आईतबार पनि एमालेको तारोमा स्वास्थ्यमन्त्री बस्नेत


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आईतबार पनि स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको राजीनामा मागेको छ । टेरामक्स प्रविधि घोटालामा मुछिएको भन्दै एमालेले प्रतिनिधिसभाको बैठकमा स्वास्थ्यमन्त्री बस्नेतको राजीनामा मागेको हो ।

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले संसदमा बोल्दै स्वास्थ्यमन्त्री बस्नेतले टेरामक्समा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर बयान दिएको भन्दै राजीनामा मागेका हुन् । उनले भ्रष्टाचारको आरोप लागेका स्वास्थ्यमन्त्री बस्नेतले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज उठाए । त्यस्तै बालकुमारी घटनामा मुछिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र लुम्बिनीको रामग्राम क्षेत्र निजी कम्पनीलाई सुम्पने ठेक्कामा संलग्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको पनि गिरीले राजीनामा मागेका हुन् ।

नेकपा एमालेले स्वास्थ्यमन्त्री बस्नेतसहित ३ मन्त्रीको राजीनामालाई ‘बटम लाइन’ बनाएको छ । उनीहरुको राजीनामा माग्दै एमालेले सदनमा दिनहुँ रडाको मच्चाउन थालेको हो । तर, ती विवादित मन्त्रीको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुनै निर्णय लिन सकेका छैनन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ