गौर हत्या काण्डमा स्वास्थ्यमन्त्री उपेन्द्रविरुद्ध अनुसन्धानको सम्भावना बढ्यो


काठमाडौं । पार्टी फुटको मारमा परेका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवमाथि एकपछि अर्को संकट देखिन थालेको छ । उनी नेतृत्वको जनता समाजवादी पार्टी(जसपा),नेपाल अशोक राईको समूहले फुटाइदिएको छ । बहुमत सांसद लिएर राई जनता समाजवादी पार्टी दर्ता गराउन निर्वाचन आयोग पुगेका छन् । जसपा, नेपालका १२ जना सांसदमध्ये उपेन्द्रको पक्षमा राजकिशोर यादव, दीपक कार्की, प्रकाश अधिकारी र रेखा यादव मात्र बाँकी छ । अशोक राईसहित ७ जना सांसद भने जनता समाजवादी पार्टी दर्ता गराएर उपेन्द्रबाट अलग हुने निर्णयमा छन् । अशोकसँग सांसदहरु डा. वीरेन्द्रकुमार महतो, प्रदीप यादव, हसिना खान, नवलकिशोर शाह सुडी, रञ्जु ठाकुर र सुशीला श्रेष्ठ उपेन्द्रको साथ छाडेर हिँडेका छन् ।

वीरगन्ज महानगरपालिकाका प्रमुख राजमानसिंह पनि उपेन्द्रको साथ छाडेर अशोक राईतिर लागेका छन् । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव पनि अशोक राईतिरै लाग्ने कसरतमा लागेको चर्चा छ । यसैबीच उपेन्द्रविरुद्ध गौर हत्या काण्डको ‘केस’ अगाडि बढाउने प्रयास सुरु भएको छ ।  २०६३ सालमा रौतहटको गौरमा २८ जनाको ज्यान जाने गरी भएको हत्या काण्डमा उपेन्द्र पनि मुछिएका छन् । राष्ट्रिय मानवअधिकार  आयोगले समेत उनीविरुद्ध कारबाहीको सिफारिस गरेको छ । यता मधेशका प्रभावशाली नेता प्रभु साह गौर हत्या काण्डमा अनुसन्धान हुनुपर्छ भनेर  निरन्तर लागिपरेका छन् । गौर हत्या काण्डको अनुसन्धान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछाने पनि सकारात्मक रहेको बुझिन्छ । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत साथ रहेको छ ।

उपेन्द्रको पार्टी फुटाउन सफल भएका प्रचण्ड-ओली-रवि गौर हत्या काण्डको फाइल खोल्न लाग्ने सम्भावना बढेको छ । त्यसैले उक्त हत्या काण्डमा स्वास्थ्यमन्त्री उपेन्द्रविरुद्ध अनुसन्धानको सम्भावना बढेको टिप्पणी हुन थालेको हो । गौर हत्या काण्डको विषयलाई लिएर स्वास्थ्यमन्त्री उपेन्द्रलाई अमेरिकाले भिसा दिन समेत आनाकानी गरेको थियो । परराष्ट्र मन्त्रालयको विशेष अनुरोधपछि मात्र उनी अमेरिकी उड्न पाएका थिए । उपेन्द्र अमेरिका उड्नु नै पार्टीको फुटका लागि अनुकूल वातावरण बन्यो । पार्टी फुटको रनाहामा रहेका उपेन्द्रविरुद्ध गौरको घाउ बल्झिने खतरा बढेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com