अमेरिकी नागरिक विकल र ओम्नीका कारिन्दा सुनिल अझै १० दिन अख्तियारको हिरासतमा


काठमाडौं । विशेष अदालतले आईटीमाफिया पौडेलबन्धुद्वयलाई १० दिन अख्तियारको हिरासतमा राख्न अनुमति दिएको छ । गत माघ १० गते अख्तियारको हिरासतमा पुगेका आईटी माफिया विकल पौडेल र सुनिल पौडेललाई थप १० दिन राख्न विशेष अदालतले अनुमति दिएको हो ।

अमेरिकी नागरिक विकल र सिंगापुरस्थित ओम्नीको ब्याङ्कोटेक कम्पनीमा कारिन्दा सुनिललाई विशेष अदालतले अख्तियारको हिरासतमा राख्न १० दिन म्याद थपेको हो । विकल र सुनिल दुबैजना ओम्नीको कर्मचारी रहेको तथ्य स्वास्थ्य लाइभले सार्वजनिक गरिसकेको छ । ओम्नीका कर्मचारी अमेरिकी नागरिक विकललाई तत्कालीन सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा दोहोऱ्याएका थिए । त्यस्तै सुनिललाई नेपाल टेलिकमको प्रबन्ध निर्देशक बनाएका थिए ।

विकल र सुनिल दुबै आईटी माफियाविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । विकललाई सुरक्षण मुद्रणको खरिद घोटाला र सुनिललाई नेसनल पेमेन्ट गेटवे सिस्टम घोटालामा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । अहिले विकल र सुनिललाई अकुत सम्पत्ति आर्जनको उजुरीमा हिरासतमा राखेर अख्तियारले थप अनुसन्धान गरिरहेको छ ।

भ्रष्टाचार मुद्दा दायर भएका विकल र सुनिल अस्वभाविक रुपमा दुबई, सिंगापुर, मलेसिया जस्ता देशमा आवतजावत गरेको पाइएको छ । सिंगापुर, दुबई जस्ता देशमा उनीहरुले बैंक खाता खोलेर भ्रष्टाचार गरेको पैसा राख्ने गरेको खुल्न आएको छ । विकल र सुनिलले ठूल्ठूला राजनीतिज्ञ र केही उच्च प्रशासकका लागि दुबईमा भिल्ला खरिद गरिदिएको चर्चा चल्दै आएको सुनिन्छ । यो विषयमा समेत अख्तियारले छानबिन गर्न जरुरी छ । विदेशी नागरिकलाई नेपालको संवेदनशील सार्वजनिक पदमा नियुक्त गर्ने पदाधिकारीलाई समेत अख्तियारले जिम्मेवार बनाएर भ्रष्टाचार मुद्दा दायर गर्न आवश्यक देखिन्छ ।

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #अमेरिकी नागरिक, #आइटी माफिया विकल पौडेल सुनिल पौडेल, #निलम्बित नेपाल टेलिकमका एमडी सुनिल पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com