सुनिललाई सेटिङमा कमिसन दिलाउन कल्याण श्रेष्ठका छोरा अभिषेकदेखि ओम्नीका तुलहरिसम्मको भूमिका


काठमाडौं । भ्रष्टाचारी सुनिल पौडेललाई कमिसन दिलाउन पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका छोरा अभिषेकदेखि ओम्नीका तुलहरिसम्मको भूमिका रहेको पाइएको छ । उनीविरुद्ध अख्तियारले दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दाले उक्त तथ्य खुलाएको हो ।

नेसनल पेमेन्ट गेटवे सिस्टम‘ खरिदमा भ्रष्टाचारी ठहरिएका सुनिलले कल्याणका छोरा अभिषेक जोडिएको कम्पनी नेक्स्ट जेन सोलुसन मार्फत सेटिङ मिलाएर कमिसन लिएको खुलेको हो । ललितपुरको पुल्चोकस्थित नेक्स्ट जेन सोलुसन, ओम्नी, कमलादीको म्याक्स इन्टरनेसनल र कान्तिपथमा रहेको वर्ल्ड डिस्ट्रिब्युसन नेटवर्क (डब्ल्यूडीएन)मार्फत राष्ट्रिय सूचना प्रविधि केन्द्रका ठेक्कामा सेटिङ गर्ने गरेको अख्तियारको दाबी छ ।नेक्स्ट जेनको लोकल एजेण्ट रहेको इन्स्टासेफ इन्क र ओम्नी ग्रुप कै सिङ्गापुरस्थित कम्पनी ब्याङ्कोटेक प्रालि जस्ता कम्पनीमार्फत सूचना प्रविधिसँग सम्बन्धित सामान आपूर्ति गरेर सुनिलले कमिसन बुझ्दै आएको खुल्न आएको हो ।

सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक हुँदा सुनिलले नेपाली कम्पनीहरुसँग साझेदारी गरी सूचना प्रविधिसँग सम्बन्धित सामानहरु स्वदेशमा आपूर्ति गर्ने गरेको र सो साझेदारी बापत विदेशी कम्पनीहरुले कमिसन बापत निजको सिङ्गापुरस्थित युनाईटेड ओभरसिज बैङ्कको बैङ्क खातामा प्राप्त रकम, सोही बैङ्कबाट ट्रान्सफर गरेको रकम अख्तियारले फेला पारेको छ । अख्तियारले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड ( नेपाल टेलिकम)का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो २३ करोड ७५ लाख ४६ हजार ३२४ रुपैयाँ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर गरेको हो ।

Instasafe Inc, Sandip Kumar Panda

निदान अस्पतालसँग आवद्ध कल्याणका छोरा अभिषेकको कम्पनी नेक्स्ट जेनसँग सुनिल नेतृत्वको राष्ट्रिय सूचना प्रविधि केन्द्रले इन्टरप्राइज इमेल लाइसेन्स खरिद गरेको थियो । केन्द्रले २० हजार लाइसेन्स खरिद गर्दा प्रतिलाइसेन्स नौ हजार नौ सय चार खर्च गरेको थियो । सस्तो र नवीकरण नै गर्नु नपर्ने इमेल प्रणाली नलिएर सुनिल र अभिषेकको मिलेमतोमा वार्षिक राज्यलाई झन्डै ९ करोड व्यभार पर्ने गरी इमेल सिस्टम खरिद गरेको पाइन्छ । नेक्स्ट जेनले इन्स्टासेफमार्फत उक्त इमेल सिस्टम राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई भिडाएर सुनिललाई कमिसन दिलाएको हो ।

ओम्नीको ब्याङ्कोटेक कम्पनीको त सुनिल कर्मचारी नै रहेको तथ्य स्वास्थ्य लाइभले  खुलासा गरिसकेको छ । ओम्नीका तुलहरिले पनि राष्ट्रिय सूचना प्रविधि केन्द्रमा आईटीका ठेक्का सेटिङ गरेर सुनिललाई कमिसन दिँदै आएका छन् । उनीहरूबीच सूचना प्रविधि केन्द्रमा विभिन्न ठेक्का सेटिङ मिलाएर विदेशमा कमिसन लेनदेन हुने गरेको छ । ब्याङ्कोटेक तुलहरिकी श्रीमती सुमन सिंहको स्वामित्वमा रहेको कम्पनी हो । जुन कम्पनीमा सुनिल र विकल पौडेल कार्यरत छन् । कोरोनाकालमा स्वास्थ्य सामग्री खरिद घोटालामा मुछिएको ओम्नी राष्ट्रिय सूचना प्रविधि केन्द्रका ठेक्कामा सेटिङ गर्ने मुख्य कम्पनी हो । उक्त कम्पनीलाई म्याक्स इन्टरनेसनलले साथ दिँदै आएको छ ।

OBCI-Bancotec Pte Ltd, Tulhari & Suman Singh

सूचना प्रविधि केन्द्रलगायतले खरिद गर्ने ओराकलमा वर्ल्ड डिस्ट्रिब्युसन नेटवर्क (डब्ल्यूडीएन)को बर्चस्व रहेको पाइन्छ । सुनिल र विकलसँग सेटिङ मिलाएर डब्ल्यूडीएनका अरुण श्रेष्ठले राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई ओराकल आपूर्ति गरेको पाइन्छ । सुनिल र विकलसँग मिलेर ओराकलमा डब्ल्यूडीएनले ब्रह्मलुट मच्चाएको देखिन्छ ।

यता अकबर हुसेनको म्याक्स इन्टरनेसनल सुनिल र विकलको सेटिङ गर्ने माध्यम बन्दै आएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रले खरिद गरेको राउटर, नागरिक एप जस्ता अर्बौंका ठेक्का म्याक्सल हत्याएको छ ।  सुरक्षण मुद्रण केन्द्रदेखि नेपाल नागरिक उड्डयन प्राधिकरणसम्मका आईटीका ठेक्का हत्याएको म्याक्स सुनिल, विकल कै आर्शिवाद प्राप्त कम्पनी हो । आईटीका ठेक्का हत्याएर रातारात करोडपति बनेका अकबर हुसेनले सुनिल र विकललाई पनि करोडौं कमिसन दिलाएका छन् । यो तथ्य अख्तियारको अभियोगपत्रबाट पनि खुलेको छ । आईटीका ठेक्कामा सुनिल, विकलसँग मिलेर नेक्स्ट जेन, ओम्नी, म्याक्स र डब्ल्यूडीएनले कसरी राज गरेका थिए भन्ने रहस्यको पर्दा खुल्दै गएको छ । सत्ता र शक्तिको आडमा आईटीका ठेक्कामा चलखेल र कमिसनको खेल कसरी हुन्छ भन्ने यो दृष्टान्त हो । यी कम्पनी र त्यसमा आवद्ध व्यक्तिमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि थप अनुसन्धान गर्न जरुरी देखिन्छ ।

 

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #अकबर हुसेन, #अभिषेक श्रेष्ठ, #अरुण श्रेष्ठ, #आइटी माफिया विकल पौडेल सुनिल पौडेल, #इन्स्टासेफ, #ओम्नी, #ओम्नी समूह तुलहरि, #कल्याण श्रेष्ठ, #निदान अस्पताल, #नेक्स्ट जेन, #म्याक्स र डब्ल्यूडीएन, #सिङ्गापुरियन कम्पनी ब्याङ्कोटेक प्रालि, #सुमन सिंह

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com