सम्पादकीय: अख्तियारले ‘डामेका’ स्वास्थ्यमन्त्री बस्नेतलाई तत्काल बर्खास्त गर


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत अहिले चरम विवादमा परेका छन् । सञ्चारमन्त्री हुँदा टेरामक्स प्रविधि खरिदको सूत्रधार रहेका बस्नेत भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर बयान दिएका छन् । अख्तियार उनीविरुद्ध समेत विशेष अदालतमा भ्रष्टाचार मुद्दा लाने तयारी गरिरहेको छ ।

बहालवाला मन्त्री बस्नेतले अख्तियारमा पुगेर बयान दिएपछि नैतिकताका आधारमा तत्काल राजीनामा दिएर छानबिनलाई सहयोग पुऱ्याउनु पर्ने हो । तर, उनी सामान्य नैतिकता समेत नदेखाएर लिसो जस्तै मन्त्री पदमा टाँसिएर बसिरहेका छन् । यो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको सुशासनको नारालाई समेत गतिलो झापड हो ।

सेक्युरिटी प्रेस खरिदको विवादित अडियो सार्वजनिक भएपछि तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नैतिकताका आधारमा पदबाट राजीनामा दिएका थिए । खरिद पूर्व ७० करोड घुस डिल गरेको अडियो सार्वजनिक भएपछि उनले तत्काल पदबाट राजीनामा दिएर नैतिकता देखाएका थिए । तर, स्वास्थ्यमन्त्री बस्नेत त झण्डावाल गाडीमा अर्बौंको अनियमिततामा अख्तियार पुगेर बयान दिँदा समेत निर्लज्ज भएर पदमा बसिरहेका छन् ।

अख्तियार प्रमुख प्रेमकुमार राईले संसद कै सार्वजनिक लेखा समितिमा पुगेर टेरामक्समा भ्रष्टाचार मुद्दा दायर गर्ने संकेत गरेका छन् । यस्तो अवस्थामा पनि उक्त प्रकरणमा जोडिएका स्वास्थ्यमन्त्री बस्नेत पदमा रहिरहनु भनेको सरकार सुशासनको नारामा प्रतिबद्ध छैन भन्ने सन्देश हो । यो कुरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गम्भीरतापूर्वक लिनुपर्छ ।

कांग्रेस महामन्त्री एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले संसदमा बोल्दै अख्तियारले डामेका मन्त्रीलाई झण्डा छोपेर घर पठाइदिऊ भनेका थिए । उनको अभिव्यक्ति स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत लक्षित थियो । तर, अहिलेसम्म उनलाई झण्डा छोपेर घर पठाउने काम भएको छैन ।

संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलगायतले पनि अख्तियारमा पुगेर बयान दिएका स्वास्थ्यमन्त्री बस्नेत र अन्य विवादित दुईमन्त्रीको राजीनामा मागेर विरोध गरिरहेको छ । राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने उनीहरूको माग छ । यो विषयमा सोमबार संसदमा जवाफ दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सभामुख देवराज घिमिरेले रुलिङ गरेका छन् । प्रचण्डले विवादित मन्त्रीको विषयमा सोमबार सदनमा जवाफ दिने जानकारी गराएका छन् ।

विवादित स्वास्थ्यमन्त्री बस्नेत पदमा बसिरहँदा अर्को समस्या पनि निम्तिएको छ । उनले स्वास्थ्य मन्त्रालयमा अहिले आतंक मच्चाउन थालेका छन् । कर्मचारीलाई अनावश्यक दबाब दिएर भागाभागको स्थितिमा पुऱ्याएका छन् । स्वास्थ्यका आतंकित कर्मचारीहरू मन्त्री बस्नेत कहिले हट्छन् भनेर भगवानसँग प्रार्थना गरिरहेको सुनिन्छ । उनीहरूले मन्त्री बस्नेतको आतंकका कारण न्यायको श्वास फेर्न सकेका छैनन् ।

स्वास्थ्य उपकरण खरिदमा मन्त्री बस्नेतको जोडबल रहँदै आएको छ । कमिसनको चक्करमा ऋण काढेर ल्याएको पैसाले स्वास्थ्यमन्त्री अहिले रातारात करोडौंका स्वास्थ्य उपकरण खरिदमा मरिहत्ते गरेर लागेका छन् । यसले भविष्यमा धेरै स्वास्थ्यका कर्मचारी अख्तियारबाट डामिने खतरा रहन्छ । स्वास्थ्य उपकरण खरिद तर्फ नजर लगाउँदै गरेको अख्तियारले बस्नेतमाथि मात्र होइन स्वास्थ्यका धेरै कर्मचारीलाई निकट भविष्यममै भ्रष्टाचार मुद्दा दायर गर्ने सम्भावना छ ।

स्वास्थ्यमन्त्री बस्नेत पदमा बहाल रहँदा अख्तियारको छानबिन मात्र प्रभावित भएको छैन रातारात करोडौंका स्वास्थ्य उपकरण खरिद गरेर थप घोटाला भइरहेको छ । प्रधानमन्त्री दाहालले तत्काल स्वास्थ्यमन्त्री बस्नेतलाई बर्खास्त गरेर हाल स्वास्थ्यमा भइरहेका उपकरण खरिद रोक्न जरूरी छ । बहालवाला मन्त्रीलाई अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गर्दा सरकारको सुशासनको नारा धर्मराउने भएकाले स्वास्थ्यमन्त्री  बस्नेतलाई तत्काल बर्खास्त गर्नुको प्रधानमन्त्री प्रचण्डसँग विकल्प छैन । त्यसैले अख्तियारमा बयान दिएका विवादित स्वास्थ्यमन्त्री बस्नेतलाई प्रधानमन्त्रीले तत्काल बर्खास्त गर्नुपर्छ ।

टेरामक्स प्रकरणमा जोडिएका मुख्यसचिव डा. बैकुण्ठप्रसाद अर्याललाई पनि राजीनामा दिलाउन आवश्यक छ ।

क्याटेगोरी : समाचार
ट्याग : #अख्तियार दुरुपयोग अनुसन्धान आयोग, #टेरामक्स, #प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, #स्वास्थ्यमन्त्री मोहन, #स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com