बहालवाला मुख्यसचिवमाथि इतिहासमै पहिलोपटक भ्रष्टाचार मुद्दा दायर हुँदै

टेरामक्ससहित मुख्यसचिव अर्यालविरुद्ध झन्डै १ दर्जन भ्रष्टाचारका मुद्दा दायर हुने सम्भावना


काठमाडौं । नेपालकै इतिहासमा बहालवाला मुख्यसचिवमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा दायर हुँदैछ । टेरामक्स प्रविधि घोटालामा मुख्यसचिव डा. बैकुण्ठप्रसाद अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने अन्तिम तयारी भइरहेको छ । उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि बैकुण्ठ भ्रष्टाचारमा डामिने नेपालकै इतिहासमा पहिलो मुख्यसचिव बन्नेछन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रविधि खरिद घोटालामा भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरिसकेको छ । टेरामक्सको अभियोगपत्र पनि लगभग तयार भइसकेको अख्तियार स्रोतले स्वास्थ्य लाइभले बतायो । अब टेरामक्स खरिदमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर हुने दिन धेरै टाढा नरहेको अख्तियार स्रोतको दाबी छ ।
टेरामक्समा मुद्दा दायर हुनु अगाडि मुख्यसचिव अर्यालले राजीनामा दिउन् भन्ने अख्तियारको चाहना थियो । तर, उनी अटेरी भएर पदमै बसिरहेका छन् । त्यसैले अब अख्तियार विशेष अदालतमा भ्रष्टाचार मुद्दा अभियोजन गर्ने निष्कर्षमा पुगेको बुझिन्छ । मुख्यसचिव अर्याल सञ्चार मन्त्रालयको सचिव हुँदा टेरामक्स प्रविधि खरिद घोटालामा मुछिएका हुन् । अवकाशको अघिल्लो दिन हठातमा मुख्यसचिव बनेका उनको अवसान पनि त्यसरी नै हुने देखिन्छ ।
लेनदेनको प्रमाण बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुख्यसचिव अर्याललाई राजीनामा दिन आग्रह गरेका थिए । तर, उनले उक्त प्रस्ताव ठाडै अस्वीकार गरे । त्यसपछि प्रधानमन्त्री प्रचण्डले उनलाई बिदामा बस्न निर्देशन दिए । त्यसमा पनि मुख्यसचिव अर्यालले अटेरीपन देखाए । अहिले उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नियमित हाजिर र काम गरिरहेका छन् । मुख्यसचिव अर्यालले प्रधानमन्त्री प्रचण्डलाई समेत ठाडो चुनौती दिएको चर्चा छ ।

अख्तियार स्रोतका अनुसार मुख्यसचिव अर्यालमाथि टेरामक्सलगत्तै घुस लेनदेन र अकुत सम्पत्ति आर्जनलगायतको मुद्दा चाँडै विशेष अदालतमा दायर हुने सम्भावना छ । त्यसपछि उनीविरुद्ध एमडीएमएस, इन्टरनेट सेवा प्रदायकलाई कर छुट, बिलिङ सिस्टम, नेसनल पेमेन्ट गेटवे सिस्टम, सुरक्षण मुद्रण केन्द्रमा अनियमित नियुक्ति र राज्यकोषको हानीनोक्सासी, नेपाल आयल निगम बोनस घोटालालगायत झन्डै १ दर्जन भ्रष्टाचारका मुद्दा दायर हुने प्रक्रियामा रहेका छन् । ती सबै मुद्दा दायर गर्न प्रयाप्त प्रमाण र आधार पैल्याइसकिएको अख्तियार स्रोतले जानकारी दियो ।

टेरामक्समा मुख्यसचिव अर्यालसहित हालै स्वास्थ्यमन्त्रीबाट गलत्याइएका मोहनबहादुर बस्नेत, प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, सांसद् ज्ञानेन्द्रबहादुर कार्की, संघीय मामिला तथा सामान्य प्रशासन सचिव विनोदप्रकाश सिंहलगायतका भ्रष्टाचारमा तानिने देखिन्छन् । पूर्वकानुन सचिव धनराज ज्ञवाली, नेपालदूर दूरसञ्चार प्राधिकरणका  पूर्वअध्यक्षद्वय दिगम्बर झ र पुरुषोत्तम खनालसहित नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार मन्त्रालयका झन्डै ३ दर्जन व्यक्तिमाथि भ्रष्टाचार मुद्दा दायर हुने सम्भावना छ । टेरामक्सले निकै हलचल ल्याउने देखिन्छ ।

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #टेरामक्स, #नेपाल दूरसञ्चार प्राधिकरण, #पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, #मुख्यसचिव डा. बैकुण्ठप्रसाद अर्याल, #सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com