स्वास्थ्यको किर्ते काण्डमा बालेनले हटाएका बसन्त रविको मन्त्रालयमा आउने चर्चा


काठमाडौं । अहिले मधेशी आयोगमा रहेका सहसचिव बसन्त अधिकारी गृह मन्त्रालयमा आउन लागेको चर्चा छ । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा करारका कर्मचारी भर्तिमा कार्यपालिकाको निर्णय ‘किर्ते’ गरेको अभियोग लागेपछि उनी मधेशी आयोगमा सरूवा भएका थिए । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले उक्त काण्डमा मुछिएका अधिकारीसहित स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, सचिवालयमा कार्यरत भगवती बिडारीलगायत एक्सन लिएका थिए । कार्यपालिकाको निर्णय नै किर्ते गरेको अभियोग लागेका सहसचिव अधिकारी अहिले रवि लामिछानेले सम्हालेको गृह मन्त्रालयमा आउने चलखेलमा लागेको चर्चा छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेनले एक्सन लिएका सहसचिव अधिकारी रविको नेतृत्वमा रहेको गृहमा आउने चर्चा चलेपछि चासोको विषय बनेको छ । सुशासनको हिमायतीहरुले सम्हालेको गृहमा उनको ‘इन्ट्री’ले तरंग ल्याउने निश्चित छ ।

बालेनको ‘कारबाहीमा’ परेका सहसचिव अधिकारी रविबाट पुरस्कृत हुने सम्भावना बढेको प्रधानमन्त्री कार्यालयमै चर्चा सुरू भएको छ । बालेनद्वारा बिस्थापित उनलाई रविको मन्त्रालयले स्थापित गर्दा सुशासनमाथि खिल्ली उड्ने टिप्पणी हुन थालेको छ । सुशासनको नारा दिइरहेका गृहमन्त्री रवि र सचिव एकनारायण अर्यालले यस्ता विषयमा ख्याल गर्नुपर्ने देखिन्छ । सुशासन कायम गर्ने हो भने गृहमा आउने सहसचिव/उपसचिवलगायतका कर्मचारीको विगत हेर्न जरूरी छ । गृहमा आउन खोजेका विवादित सहसचिव अधिकारीलगायतका विषयमा गृहमन्त्री रविले के गर्छन् हेर्न बाँकी छ । उनलाई गृहमा ल्याएर पुरस्कृत गरे यसले झन् कुशासनलाई मलजल गर्ने सम्भावना बढ्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिका, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #गृह मन्त्रालय, #गृहमन्त्री रवि लामिछाने, #सहसचिव बसन्त अधिकारी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com