नर्भिकका संस्थापक बसन्त-विनोद सीआईबीको फन्दामा


काठमाडौं । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका मालिक बसन्तकुमार र विनोदकुमार चौधरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को फन्दामा परेका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिनामा उनीहरूलाई सीआईबीले बयान लिएको छ । बसन्त र विनोद दुबैले उक्त जग्गा हिनामिनामा आफूहरुको बदनियत नभएको बयान दिएको स्रोतले बतायो ।

बाँसबारीको जग्गा लगिएको च्याम्पियन फुटवेयरमा बसन्त र विनोदको २०० कित्ता सेयर रहेको थियो । उक्त जग्गा अहिले सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा पुगेको देखिन्छ । उक्त जग्गा हिनामिनामा सीआईबी बसन्त र विनोदकुमार चौधरीका कान्छा भाइ अरुणकुमार चौधरीलाई यस अगाडि नै पक्राउ गरेर बयान लिइसकेको छ । सीआईबीले हिरासतमै लिएर बयान लिएका अरुण अदालतको आदेशमा रिहा भएका थिए । उनीपछि सीआईबीले महिला दाइ बसन्त र विनोदको समेत बयान लिएको हो । कांग्रेस सांसद समेत रहेका जेठा दाइ विनोदकुमार चौधरीलाई आज जिल्ला सरकारी वकील कार्यालय रामशाहपथ काठमाडौंमा उपस्थित भएर बयान दिएका हुन् ।

उनले बयान दिएर निस्कने क्रममा स्टन्टको संज्ञा दिएका छन् । बाँसबारी जस्तो अन्कन्टार ठाउँमा कौडीको भाउमा पनि नबिक्ने जग्गा लिएको विनोदको दाबी छ ।हजारौं रोपनीमा औद्योगिक ग्राम सञ्चालन गरेको व्यापारिक घरानाले १० रोपनी जग्गामा कुदृष्टि राख्छ भनेर सोच्नु नै विकृत मानसिकता भएको विनोदको प्रतिक्रिया छ । ४२ वर्ष अगाडिको बाँसबारीको १० रोपनी जग्गाको मुल्य कति पथ्र्यो भन्ने कुरा सबैले बुझेका र त्यसमा आफ्नो कुनै कुदृष्टि नरहेको उनकाले बताए । स्टन्ट गर्नेहरुलाई आफूले चरित्रको प्रमाणपत्र देखाइरहनु नपर्ने उनको भनाइ छ ।

‘देशकै एकमात्रै हजारौं रोपनीको निजी औद्योगिक ग्राम स्थापना गर्ने एकमात्रै ग्रुपले, व्यवस्थित रुपमा ८० वर्षदेखि देशभरी नै विभिन्न परियोजना गर्ने ग्रुपले १० रोपनी जग्गाको बारेमा कुनै पनि प्रकारको कुदृष्टि राख्छ भनेर सोच्नु नै विकृत मानसिकताको उपज बाहेक केही पनि होईन ।,’ सांसद चौधरीले भने ।

केही दिन अगाडि बाँसबारी छाला जुत्ता काराखानाको १० रोपनी सरकारी जग्गा च्याम्पियन फुटवेयर प्रालिमा लगेर हनामिना गर्ने विनोद, बसन्तलगायतमाथि बयान लिन गृहमन्त्री लामिछानेले निर्देशन दिएका थिए । गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्त कुँवर, सीआईबीका निर्देशक श्यामलाल ज्ञवालीलाई उनले विनोद-बसन्तमाथि पनि कारबाही गर्न निर्देशन दिएका हुन् । उक्त निर्देशनसँगै सीआईबीले विनोदमाथि अनुसन्धान भइरहेको सभामुखलाई जानकारी गराएको छ ।

बाँसबारीको जग्गा लगिएको च्याम्पियन फुटवेयरमा लुनकरणदास चौधरीको २ हजार १०० कित्ता शेयर थियो भने विनोदकुमार चौधरी, बसन्तकुमार चौधरी, अरुणकुमार चौधरी र महेशकुमार अग्रवालको समान २००/२०० कित्ता शेयर थियो । त्यसको सम्पत्ति अहिले सीजी चाँदबाग रेसिडेन्सी प्रालिको नाममा छ ।

सरकारी जग्गा हिनामिना गर्ने चौधरी दाजुभाइ अहिले सीआईबीको फन्दामा परेका छन् । बसन्तले त च्यारिटी अस्पतालका नाममा मोरङमा समेत सरकारी जग्गा हडपेको आरोप छ । उक्त विषयमा पनि सीआईबीले तत्काल छानबिन अगाडि बढाउनु पर्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #नर्भिक इन्टननेशनल हस्पिटल, #बसन्तकुमार चौधरी, #विनोदकुमार चौधरी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com