इम्बोस्ड नम्बर प्लेटको छानबिन प्रभावित बनाउन इन्जिनियर अर्याललाई अख्तियार लगियो


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिले इम्बोस्ड नम्बर प्लेट खरिदको छानबिन गरिरहेको छ । उक्त प्रकरणमा यातायात व्यवस्था विभागका आधा दर्जन महानिर्देशकको संलग्नता देखिन्छ । इम्बोस्ड नम्बर प्लेट र फर्जी लाइसेन्स जारी प्रकरणको छानबिन प्रभावित बनाउन इन्जिनियर सुरजप्रकाश अर्याललाई अख्तियार काजमा खटाइएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले अर्याललाई ३ महिनाका लागि अख्तियारमा काज सरुवा गरिएको पुष्टि गऱ्यो । नक्कली लाइसेन्स जारी प्रकरणमा जोडिएका कम्प्युटर इन्जिनियर अर्यालको अख्तियार सरुवा हुनुलाई आश्चर्यका रुपमा हेरिएको छ । इम्बोस्ड नम्बर प्लेट र नक्कली लाइसेन्स प्रकरणमा मुछिएका यातायातका पूर्वमहानिर्देशकहरूले उनलाई अख्तियार लान भूमिका खेलेको स्रोतको दाबी छ । यसले सुशासन र अख्तियारको छानबिनमाथि नै प्रश्न उठ्ने अवस्था आएको हो ।

‘आफैं धामी आफैं बिरामी’ जस्तो भूमिमा खेल्न इन्जिनियर अर्याल अख्तियार जाने भएका हुन् । यसले सुशासनको खिल्ली मात्र उडाएको छैन भ्रष्टाचारमा मलजल गर्ने काम समेत भएको टिप्पणी हुन थालेको छ ।

अझ रोचक कुरा त निर्वाचन आयोगले ओम्नीसँग सेकेन्ड ह्यान्ड प्रिन्टर किन्दा इन्जिनियर अर्याल निर्वाचन आयोगको प्राविधिक शाखामै कार्यरत थिए । उक्त प्रिन्टरको विषयमा पनि अख्तियारले छानबिन गरिरहेका छन् । अख्तियारले छानबिन गरिरहेका आईटीका अधिकांश काण्डमा जोडिएका इन्जिनियर अर्याल अख्तियारमै काज सरुवा हुनुलाई रहस्यको रूपमा लिइएको छ । यो विषयमा अख्तियार गम्भीर नहुने हो भने संस्थाको गरिमा र साख गिर्ने अवस्था आउने निश्चित छ ।

क्याटेगोरी : समाचार
ट्याग : #इम्बोस्ड नम्बर प्लेट, #ओम्नी, #नक्कली लाइसेन्स, #यातायात व्यवस्था विभाग, #सुरज प्रकाश अर्याल, #सेकेन्ड ह्यान्ड प्रिन्टर

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com