अस्पतालहरूको फोहोर व्यवस्थापनबारे उपमेयर डंगोलको अगुवाइमा काठमाडौं महानगरको नियमित अनुगमन


काठमाडौं । अस्पतालको फोहोर व्यवस्थापनबारे काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको अगुवाईमा अनुगमनलाई तीव्रता दिइएको छ । काठमाडौं महानगरपालिकाले फागुन १ गतेदेखि कान्ति बाल अस्पतालबाट सुरु गरेको अनुगमन अहिले दर्जन बढी अस्पतालमा पूरा भइसकेको हो ।

अस्पतालको फोहोर व्यवस्थापन अभ्यास, फोहोरको वर्गीकरण र ढुवानीको विषयमा काठमाडौं महानगरपालिकाले तीव्र रूपमा अनुगमन गरिरहेको छ । कान्ति, वीर, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, एभरेष्ट अस्पताल, हिमाल अस्पताल, वयोधा अस्पताल, नर्भिक अन्तर्राष्ट्रिय अस्पताल, ब्लू क्रस अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पाल, अन्नपूर्ण न्युरो, सिभिल अस्पताल, भेनस अस्पताल, भरोसाजस्ता दर्जन बढी अस्पतालमा काठमाडौं महानगरपालिकाको अनुगमन टोली पुगिसकेको छ । उक्त टोलीले अस्पतालहरुको फोहोर व्यवस्थापन अवस्था हेरेर विभिन्न एक्सन लिएको हो ।

अनुगमन टोलीले नर्भिकलगायतका अस्पतालमा फोहोर व्यवस्थापनबारे समस्या नै समस्या देखाएको छ । स्वास्थ्य संस्थाहरुले जोखिमयुक्त फोहोर व्यवस्थापन गर्न अपनाएको विधिले आधारभूत मापदण्ड पूरा हुनुपर्ने, स्वास्थ्य संस्थाजन्य हानीकारक फोहोरलाई निर्मलीकरण गरेपछि फेरि बर्गीकरण आवश्यक जस्ता कुरा डंगोल नेतृत्वको अनुगमन टोलीले औंल्याएको हो ।

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, स्वास्थ्य विभाग निमित्त प्रमुख डा. सजिना महर्जनल, वरिष्ठ इन्जिनियर निशा कोइराला लगायतको उच्च तहको टोली विभिन्न अस्पताल पुगेर फोहोर व्यवस्थापनको अनुगमन गरिरहेको छ । महानगरपालिकामा डंगोल र महर्जनजस्ता सक्रिया र ऊर्जाशील महिलाको अगुवाईमा अस्पतालको फोहोर व्यवस्थापनबारे नियमित अनुगमन हुन थालेको हो ।

फागुन १ गते काठमाडौं महानगरपालिकाकी उपमेयर डंगोलको नेतृत्वमा कान्ति बाल अस्पताल पुगेर फोहोर उठाउन नसकिने जानकारी दिएको थियो । महानगरपालिकाकी अनुगमन समितिकी संयोजक समेत रहेकी उपमेयर डंगोलको नेतृत्वमा गएकोको अनुगमन टोलीले अस्पतालको फोहोर व्यवस्थापन अभ्यास हेर्दा फोहोरको वर्गीकरण र ढुवानी पूर्व तयारीमा कमजोरी देखिएपछि फोहोर उठाउन नसकिने अस्पताललाई जानकारी दिइएको हो ।

अनुगमन टोलीले वीर र ट्रमामा स्रोतमा फोहोर मिसिन सक्ने, ढुवानी तथा प्रशोधन कार्यमा सहभागी हुने व्यक्तिको सुरक्षा, भण्डारण कक्षको उचित प्रबन्ध र बाहिर निकाल्ने फोहोरमा धारिलो तथा जोखिमयुक्त फोहोर मिसिन सक्ने खतराबाट बचाउन अनुगमनका क्रममा सुझाव दिएको छ । नयाँ बानेश्वरस्थित भरोसा र भेनस अस्पतालले फोहोर वर्गीकरण, निर्मलीकरण र अभिलेखन तत्काल सुधार गर्नु पर्ने अनुगमन टोलीले औंल्याएको हो ।

बुधबार मात्र  काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ । प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको नेतृत्वमा गएको अस्पताल अनुगमनका क्रममा स्वास्थ्य संस्थाले अबलम्बन गर्नु पर्ने मापदण्ड पालना नगरेको पाइएपछि फोहोर संकलनमा रोक लगाइएको हो ।

काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले स्रोतमा फोहोर छुट्टिन नसक्नु, स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापनको मुख्य समस्या देखाएको छ । अस्पतालहरुको फार्मेसीबाट म्याद सकिएका औषधि कसरी व्यवस्थापन हुन्छ, शल्यक्रियाबाट उत्पादन भएको मानव अङ्गको व्यवस्थापन कसरी हुन्छ, प्रयोगशाला, शल्यक्रिया कक्षबाट उत्पादन भएको तरल फोहोरको व्यवस्थापन कसरी गरिन्छ जस्ता प्रश्नको उत्तर कमजोर रहेको अनुगमन टोलीले औंल्याएको हो ।

काठमाडौं महानगरपालिकाले पछिल्लो समय महानगरपालिकाभित्रका सरकारी तथा निजी अस्पतालको  अनुगमन तीव्र रुपमा नियमित गर्न थालेको हो । वडा वडामा अनुगमन टोली नै गठन गरेर महानगरपालिकाले अनुगमनलाई प्रभावकारी बनाएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #उपमेयर सुनिता डंगोल, #काठमाडौं महानगरपालिका, #डा. सजिना महर्जन, #प्रदिप परियार, #फोहोर व्यवस्थापन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com