एउटै ‘ब्याच’का सहसचिव विन्देश्वर र पार्वतीलाई नियोगको जिम्मेवारी


काठमाडौं। सहसचिव भएको छोटो समयमै विन्देश्वरप्रसाद लेखक र पार्वती अर्यालले नियोगको जिम्मेवारी पाएका छन्। विन्देश्वर बेइजिङ छाडेर हङकङ पुग्दा पार्वती बेइजिङ पुगेकी हुन्।

२०७९ साल चैतमा आन्तरिक प्रतिस्पर्धाबाट सहसचिव बनेका विन्देश्वर हङकङको महावाणिज्यदूत र पार्वतीले चीनको बेइजिङस्थित नेपाली आवासीय दूतावासको ‘इकोनोमिक मिनिस्टर’को जिम्मेवारी पाएका हुन्। ८ महिनादेखि परराष्ट्र मन्त्रालयको गौंडा ढुकेर लेखक हङकङको महावाणिज्यदूतमा जान सफल भएका छन्। लेखक जान नमानेपछि बेइजिङस्थित ‘इकोनोमिक मिनिस्टर’मा उनकै ‘ब्याची’ अर्याललाई पठाउने निर्णय भएको हो।

हङकङको महावाणिज्यदूत पठाउँदा मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ राजदूतावासमा डिसिएम, ‘इकोनोमिक मिनिस्टर’ पठाउँदा परराष्ट्रमन्त्रीस्तरीय निर्णय गरे पुग्छ। त्यसैले परराष्ट्रमन्त्री आरजु राणा देउवाले सहसचिव अर्याललाई बेइजिङस्थित नेपाली नियोगको ‘इकोनोमिक मिनिस्टर’ बनाएर पठाउन निर्णय गरेकी हुन्।

गृहमन्त्री रमेश लेखकका भतिजा पर्ने विन्देश्वरलाई बेइजिङमा ‘इकोनोमिक मिनिस्टर’ बनाएर पठाउने आरजुको निर्णय ‘फ्लप’ खाएपछि पार्वतीको भाग्य चम्किएको हो। युएईको श्रम सहसचिव समेत भइसकेकी पार्वती अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालय प्रमुख रामबहादुर कुरुम्वाङको नाम काटेर परराष्ट्र मन्त्रालयमा ‘इन्ट्री’ मार्न सफल भएकी थिइन्। मुख्यसचिव एकनारायण अर्याल ‘दाहिना’ हुँदा पार्वतीको अगाडि कुरूम्वाङ हेरेको हेरै भएका छन्। तर, उनको युएईको श्रम सहचारी हुँदाको ‘रेकर्ड’ भने त्यति गतिलो नरहेको श्रम मन्त्रालयका काम गर्ने समकालीनहरू सुनाउँछन्।

बेइजिङको ‘इकोनोमिक मिनिस्टर’ रहेका छविन्द्र पराजुली फर्किएपछि लामो समयदेखि उक्त पद रिक्त थियो। विन्देश्वरको स्वार्थमा खाली रहेको उक्त पदमा पार्वतीले उडान भरेकी हुन्।

पार्वती सहसचिव भएर वैदेशिक रोजगार कार्यालय, राष्ट्रिय महिला आयोग, अर्थ मन्त्रालय अन्तर्गतको भन्सार जाँचपासपछिको परीक्षण कार्यालय, प्रमुख जस्ता निकाय हुँदै बेइजिङ पुग्दा विन्देश्वर भने लामो समयदेखि सामान्य प्रशासन मन्त्रालयको जगेडामा बसेर हङकङ जाने अवसर पाएका हुन्। शाखा अधिकृत हुँदा विश्व बैंक र उपसचिव भएपछि पिएचडी गर्न जापान गएका विन्देश्वर अहिले फेरि नियोग प्रमुख बन्न सफल भएका छन्। प्रशासन सेवामा जागिर खाएर विदेश मात्र ताकिरहने विन्देश्वरबाट मुलुकले भने केही लाभ पाउन सकेको छैन। देशबाट उनले एकोहोरो फाइदा लिइरहेको पाइन्छ।

विन्देश्वर र पार्वती कै ‘ब्याची’ सहसचिव रामकृष्ण लामिछाने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत छन्। बद्रीनाथ गैह्रे हालै दैलेखको प्रमुख जिल्ला अधिकारी भएर गएका छन्। उक्त ‘ब्याच’का सहसचिवमध्ये विन्देश्वर नै ‘कामचोर’ कर्मचारीमा गनिन्छन्।

क्याटेगोरी : समाचार
ट्याग : #पार्वती अर्याल सहसचिव, #विन्देश्वरप्रसाद लेखक सहसचिव

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ