स्वास्थ्यको किर्ते काण्डमा बालेनले लखेटेका बसन्त अधिकारी रविको मन्त्रालयमा


काठमाडौं । काठमाडौं महानगरपालिका स्वास्थ्य प्रबर्द्धन केन्द्रमा कर्मचारी भर्ति गर्दा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी ‘किर्ते’ काण्डमा मुछिए । उनीसँगै उक्त काण्डमा मुछिएका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल अहिले ‘सडक’मा छन् । बसन्तलाई पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले एक्सन लिएर हाजिर हुन दिएनन् । संघको कर्मचारी भएकाले उनलाई बालेनले यो भन्दा थप गर्न सक्ने ठाउँ थिएन । बसन्त काठमाडौं महानगरपालिकाबाट मधेशी आयोग पुगे ।

सुशासनको नारा दिँदै आएका र बालेन कै ‘सेन्टिमेन्ट’बाट जनताले नयाँलाई पत्याएर गृहमन्त्री बनेका रवि लामिछानेको मन्त्रालयमै अहिले सहसचिव बसन्त अधिकारी पुगेका छन् । उक्त ‘किर्ते’ काण्डको छानबिन गर्नु  पर्ने दायित्व बोकेको गृह मन्त्रालयमै बसन्त पुगेकाले सुशासनको खिल्ली मात्र उडेको छैन गृहमन्त्री रवि लामिछानेको नियतमाथि समेत प्रश्न उठ्न थालेको छ ।

स्वास्थ्य प्रबर्द्धन केन्द्रको करारमा कर्मचारी भर्ति गर्दा विवादमा आएका बसन्तको नाम गृहमन्त्री रवि लामिछानेले नसुन्ने कुरै भएन । बालेनले गलत ठहऱ्याएको मान्छे बसन्तलाई रविले योग्य ठानेको देखिन्छ । यसले जनतामा पलाएको नयाँप्रतिको आशा निराशामा बदलिने अवस्था आएको छ ।

बालेनले आफ्ना कर्मचारीको हकमा भटाभट एक्सन लिन थालेका छन् । रविले पनि बसन्तमाथि छानबिन गर्न निर्देशन दिनु पर्ने हो तर मधेशी आयोगबाट आफूले नेतृत्व गरेको मन्त्रालयमा ल्याएर पुरस्कृत गरेका छन् । यसले रविको सुशासनमाथि गम्भिर प्रश्न उठेको हो । रविले बसन्त च्यापेर बालेनलाई के सन्देश दिन खोजेको हो त्यो भने समयले नै बताउला । तर, यसले गृहमन्त्री रवि लामिछानेप्रति राम्रो सन्देश भने जाने देखिँदैन ।

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #किर्ते काण्ड, #गृहमन्त्री रवि लामिछाने, #वसन्त चौधरी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ