेसन’मा घर/बंगला जोडेको देखिन्छ । अमेरिकामा कानुनी स्थानीय आवासीय अनुमति (एलपीआर) र घर जोडेपछि विकल फेरि नेपाल फर्किएको पाइन्छ । सुरक्षण मुद्रण केन्द्रको खरिदमा विवादमा मुछिएका विकललाई तत्कालीन सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुनः सुरक्षण मुद्रण केन्द्रको कार्यकारी बनाएका थिए । कांग्रेस नेतृ आरजु राणा देउवाको दबावमा उनलाई तत्कालीन सञ्चारमन्त्री कार्की र सञ्चार सचिव डा. बैकुण्ठप्रसाद अर्यालले पुरस्कृत गरेको चर्चा चल्दै आएको छ ।

विकल जोडिएको सुरक्षण मुद्रण केन्द्रको खरिद प्रक्रियामा ७० करोडको भारी बोक्न नसकेर तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जागिरबाट हात धुनु परेको थियो । आईटीका ठेक्कामा अस्वभाविक लागत अनुमान तयार पारेर कमिसन असुल्न खप्पिस विकलको सिको गर्दा गोकुल चिलिम फर्किएका थिए । उनको पछाडि लागेका ज्ञानेन्द्रको हालत उस्तै खराब हुन लागेको चर्चा छ ।

ओम्नी ग्रुपको तुलरिकी श्रीमतीको सिंगापुरस्थित ब्याङ्कोटेक कम्पनीमा अन्तर्राष्ट्रिय परामर्शदाताको रुपमा कार्यरत विकल पौडेल र सुनिल पौडेललाई तत्कालीन सञ्चारमन्त्री ज्ञानेन्द्र- आरजुले खुब च्यापेका थिए । कानुन नै अनुकूल बनाएर विकललाई पुनः सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक र सुनिललाई नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) बनाइएको थियो ।

सुनिल राष्ट्रिय सूचना प्रविधि केन्द्रमा ‘नेसनल पेमेन्ट गेटवे सिस्टम’ खरिदमा भ्रष्टाचार मुद्दा लागेर नेपाल टेलिकमको एमडीबाट निलम्बित भएका छन् । विकलको हालत त्यहिँ छ ।उनीहरू अहिले अख्तियारको हिरासतमा पुगेका छन् । विकल-सुनिललाई बोकेर हिँड्ने ज्ञानेन्द्र-बैकुण्ठ अहिले दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद काण्डले भागाभागको अवस्थामा छन् । आरजु छोरा जयवीरको बिबाह उत्सवमा नाचेर बसेकी छिन् । विकलले नेपालमा लुटेर अमेरिकामा किनिदिएको घरमा श्रीमती डा. एलिना मस्ती गरिरहेकी छिन् । यी र यस्ता घटनाले नेपाल भ्रष्टाचारीका लागि कतै स्वर्ग त बनिरहेको छैन भन्ने जन-जनको प्रश्न सुनिन थालेको छ ।

 

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #अमेरिका ६३७० तुलिपउड एल एन जेम्सभिल्ले न्यूयोर्क, #आइटी माफिया विकल पौडेल सुनिल पौडेल, #विकल पौडेल, #विकलकी श्रीमती डा. एलिना बस्नेत, #सिङ्गापुरियन कम्पनी ब्याङ्कोटेक प्रालि

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com