राजदूतमा डा.भट्टराईदेखि शेर्पासम्मको चर्चा, शर्मिलाको ह्याट्रिक हान्ने प्रयास


काठमाडौं । सरकारले राजदूत नियुक्ति गर्ने गृहकार्य सुरु गरेको छ । परराष्ट्र सचिव सेवा लम्साल स्वदेश फर्किएसँगै राजदूत नियुक्तिको गृह कार्य गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार भारत, अमेरिका, बेलायतजस्ता महत्त्वपूर्ण देशमा राजदूत नियुक्तिका लागि गृह कार्य अगाडि बढेको छ । त्यसका लागि परराष्ट्र मन्त्रालय आवश्यक तयारी गरिरहेको स्रोताको भनाइ छ ।

राजदूत नियुक्तिका लागि सत्तारुढ दलबीच भागबण्डा मिलिसकेको छैन । तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालय भने खाली रहेका देशमा राजदूत सिफारिस गर्न कस्सिएका छन् ।

भारतको राजदूतका लागि नेकपा एमालेको कोटाबाट डा. राजन भट्टराई, डा. युवराज खतिवडा र डा. अर्जुनकुमार कार्कीको चर्चा रहेको छ । कार्कीले राजदूत बन्न खासै लबिइङ नगरेकाले खतिवडालाई अमेरिका पठाएर भट्टराईलाई भारतको राजदूतमा सिफारिस गर्ने बलियो सम्भावना रहेको स्रोतले बतायो । बेलायतको राजदूतमा पूर्व मुख्यसचिव एवं पूर्व राजदूत लोकदर्शन रेग्मीदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई खुसी बनाएका वर्तमान मुख्यसचिव डा. बैकुण्ठ अर्यालको समेत चर्चा सुनिन्छ । तर, बेलायतको राजदूतका लागि एक्कासी शर्मिला पराजुली ढकालको नामले व्यापक रूप लिएको छ । ओमनबाट फिर्ता बोलाइएकी शर्मिलालाई स्पेन पठाएर पुरस्कृत गरिएको थियो । स्पेनबाट फिर्ता बोलाइएकी शर्मिलाले बेलायतमा फड्को हान्ने प्रयासमा लागेको चर्चा छ । ‘शर्मिलाले बेलायत गएर राजदूतमा ह्याट्रिक हाने अचम्म नमाने हुन्छ, उहाँको नाममा सर्वदलीय सहमति देखिन्छ।’, परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले स्वास्थ्य लाइभसँग भने ।

त्यस्तै स्पेनको राजदूतमा दावाफुटी शेर्पा र पोर्चुगलको राजदूत लक्की शेर्पाको नाम चर्चामा आएको छ । दावा स्पेन र लक्की अष्ट्रेलियाका लागि पूर्व नेपाली राजदूत हुन् । मलेसियाको राजदूतमा उदयराज पाण्डे, निर्मल विश्वकर्मा, विष्णु रिजाललगायतको नाम पनि राजदूतका लागि चर्चामा रहेको पाइन्छ ।

जापानका राजदूत दुर्गाबहादुर सुवेदीलाई फिर्ता बोलाएर त्यहाँ परराष्ट्र सचिव सेवा लम्साललाई पठाउने र अमृतकुमार राईलाई सचिवमा बढुवा गर्ने कसरत समेत भइरहेको छ । राजदूत नियुक्तिमा सत्ता साझेदार दलहरुबीच तीव्र दौडधुप चलिरहेको देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #डा. अर्जुनकुमार कार्की, #डा. युवराज भट्टराई, #डा. राजन भट्टराई, #दावाफुटी शेर्पा, #लक्की शेर्पा, #शर्मिला पराजुली ढकाल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ